‘क्याराभान’का निर्देशक एरिकले सुनाए फिल्म निर्माणका अनुभव - kendrabindu.com
काठमाडौं। चलचित्र ‘क्याराभान’का निर्देशक एवम प्रसिद्ध फ्रान्सेली फोटोग्राफर एरिक भ्यालीले नेपालमा बिताएका आफ्ना अनुभवहरुका बारेमा काठमाडौंमा अन्तरक्रिया गरेका छन् ।त्रिभुवन विश्वविद्यालय सेन्ट्रल डिपार्टमेन्ट अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनमा मंगलबार आयोजना गरिएको अन्तरक्रियामा उनले आफ्ना अनुभवहरु साटेका थिए । कार्यक्रममा बोल्दै उनले आफूले सधैं अरूले नचालेका मार्गहरू रोज्दै आएको बताए । कार्यक्रममा उनले सेन्ट्रल डिपार्टमेन्ट अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन र सेन्ट्रल डिपार्टमेन्ट अफ इंग्लिसका फोटोग्राफर, अध्येता तथा एमफिल–पीएचडी विद्यार्थीहरूलाई सम्बोधन गर्दै क्याराभान फिल्म तथा त्यससँग सम्बन्धित अनुभवहरूको कथा सुनाएका थिए । साढे तीन घण्टाभन्दा बढी चलेको सत्रलाई पत्रकारिता विभागका सहायक प्राध्यापक डा. ऋषिकेश दाहालले संयोजन गरेका थिए । कार्यक्रममा भ्यालीले नेपालमा बिताएका प्रारम्भिक दिनहरू, यहाँका प्राकृतिक सौन्दर्य तथा अरुण उपत्यका र डोल्पो क्षेत्रमा खिचिएका आफ्ना प्रसिद्ध फोटोग्राफहरूको पृष्ठभूमिबारे चर्चा गरे । सहभागीहरूले प्रश्न–उत्तर सत्रमा उत्साहपूर्वक सहभागी हुँदै भ्यालीका अनुभव र दृष्टिकोणबारे बुझ्ने अवसर पाएका छन् । २०५६ सालमा बनेको ‘क्याराभान’ ओस्करमा पुग्ने पहिलो नेपाली फिल्म हो । हिमाली जिल्ला डोल्पाको जनजीवन तथा रहनसहन देखाइएको छ। फिल्म ओस्करको ७२औँ संस्करणमा सूचीकृत भएको थियो । भ्यालीको यो चलचित्रले डोल्पा जिल्ला मात्रै होइन मानव विकासको पुछारमा रहेको सिंगो कर्णालीको कथा बोलेको छ ।