Redirecting...

सानामा पनि ठूलाकै रोग, विस्तार नहुँदै विभाजनतिर - ehimalayatimes.com

सानामा पनि ठूलाकै रोग, विस्तार नहुँदै विभाजनतिर - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । प्रमुख दलहरूको विकल्पका रूपमा राजनीतिमा उदाएका नयाँ र साना दलमा पनि ‘पुरानै रोग’ देखिएको छ । प्रमुख दलहरूविरुद्ध जनआक्रोश बढिरहेका बेला विकल्प दिने भन्दै आएका नयाँ दलहरू पनि पुरानैको जस्तो आन्तरिक किचलोमा अल्झिएका हुन् । निराश जनतामा आशा भर्ने आश्वासन बाँडेर चुनावमा सहानुभूतिको मत बटुलेर संसद्मा पुगेका नयाँ र साना दल विस्तार नहुँदै विभाजनको बाटोतिर लागेका छन् । नयाँ र साना पार्टीमा पनि कुनै वैचारिक वा सैद्धान्तिक मतभिन्नता होइन, ठूलाजस्तै नेतृत्वको कार्यशैली र शक्ति आर्जनको होडले तनाव सिर्जना भएको हो । जसमा गत चुनावअघि गठन भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा)सहित एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)देखि राजतन्त्र फर्काउने योजनामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सम्मका दल आन्तरिक झमेलामा छन्  । यसबाहेक गत चुनावअघि नै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि अपेक्षित गति लिन सकेको छैन । तराईं–मधेस केन्द्रित राजनीति गरिरहेको पुरानै पार्टी जनता समाजवादी, नेपाल र त्यसैलाई काउण्टर दिन गठन भएको जनमत पार्टीको अवस्था पनि लगभग उस्तै छ । जसपा, नेपाल सत्ताकै लागि विभाजित बनेको छ भने जनमतमा पनि किचलो छ । एकीकृत समाजवादी र राप्रपामा अन्तरसंघर्ष चर्किरहँदा नाउपा विभाजनकै संघारमा पुगेको छ । यीबाहेक सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले), संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) पहिल्यैदेखि आन्तरिक किचलोमा फसेका छन् । कांग्रेसमा नेता-कार्यकर्तामाथि अनुशासनको कारबाहीले चुलिएको विवाद साम्य नहुँदै बागमती प्रदेशमा अर्को किचलो सुरु भएको छ । एमालेमा अध्यक्ष केपी ओलीले अबको महाधिवेशनबाट अध्यक्ष बन्ने योजनासहित पार्टीमा फर्किएको घोषणा गर्नुभएकी पूर्वराष्ट्रपति विद्या भण्डारीलाई प्रतिबन्ध लगाएपछि किचलो झन् चर्किएको छ । माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच अन्तरसंघर्ष चलिरहेको छ । पारिवारिक किचलोले नाउपा लथालिंगचुनावअघि मात्रै स्थापना भएर राम्रो चुनावी नतिजा ल्याएको नाउपा पारिवारिक किचलोका कारण लथालिंग अवस्थामा पुगेको छ । श्रीमान्-श्रीमतीसमेत रहेका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको कलहले सिंगो पार्टी नै विभाजनको बाटोतिर अघि बढेको हो । बुधबार मात्रै अध्यक्ष श्रेष्ठलाई बर्खास्त गरेको नाउपा संस्थापकहरूको बिहीबार काठमाडौंमा बसेको भेलाले लालवीर चौधरीलाई पार्टी अध्यक्ष चयन गरेको छ । अध्यक्ष चयन हुनुभएका लालवीर रेशमका बाबु हुन् । रञ्जिता पोखराको जग्गा हत्याउन रचिएको घुस प्रकरणमा मुछिएपछि नाउपा विवाद पुनः बल्झिएको थियो । रञ्जितालाई पार्टीमा आएर उठेका प्रश्नको जवाफ दिन रेशमले सार्वजनिक आहृवान गर्नुभएको थियो तर, रञ्जिताले बैठक नबोलाएर वरिष्ठ नेता शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोक्नुभयो । त्यसपछि रञ्जितालाई बर्खास्त गरेर लालवीरलाई अध्यक्ष चयन गरिएको हो ।