Redirecting...

कथा: मुद्दा लडेपछि - sahityapost.com

कथा: मुद्दा लडेपछि - sahityapost.com
Source: shpt

२०६४ साल । पार्टीको गाउँ कमिटी अध्यक्षमा नराम्रोसँग हारेपछि बा नयाँ पार्टीमा प्रवेश गरेका थिए । हारको पीडाले निकै नै रन्थनिएका थिए । घरमा पनि रिसाउने झर्किने गरेर केही दिन त उत्पात नै मच्चाएका थिए । बुवाको बडाबासँगको जग्गाको किचलो पुरानै थियो, बडाबा भन्दा पढालिखा, घरको कान्छो छोरो भाकोले बा टाठाबाठा हुन पाए । खासमा जिउनीको विषयमा रडाको थियो । ठुटे नेता भइ हिन्दा कहिल्यै पनि हजुरबा हजुरआमा बाको प्राथमिकतामा परेनन्, उहाँहरू बडाबासँग नै बस्नुहुन्थ्यो । त्यसै कारण बडाबाको घर नै मुलघर जस्तो थियो । नेपाली समाजको चलन र सरसर्ती हेर्दा पनि बुढेसकालमा जसले स्याहारसुसार गर्छ उसैले बाबुआमाको जिउनी पाउने कुरा जायज नै लाग्थ्यो । मैले थाहा पाइकन बाले दशैँमा बाहेक अरुबेला हजुरबा हजुरआमाको कहिल्यै खासै सोधीखोजी गरेको देखिँदैनथ्यो । दशैँमा भने बडाबाकामा टीका लगाइदिइसकेर हजुरबा हजुरआमा हाम्रोमा आउनै पर्थ्यो, अनिमात्र हाम्रो परिवार बडाबाकोमा जान्थ्यौँ । बुवाआमाको औषधि उपचारको व्यवस्था पनि प्रायः बडाबाले नै गर्ने गरेको मलाई थाहा छ । “बा आमा जेड्दाईकोमा नै ज्यादा खुशी हुन्छन्…मेरोमा नै बस्दा पनि हुने हो नि के गर्नु उनीहर्लाई जेठै छोरो प्यारो छन् पहिलैदेखि…जता बसेपनि साह्रोगाह्रोमा दोइ भाइले हेरिन्छ” कसैले आमाबाबुको बारेमा सोध्दा बाको यो रेडिमेड उत्तर हुन्थ्यो र यसो चाडबाडमा देखासिकीजस्तो गरेर बाले हजुरबा हजुरआमालाई बोलाइटोपल्थे । तर यथार्थ त्यस्तो थिएन…बाले हजुरबा हजुरआमालाई निकै नै बेवास्ता गर्थे । घरमा आमा र मेरो खासै केही चल्दैनथ्यो, सबै बाको निर्णयमा घर चलेको थियो । खेतीकिसानी गर्ने बडाबाले दु:खसुख गरेर हजुरबा हजुरआमालाई निकै नै खुशीसाथ राखेका थिए । अंशबन्डा भइसकेकाले जिउनीमा हजुरबा हजुरआमाको आफ्नो निर्णय गर्न पाउने अधिकार थियो । जिउनी पनि निकै राम्रो ३ रोपनी पाखोबारी थियो पहाडमा । बाको दाबी चैँ आधा आधा हुनुपर्छ, दाजुभाइले बराबर हेरेको छ बाउआमा भन्ने थियो । खाली जिउनी बराबर नभएमा मुद्दा हाल्ने भनेर जङ्गिरहन्थे । आमालाई अनि मलाई पनि यो कुरा पट्टक्कै मन परेको थिएन । राजनितीको रनाहाले बा हामीले भनेको पनि केही नसुन्ने भएका थिए । नयाँ पार्टीमा लागेपछि झन् बाको चुरीफुरी सानो मात्रै थिएन । हिजोका दिनमा माउवादी देखि नसहने हाम्रा बा कमरेड अग्नि भएर नयाँ पार्टीमा प्रभुत्व जमाउँदै थिए । बुवालाई कुनै हालतमा बडाबासँग मुद्दामामिला नगर्न आमा र मैले निकै सम्झाएपनि बा सुन्ने पक्षमा देखिएनन् । इलामबाटै बी.ए.सकाएर त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस भर्ना भएँ । बसाइँ बागबजारमा सुदर्शन दाईसँग हुने भयो, उनी मेरा मामाका छोरा थिए । दाई बागबजारमै एउटा पब्लिकेशनमा जागिर गर्थे, उनी एक्लै बस्ने भएकोले मलाई पनि साथी हुन्छ सँगै बसौँ भनेर दाइले नै भनेपछि मेरो डेरा खोज्ने झन्झट टरेको थियो । बिहानै उठेर खाना बनाउने अनि खाएर हिँड्दै पुरानो बसपार्कसम्म जाने अनि कीर्तिपुरको लामो बस चढेर क्याम्पस जाने मेरो दैनिकी थियो । पढाई राम्रै चल्दै थियो । लगभग दुई महिना पछिको कुरा हो, एकदिन बसपार्कमा बसको झ्यालबाट बाहिर हेर्दै टोलाइरहेको थिएँ, अचानक गाउँले भाइ टंकु एकजना अपरिचित मान्छेसँग देखियो । निकै हतारमा