Redirecting...

नागरिक उड्डयन प्राधिकरणमा कनिष्ठलाई महानिर्देशक बनाउने चलखेल - nagariknews.nagariknetwork.com

नागरिक उड्डयन प्राधिकरणमा कनिष्ठलाई महानिर्देशक बनाउने चलखेल - nagariknews.nagariknetwork.com
Source: ngrk

नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि अर्को नियुक्तिको तयारी भइरहेको छ। पर्यटन मन्त्रालयले आज भोलि नै अर्को व्यक्तिलाई वरियता मिचेर नियुक्तिको तयारी गरेको छ। प्राधिकरणमा रहेका वरिष्ठ कर्मचारीहरूलाई पन्छाएर कनिष्ठ कर्मचारीलाई नियुक्तिको तयारी चलिरहेको स्रोतको दाबी छ। अधिकारीलाई बुधवार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो। प्राधिकरणको १२ औ तहमा अहिले प्रतापबाबु तिवारी रहेका छन्। वरियताक्रम अनुसार अहिले उनी नियुक्ति हुने अवस्था छ। उनीपछि प्रेमनाथ ठाकुर, देवचन्द्र कर्ण, हंसराज पाण्डे र त्यसपछि जगन्नाथ निरौला रहेका छन्। ‘सिनियरहरुलाई कुनै कुनै खोट लगाएर पन्छ्याई कनिष्ठतम लाई महानिर्देशक नियुक्त गर्ने चलखेल भइरहेको छ’, मन्त्रालय स्रोतले भन्यो। प्रधानमन्त्री सुशीला कार्कीले नै वरियताक्रम अनुसार नै नियुक्ति हुनु पर्ने घोषित मान्यतालाई लत्याउँदै यस्तो चलखेल थालेको स्रोतको दाबी छ। सिनियरमाथि अख्तियारमा उजुरी रहेको र विगतमा अख्तियारको छानबिनमा परेको बहानामा अन्यायपूर्वक फेरि पनि बाहिर राख्न खोजिएको स्रोतले जनाएको छ।‘प्रदीप अधिकारीलाई राजनीतिक दबाब र चलखेलका आधारमा योग्यता नपुग्दा नपुग्दै पनि त्यस बेलाका १२ तहका वरिष्ठ प्रताप बाबु तिवारीलाई पन्छ्याइ विवादास्पद नियुक्ति गरेको र तिवारी हालसम्म पनि वरिष्ठ उम्मेदवार रहेको मा फेरि पनि उनलाई अख्तियारमा उजुरी रहेको बहाना बनाई पन्छाउन खोजिँदै छ’, स्रोतले भन्यो। तर अख्तियारमा उजुरी रहेका कनिष्ठतम जगन्नाथ निरौलालाई भने सम्भाव्य उम्मेदवारका रूपमा प्रस्तुत गर्न थालिएको छ। अधिकारीको भने विशेष अदालतमा न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको २ नम्बर इजलासमा बयान हुदैछ। भक्तपुरको नलिञ्चोक हेलिपोर्टमा अनियमितता अभियोगमा बुधवार अधिकारीसहित ७ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। बयानपछि अधिकारीलाई थुनामा राखेर अनुसन्धान गर्ने कि धरौटीमा छाड्नेबारे आदेश दिइनेछ। अख्तियारले अधिकारीसहित निर्देशक मुरारी भण्डारी, उप प्रबन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रबन्धक नवलविक्रम थापा, अभियन्त्र कन्सलटिङ प्रालि र सो प्रालिका प्रमुख विजय थापा, निजी इन्जिनियर गुरुदत्त अधिकारीलाई प्रतिवादी बनाएको छ। उनीहरूसँग जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा बिगो दाबी र कैद तथा जरिवाना माग गरिएको विशेष अदालतले जनाएको छ।