एमालेले उम्मेदवारबाटै उठायो लाखौं रूपैयाँ - www.sutranews.com
काठमाडौं । नेकपा एमाले ११औँ राष्ट्रिय महाधिवेशन निर्णायक मोडमा पुगेको छ। २७ मंसिरमा भक्तपुरको सल्लाघारीबाट सुरू भएको महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र पार गर्दै अब नयाँ नेतृत्व चयनको चुनावी प्रक्रियामा प्रवेश गरेको हो। ३०१ सदस्यीय केन्द्रीय समिति चयनका लागि अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म ७०९ जनाले उम्मेदवारी दिएका छन्। नेतृत्वको दौड मात्र होइन, महाधिवेशन आर्थिक रूपमा पनि चर्चाको केन्द्रमा परेको छ। उम्मेदवारी शुल्ककै माध्यमबाट एमालेले साढे ३७ लाख रुपैयाँभन्दा बढी संकलन गरेको छ। निर्वाचन समितिका अनुसार अध्यक्षका दुई उम्मेदवारबाट ३० हजार रुपैयाँ, ११ उपाध्यक्षबाट १ लाख १० हजार, दुई महासचिवबाट २० हजार, सात उपमहासचिवबाट ७० हजार, २० सचिवबाट २ लाख र ६६७ केन्द्रीय सदस्यबाट ३३ लाख ३५ हजार रुपैयाँ उठेको छ। यसरी कुल संकलित रकम ३७ लाख ६५ हजार रुपैयाँ पुगेको छ। महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ।