नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन जारी - ehimalayatimes.com
काठमाडाैं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा बन्दसत्र जारी रहेको छ । शनिवार भक्तपुरको सल्लाघारीमा भव्य उद्घाटन भएको महाधिवेशनको मुख्य कार्यसत्र आईतवारदेखि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको हो । महाधिवेशनमा देशभरबाट निर्वाचित र मनोनित गरी कुल २ हजार २ सय ६२ जना प्रतिनिधि सहभागी छन् । बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रश्तुत गर्नुभएको छ भने महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको छ । नेतृत्व चयन मुख्य आकर्षण रहेको यो महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ । मतदान विद्युतीय मेसिनबाट हुने र मंगलवार मतदान हुने तालिका छ । भृकुटीमण्डप परिसरमा बिहानैदेखि प्रतिनिधिहरूको चहलपहल बढेको छ । सुरक्षा व्यवस्था मजबुत पारिएको छ भने स्वयंसेवकहरू सक्रिय छन् । महाधिवेशनले पार्टीको भावी रणनीति, संगठन सुदृढीकरण र नेतृत्व चयनलाई मुख्य एजेण्डा बनाएको छ । यो महाधिवेशन जेन-जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थितिमा आयोजना भएको हो । पार्टीले यसलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पका रूपमा लिएको छ ।