जनमतका केन्द्रीय नेता सिंहसहित नेता–कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश - corporatekhabar.com
सर्लाही । राष्ट्रिय जनमत पार्टीका केन्द्रीय नेता त्रिभुवन कुमार सिंह, दाँत रोग विशेषज्ञ डा. साकिल अहमदसहितका नेता तथा कार्यकर्ताहरूले विभिन्न राजनीतिक दल परित्याग गर्दै उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन् । सर्लाहीको बागमतीस्थित सिता पार्टी प्यालेसमा आयोजित वृहद् कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई खादा ओढाएर र उज्यालो नेपालको टोपी लगाइदिँदै औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन् । कार्यक्रममा बोल्दै नवप्रवेशी केन्द्रीय नेता त्रिभुवन कुमार सिंहले अध्यक्ष कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हुँदा गरेको काम र पछिल्लो ११५ दिन सरकारमा रहेर देखाएको कार्यसम्पादनबाट आफू गहिरो रूपमा प्रभावित भएको बताए । उनले परिणाममुखी नेतृत्व, इमान्दार कार्यशैली र निर्णय क्षमताका कारण कुलमान घिसिङ देशका लागि भरोसायोग्य नेता बनेको उल्लेख गरे । सिंहले उज्यालो नेपाल पार्टी सुशासन, समृद्धि र सामाजिक न्यायको एजेन्डा बोकेको पार्टी भएकाले आफ्नो राजनीतिक यात्रा यही पार्टीबाट अघि बढाउने निर्णय गरेको स्पष्ट पारे । कार्यक्रममा अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी व्यक्तिको प्रचारका लागि होइन, प्रणाली सुधार र जनसेवाका लागि अघि बढेको राजनीतिक शक्ति भएको बताउँदै नयाँ प्रवेशीहरूसँगै देश परिवर्तनको अभियान अझ सशक्त हुने विश्वास व्यक्त गरेका छन् । The post जनमतका केन्द्रीय नेता सिंहसहित नेता–कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.