रञ्जिताले ‘विधानविपरीत’ बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने प्रतिक्रिया दिनुभएको छ । नाउपाका नेता एकपछि अर्काे गर्दै भ्रष्टाचार मुद्दामा समेत मुछिएका छन् । तर, झगडा अझै सकिएको छैन । झलनाथलाई माधवको चेतावनी- खुरुक्क राजीनामा दिएर गए हुन्छएकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि मुद्दामा मुछिएपछि पार्टीमा उकुसमुकुस छ । केही दिनअघि नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष नेपाललक्षित गर्दै सिनो बोकेर हिँड्न नसकिने अभिव्यक्ति नै दिनुभएको थियो । तर, जसका कारण उहाँले पार्टीभित्रै निकै आलोचना खेप्नुपरेको थियो । तर, उक्त प्रकरण सेलाउन नपाउँदै फेरि अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीचको विवाद सतहमा आएको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले पूर्वप्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता खनालको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया दिनुभएको छ । खनालले बोलेको साँचो भए पार्टीमा बस्ने ठाउँ नरहेको नेपालले चेतावनी दिनुभएको हो । विराटनगरमा शुक्रबार पत्रकारहरूको प्रश्नमा अध्यक्ष नेपालले झलनाथ खनालसँग राजीनामाको विकल्प बाँकी रहेको बताउनुभएको हो । ‘अचेल एआईको जमाना छ, बोल्दै नबोलेको कुरा पनि आइदिन्छ, स्वर मिलाएर, यदि त्यो हो भने पार्टीबाट बिदा गरिदिनुपर्छ नि । यो पार्टीमा बस्ने ठाउँ नै रहेन नि । नैतिक आधारै छैन,’ उहाँले भन्नुभयो, ‘खुरुक्क राजीनामा दिनुपर्छ । बिदा भएर जानुपर्छ ।’ खनालले एक टेलिभिजन अन्तर्वार्तामा एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताउनुभएको थियो । ‘जतिबेला यो पार्टी विग्रह वा विभाजन गरियो नि त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दै छु म । एमालेमा जुन विद्र्रोह गरियो त्यो विद्रोह पुष्टि नै भएन अहिलेसम्म । पुष्टि नहुनुको अर्थ गलत गरियो,’ उहाँले भन्नुभएको छ । पार्टीभित्र निर्णय नमान्ने नेताहरूको सूचीमा खनाल एक नम्बरमा रहेको नेपालको भनाइ छ । राप्रपामा मोर्चाबन्दी, विवाद आयोगसम्म पुग्योराप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध महामन्त्री धवलशमशेर राणाले मोर्चाबन्दी कस्नुभएको छ । राप्रपा विवाद निर्वाचन आयोगसम्म पुगेको छ । अध्यक्ष लिङ्देनले पार्टीभित्र मनोमानी गरेको आरोपसहित निष्कासनमा परेका पदाधिकारीहरू निर्वाचन आयोग पुगेका छन् । अर्कोतिर, आयोगमा नाम अद्यावधिक नगरिदिएको भन्दै रवीन्द्र्र मिश्रको समूह असन्तुष्ट छ ।राप्रपा) केन्द्र्रीय सदस्य किशोर कार्कीले साधारण सदस्यसमेत नरहने गरी बिहीबार मात्रै पार्टी परित्याग गर्नुभएको थियो । राप्रपाले संस्थागत रूप लिन नसकेको, अध्यक्षले अभिभावकीय भूमिका निर्वाह नगरेको तथा गुटमा विभाजित भएको पार्टीलाई सम्हाल्ने सोच नदेखाएको जस्ता आरोप लगाउनुभएको छ । अनेक प्रयत्न गर्दा पनि पार्टीलाई सही दिशामा फर्काउन नसकेको उहाँले उल्लेख गर्नुभएको छ । अर्कोतिर अध्यक्ष लिङ्देनले पार्टी हितविपरीत कार्य गरेको भन्दै नेताहरूलाई पदमुक्त गर्न थालेपछि राणा पक्ष प्रतिवादमा उत्रिएको छ । पछिल्लो समय अनुशासन समितिका संयोजक रहनुभएका नवराज सुवेदीलाई अध्यक्ष लिङ्देनले पदमुक्त गर्दै उक्त स्थानमा रोशन कार्कीलाई जिम्मेवारी दिएपछि विवाद थप बढेको थियो । पार्टी परित्याग गरेको सार्वजनिक घोषणा गर्नुभएका सुवेदी र प्रवक्ता सगुन लावतीलाई अध्यक्ष लिङ्देनले २५ असारमा हटाउनुभएको थियो । लिङ्देनले विधानविपरीत कार्य गरेको भन्दै पूर्ववत् पदमा फर्कन पाउनुपर्ने मागसहित असन्तुष्ट पक्ष निर्वाचन आयोगमा निवेदन दिन पुगेको थियो ।संस्थापन इतरले आफूविरुद्ध शृंखलाबद्ध अभिव्यक्ति दिन थालेपछि अध्यक्ष लिङ्देनले थप कठोर हुने संकेत गर्नुभएको छ । लिङ्देनले केही दिनअघि गृहजिल्ला झापा पुगेर विचार नमिल्नेहरू पार्टी छोडेर गए हुने आशयको अभिव्यक्तिसमेत दिनुभएको थियो । ‘विचार मिल्नेहरूले पार्टी चलाउँछन् । तर, राजेन्द्र लिङ्देन मनपरेन भने के गर्नेभन्दा महाधिवेशनमा हराउने । अरू बेला अल्झाउने होइन,’ उहाँले भन्नुभएको थियो, ‘विचारै मिल्दैन भने बाटो तताउने । मान्छेसँग चित्त नबुझेको हो भने महाधिवेशन अघि कचकच गर्नु हुँदैन ।’ राप्रपामा नियमित महाधिवशेन हुँदा आगामी मंसिरमा नयाँ समितिका निर्वाचन हुनुपर्छ ।