Redirecting...

शिवालीलाई फ्रान्समा स्वर्ण - ehimalayatimes.com

शिवालीलाई फ्रान्समा स्वर्ण - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । नेपाली टेनिस खेलाडी शिवाली गुरुङले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई पुनः गौरवान्वित बनाउनुभएको छ । उहाँले फ्रान्समा सम्पन्न ‘टेनिस युरोप यु-१४ प्रतियोगिता’ अन्तर्गत गल्र्स डबल्स (महिला युगल) स्पर्धामा स्वर्ण पदक जित्नुभएको हो ।शिवालीले यो स्वर्ण चाइनिज ताइपेईकी खेलाडीसँगको सहकार्यमा जित्नुभएको हो । दुबैले उत्कृष्ट समन्वय र कौशल प्रदर्शन गर्दै विभिन्न चरण पार गर्दै उपाधि कब्जा गर्नुभएको हो । टेनिस युरोप यु-१४ सिरिज युरोपेली महादेशभर गरिने प्रतिष्ठित जुनियर टेनिस प्रतियोगिता हो, जसमा विश्वका भविष्यका टेनिस तारा खेलाडीहरू उदाउने गर्दछन् । यसअघि, शिवालीले फ्रान्समै आयोजना भएको ‘ओपन स्टेट फ्राकाइस’ प्रतियोगितामा पनि भाग लिनुभएको थियो । लगातार युरोपेली टुरमा सहभागिता जनाइरहनुभएकी उहाँले आफ्नो खेल स्तर र अनुभवलाई अन्तर्राष्ट्रिय मञ्चमा दह्रो रूपमा स्थापित गर्दै लग्नुभएको छ । अब उहाँ जर्मनीमा जुलाई २८ देखि अगस्ट ३ सम्म हुने ‘इन्टरनेसनल डेउटसी’ प्रतियोगिता र त्यसपछि अगस्ट ४ देखि १० सम्म बेल्जियममा आयोजना हुने ‘योङ च्याम्पियनसिप कप’ मा प्रतिस्पर्धा गर्ने तयारीमा हुनुहुन्छ । नेपाल टेनिस संघका अनुसार, शिवालीको युरोप भ्रमण र सहभागिता नेपाली टेनिसको दीर्घकालीन विकास र अन्तर्राष्ट्रिय उपस्थिति सुदृढ गर्ने दिशामा ठूलो कदम हो । टेनिस संघका पदाधिकारीहरू, प्रशिक्षकहरू तथा खेलप्रेमीहरू शिवालीको उपलब्धिलाई नेपालको टेनिस खेल क्षेत्रको उन्नतिको संकेतका रूपमा लिइरहेका छन् । १४ वर्षीया शिवाली अहिलेको पुस्ताका प्रतिभावान खेलाडीहरूमध्ये एक हुनुहुन्छ । उहाँ लामो समयदेखि टेनिसमा सक्रिय हुनुहुन्छ र थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसक्नुभएको छ । उहाँको निरन्तर प्रगति र समर्पणले नेपाली टेनिसको भविष्य उज्ज्वल बनाउने विश्वास गरिएको छ ।