ताप्लेजुङका २८ मतदानस्थल ‘अति संवेदनशील’, निर्वाचनका लागि ७६२ कर्मचारी खटिने - nagariknews.nagariknetwork.com
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङका २८ वटा मतदानस्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ।जिल्ला सुरक्षा समितिले सुरक्षा चुनौती विश्लेषण गर्दै मतदानस्थलको वर्गीकरण गरेको हो।जिल्लाका कुल ८० मतदानस्थलमध्ये २८ वटालाई अति संवेदनशील, २५ वटालाई संवेदनशील र २७ वटालाई सामान्य सूचीमा वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका अध्यक्ष शिवराज सेढाईँले जानकारी दिए।अघिल्लो निर्वाचन (२०७९) मा ७५ वटा मतदानस्थल रहेकोमा यस वर्ष ५ वटा थप भई ८० पुगेको छ। जिल्लाभर कुल १ सय २७ मतदान केन्द्र कायम गरिएको छ।जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बान्दवराज दुलाल (बिपिन) का अनुसार आगामी निर्वाचनका लागि जिल्लामा ९० हजार ३ सय २७ मतदाता कायम भएका छन्।यो संख्या २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा २ हजार ४२ ले बढी हो। २०७९ सालमा यहाँ ८८ हजार २ सय ८५ मतदाता थिए।निर्वाचन सम्पन्न गराउन सुरक्षाकर्मीबाहेक ७ सय ६२ जना कर्मचारी परिचालन गरिने भएको छ।जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार १ सय २७ वटा मतदान केन्द्रका लागि सोही संख्यामा (१२७) मतदान अधिकृत र १ सय २७ नै सहायक मतदान अधिकृत खटिनेछन्।यस्तै, प्रत्येक केन्द्रमा ३ जनाका दरले ३ सय ८१ जना सहायक कर्मचारी र १ जनाका दरले १ सय २७ जना कार्यालय सहयोगी परिचालन गर्ने तयारी गरिएको श्रेष्ठले जानकारी दिए।