Redirecting...

डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँ: सञ्चारमन्त्री खरेल - taksarnews.com

डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँ: सञ्चारमन्त्री खरेल - taksarnews.com
Source: tsar

काठमाडौैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएका छन्। सञ्चारिका समूह नेपालले सोमबार काठमाडाैँमा आयोजना गरेको ‘लैंगिक हिंसा र सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रियामा मन्त्री खरेलले डिजिटल हिंसाबाट जोगिन पत्रकार महिलाहरूको दोहोरो जिम्मेवारी रहेको बताएका हुन् । मन्त्री खरेलले भने,“म पत्रकार महिला साथीहरूलाई आग्रह गर्न चाहन्छु, तपाँइहरूको दोहोरो जिम्मेवारी छ, ‘पहिला आफू सुरक्षित रहने र यस क्षेत्रलाई सुरक्षित राख्ने’ पनि दायित्व छ । त्यसैले हाम्रा कन्टेन्ट, स्टोरीहरू र एडभोकेसीहरू कम्तिमा डिजिटल हिसाहावाट मुक्त गर्ने किसिमको हुनुपर्यो ।” सञ्चारमन्त्री खरेलले अहिले लैंगिक हिंसाको प्रवृत्ति र शैली परिवर्तन भएकाले त्यसबाट सुरक्षित रहेर डिजिटल हिंसा विरुद्धका अभियान सञ्चालन गर्न जरुरी भएको उल्लेख गरे । “तपाँई परिवारमाझ हुनुहुन्छ, आफु सुरक्षित रहेको अनुभूति गर्नुहुन्छ, तर तपाँइको मोबाइलमा आइरहेका सामाजिक सञ्जालका विभिन्न सामग्रीले तपाँईलाई असुरक्षित महशुस गराउनसक्छ । त्यसैले डिजिटल माध्यमबाट हुने हिंसाको बहस सुरू गर्नु अपरिहार्य छ । किनकी प्रविधिले सहजतासँगै त्रास पनि ल्याएको छ, यसको सहि सदुपयोग गरिनुपर्छ ।” मन्त्री खरेलले देश र समाज विस्तारै समतालाई आत्मसाथ गर्दै समानताको बाटोमा अघि बढिरहेको तथा आज हरेक हिसावले महिलाहरु राजनीतिक, निजामती, पत्रकारितामा तथा समाजका विभिन्न पद र प्रतिष्ठाहरुमा आइराख्दा यसले ठूलो अर्थ दिने उल्लेख गरे । सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री खरेलले सरकारले निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने तथा जेनजी आन्दोलनको भावना अनुरुप सुशासन कायम र भ्रष्ट्राचार नियन्त्रणका लागि तीब्रताका साथ काम गरिरहेको उल्लेख गरे। उनले भ्रष्ट्राचार र अनियमिततासम्बन्धी ठूला प्रकृतिका २५ भन्दा बढी फाईल सरकारले अगाडि बढाइसकेको जानकारी दिए ।सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले पछिल्लो समय डिजिटल हिंसा बढिरहेको भन्दै यसको न्यूनीकरणका लागि सबै एकजुट भएर लाग्नुपर्ने खाँचो औंल्याए। उनले लैंगिक हिंस मानवअधिकारको बाधक भएको बताए । सञ्चारिका समूहका अध्यक्ष कमला पन्थीले डिजिटल हिंसा विरुद्ध सञ्चार माध्यमको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिइन्। क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) का अध्यक्ष रामकला खड्का र प्रेस काउन्सिल नेपालका सदस्य निमा काफ्लेलगायतले कार्यस्थलको हिंसा कायमै रहेको र डिजिटल हिंसा पनि बढिरहेको उल्लेख गरिन् ।