काठमाडौंको वायु अस्वस्थकर, कस्तो असर गर्ला ? - bishwokhabar.com
काठमाडौं– काठमाडौंको वायु अस्वस्थकर देखिएको छ । काठमाडौंको १८ स्थानमा वायु प्रदूषण मापनयन्त्रको सूचकांकमा सबै अस्वस्थ देखिएको हो । स्वस्थकर हुन एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ० देखि ५० हुनुपर्छ । कामपाले त्यसलाई हरियो रङको प्रतीक मानेको छ । त्यसले वायु गुणस्तर सन्तोषजनक र प्रदूषणको न्यून असर पर्ने उल्लेख छ । यसले कुनै जोखिम नभएको उल्लेख छ । काठमाडौं महानगरपालिकाले राजधानीको १८ स्थानमा जडान गरेको वायु गुणस्तर निगरानी बोर्डमा वायु प्रदूषणको अवस्थाबारे उल्लेख गरेको छ । कामपाले स्वयम्भुस्थित १५ वडा कार्यालय, बालाजु बाइसधारा, डल्लु, थापाथली, क्षेत्रपाटी, नयाँ बसपार्क र जडीबुटीमा उपकरण जडान गरेको छ । त्यस्तै, कोरक्षेत्रको असनचोक, कमलादी, बौद्ध क्षेत्र, पुरानो बानेश्वर, शान्तिनगर वडा कार्यालय, चाबहिल चोक, लैनचौर, हाँडीगाउँ र रत्नपार्कमा एक्यूआई परीक्षण यन्त्र जडान गरेको थियो । दिउँसो ३ बजेर ४७ मिनेटमा वायु गुणस्तर सूचकांक अध्ययन गर्दा यस्तो देखाएको हो । एक्यूआइको रिपोर्टअनुसार ५१ देखि १०० लाई मध्यमस्तर मानिन्छ । कामपाले त्यसलाई पहेँलो रङको प्रतीक जनाएको छ । महानगर क्षेत्रको नयाँ बसपार्क र रत्नपार्कमा मध्यम गुणस्तरको वायु देखिएको छ । बालाजु बाइसधारा, कमलादी, चाबहिल र लैनचौरको वायु अस्वस्थकर छ । यसको अर्थ ती क्षेत्रको एक्यूआई १५१ देखि २०० को बीचमा छ । बालाजु बाइसधारामा १५१, कमलादी १५८, चाबहिल चोक १५३ र लैनचौरको एक्यूआई १५२ छ । सबै व्यक्तिको स्वास्थ्यमा असर पर्ने र संवेदनशील समूहका लागि जोखिम हुनसक्ने भएकाले यो मापदण्डलाई अस्वस्थकर मानिएको छ । तथ्यांकअनुसार स्वयम्भु, टेकु, डल्लु, थापाथली, क्षेत्रपाटी, जडीबुटी चोक, असन चोक, बौद्धक्षेत्र, पुरानो बानेश्वर, शान्तिनगर र हाँडीगाउँको वायु प्रदूषण संवेदनशील समूहका लागि अस्वस्थ छ । अर्थात् ती क्षेत्रको प्रतीक सुन्तला रङ देखिएको छ । वातावरणविद्का अनुसार २०० देखि ३०० धेरै अस्वथ्य अर्थात सबै व्यक्तिमा गम्भीर स्वास्थ्य समस्या देखिन सक्ने र अति ३०१ देखि ५०० सम्म अति खतरनाक सबै मानिसमा स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने उल्लेख छ । वायु प्रदूषणका कारण दम, फोक्सोका रोग, आँखाको समस्या, नाक र घाँटीमा एलर्जी, छालामा समस्या, हृदयरोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिन सक्ने भएकाले बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगीलगायत संवेदनशील समूहलाई विशेष सतर्कता अपनाउनुपर्ने देखिएको छ । त्यसैले महानगरवासीलाई वास्तविक समयको वायु गुणस्तरसम्बन्धी जानकारी गराउने जिम्मेवारीबाट अभिप्रेरित ड्यासबोर्ड सञ्चालन गरेको थियो । प्रदूषणबाट स्वास्थ्यमा पर्ने जोखिम घटाउन र दैनिक गतिविधिहरूमा अनुकूलता ल्याउन सहयोग पु¥याउन, वायु प्रदूषण नियन्त्रणमा व्यक्तिगत योगदानलाई प्रोत्साहन र स्थानीय तथा राष्ट्रिय स्तरमा प्रभावकारी नीति निर्माणमा सहयोग पु¥याउन उपकरण जडान गरेको हो ।