जस्तो देखिएको उसले सदाझैँ ल्याङ्गफ्याङ्ग पारामा कुनै गाडी पर्खेजस्तो गर्दै त्यो मान्छेसँग गफ गर्दै थियो । विदेश गएर छुट्टीमा आएको उसको फर्किने बेला भैसकेको रहेछ क्यारे भन्ठानेँ । “ओइ टंकु ! हन कैले आको ? फिर्नेबेला भ’र आको कि ?” “अरे खेम दाई…अँ हो त दाई आज बेल्काको फ्लाइट छ सात बजेको !” उसले निकै हतारिँदै बोल्यो… अर्कोे केटोले हतार लगाएजस्तो गर्यो, “ल दाइ म लागेँ मेनपावर पुग्नु छ अनि अलेली किनमेल पनि छ ” ऊ पनि हतारमा थियो मेरो गाडी पनि अघि बढाउन लाग्यो….”ल त भाइ शुभयात्रा है…साँची घरतिर के छ हौ सबै ठीकै होला नि ?” गाडी फेरि रोकेर मान्छे चढाउन थाल्यो र हतारमा सोधेँ । “ए साँची तपाईंलाई खबर भाकोछैन दाइ ? उहाँ बुवाको त मुद्दा लडेर कस्तो भैराको छ…जानू है दाइ घर एकचोटि…ल दाइ गाडी आयो, म गएँ है ” उस्ले एकै श्वासमा कुरा सकेर ओझेल पर्यो । अहिलेजस्तो हातहातमा मोबाइल थिएन तर फाट्टफुट्ट अलिक हुनेखानेले बोक्न थालेको थिए । गाउँदेखि अलिक तल भट्टराईको दोकानमा एस.टी.डी. फोन थियो । फेरि त्यो खबरले म यति आक्रोशित भएँ कि घरमा फोन गर्न पनि मन लागेन र त्यो रात खाना पनि खान मन भएन र चाउचाउ खाएर सुतेँ । सुदर्शन दाइलाई पनि केही सुनाइनँ, भोलि सिधै घर गएर बासँग भेटेर मुद्दा फिर्ता लिन लगाएरै छोड्छु भन्ने भयो । बडाबा अनि हजुरबा हजुरआमाको निर्दोष अनि निष्कपट अनुहार सम्झेर बादेखि साह्रै घृणा लागेर आयो । दाजुभाइमै मुद्दा मामला, मान्छेले सुन्दा पनि परिवारकै बेइज्जत अनि फेरि त्यही कारण मेरो प्रेमसम्बन्धमा पनि असर पर्ने मनोवैज्ञानिक त्रासले म थकितजस्तो भएँ । बडाबाकी भदैनीसँग मेरो गहिरो प्रेम थियो र पछि गएर बिहे हुने लगभग पक्कापक्की थियो । यो घटनाले गर्दा बडीआमाको माइतमा हामीलाई के सोच्लान् भन्ने लागिरह्यो । भोलिपल्टै डे बसमा म घरतिर लागेँ । घर पुग्दा घरमा हजुरबा, हजुरआमा, बडीआमा, आमा भेला हुनुभ’को छ ! बा खाटमा पल्टेका छन्…मैले केही बुझिनँ….बाले घुँडा छामेर “आय्या नि आमै…हन खबर पा’रै आइस् कि एक्कासी पो आइस् त नानी” “के भो बालाई ?” म त अर्कै खबर सुनेर आको त अनि मुद्दा पो हाल्नुभो अरे बाले बडिबालाई…फेरि यहाँ…” “हैन के भन्छ हौ…मरेँ नि…दाजु पनि आइहाल्छु भनेर ग’का कता हराए हौ” म झन् अलमल्ल परेँ । लगभग बोलचाल बन्द भा’को दाजुलाई बाले खोजेको देखेर ! “४ दिन भो आज लडेको नानी…बेल्का ९ बजेतिर यहीँ डिलमा पिसाब फेर्न जाँदा खुट्टा स्वात्तै चिप्लेर बङ्गै लडेको घुँडा नराम्ररी बजारिएछ खुस्क्यो कि जस्तो भैर’छ सिकारी लहरो कुटेर बाँधेको, खै होलाजस्तो छैन…तँलाई खबर गरेर पनि पीर गर्छस् होला भन्ने सल्लाह भो बडाबा र मेरो” “अनि कस्तो डिलतिर जानुभा’को त हौ पिसाब फेर्न राति राति..थपक्क ट्वाइलेटमा जानुपर्छ नि त अनि” “तो हुने दिन नि कान्छा….मरेँ नि..खै अब तँ पनि आइस्…भोलि उँधै झर्नुपर्छ होला हौ नानी हस्पिटल” “ए कान्छा कतिखेर आइस् ? म पनि त्यै सोच्दैथेँ लानुपर्छ अब हस्पिटल नै ! यसरी हुँदैन…तेरै बाउ मानेन हिजै लैजाऊँ भनेर सबै परिबन्द मिलाइसकेको” भोलिपल्ट नै बडाबा र म भएर बालाई घोपा क्याम्प लिएर गयौँ । बालाई पुरै सन्चो हुन झण्डै वर्षदिन नै लाग्यो । अहिले पनि हिँड्दा बाको खुट्टाले अलिक भर गर्दैन अलिक खोच्याएर हिन्नुहुन्छ । त्यो घटनापछि दाजुभाइको बेमेल कहिल्यै भएन । टंकुले खबर ठीकै दिएको रहेछ तर पिसाब फेर्दा लड्नुभाको भन्दिएको भए….।