देशभर १५७ जेनजी उम्मेदवार, कांग्रेसबाट शून्य, अरू कुन दलबाट कति ? - kendrabindu.com
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यो पटक जेनजी पुस्ताका उम्मेदवारहरूको उल्लेख्य सहभागिता देखिएको छ । निर्वाचन आयोगका अनुसार, कुल ३,४९० उम्मेदवारमध्ये १२ देखि २८ वर्ष उमेर समूहका १५७ जनाले उम्मेदवारी दिएका छन् । यसमध्ये ७० जना दलगत रछन् भने ८७ जना स्वतन्त्र उम्मेदवारी दिएका छन् । संविधानअनुसार प्रतिनिधिसभा उम्मेदवारका लागि न्यूनतम २५ वर्ष उमेर आवश्यक भएकाले जेनजीमध्ये २५–२८ वर्षका मात्र योग्य छन् । आयोगका अनुसार, कुल उम्मेदवारको १५ प्रतिशत ३५ वर्षमुनिका छन्, जसले युवा पुस्ताको बढ्दो राजनीतिक सक्रियतालाई प्रष्ट देखाएको छ । तर प्रमुख दलहरूमा जेनजी प्रतिनिधित्व भने निकै न्यून देखिएको छ । नेपाली कांग्रेसबाट कुनै जेनजी उम्मेदवार छैनन्, भने अन्य दलहरूमा पनि सीमित स्थान मात्र पाएका छन् । निर्वाचन आयोगका अनुसार नेकपा एमालेबाट १, नेकपा माओवादी केन्द्रबाट १, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट ८, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट २, जनता समाजवादी पार्टी जसपा र नागरिक उन्मुक्ति पार्टीबाट कोही जेनजी प्रतिनिधी छैनन् भने जनमत पार्टीबाट ३ जना जेनजी उम्मेदवार उठेका छन् । अर्कोतर्फ अघिल्लो संसद्मा नरहेका वा साना दलहरूले जेनजीमा बढी जोड दिएका छन् । कुलमानको उज्यालो नेपाल पार्टीले ७ र हर्क साम्पाङको श्रम संस्कृति पार्टीले ४ जना जेनजी उम्मेदवार उतारेका छन्, जसलाई राष्ट्रिय दल बन्ने सम्भावित उम्मेदवार दलका रुपमा हेरिएको छ । अन्य दलहरूमा नेपाल मजदूर किसान पार्टीबाट ६, श्रम संस्कृति पार्टीबाट४, उज्यालो नेपाल पार्टीबाट ७, आम जनता पार्टीबाट३, जनता समाजवादी पार्टी (एकल चुनाव चिन्ह) बाट १, जनअधिकार पार्टीबाट १, जनता लोकतान्त्रिक पार्टी नेपालबाट १, जनादेश पार्टी नेपालबाट २, जय मातृभूमि पार्टीबाट १, नेपाल जनता पार्टीबाट १, नेपाल जनसेवा पार्टीबाट २, नेपालका लागि नेपाली पार्टीबाट २, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट ४, मंगोल नेशनल अर्गनाइजेसनबाट ५, मितरी पार्टी नेपालबाट ४, राष्ट्र निर्माण दल नेपालबाट ३, राष्ट्रिय जनमुक्ति पार्टीबाट १, राष्ट्रिय परिवर्तन पार्टीबाट ४, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट १, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट १, संयुक्त नागरिक पार्टीबाट १ र समावेशी समाजवादी पार्टीबाट १ जना जेनजी उम्मेदवार उठेका छन् । यी दलहरूले जम्मा ५५ जना जेनजी उम्मेदवार उतारेका छन्, जसले साना दलहरूमा युवा नेतृत्वको बढ्दो प्रवृत्ति देखाएको छ ।