‘शारदा–खगराज लोहनी उत्कृष्ट महिला पुरस्कार’का लागि पाँच लाख अक्षयकोष स्थापना - sahityapost.com
दाङ । त्रिभुवननगर जेसीजकी पूर्व अध्यक्ष तथा १९९२ की शाखा अध्यक्ष जेसी माया शर्मा लोहनीले ‘शारदा–खगराज लोहनी उत्कृष्ट महिला पुरस्कार–२०२५’ स्थापना गर्न पाँच लाख रुपैयाँको अक्षय कोष स्थापना गर्नुभएकाे छ । दाङ जिल्लालाई कार्यक्षेत्र बनाएर महिला अधिकार, शिक्षा, कृषि, स्वास्थ्य, सञ्चार तथा समाज रूपान्तरणका विभिन्न क्षेत्रमा सक्रिय हुँदै आएकाे उल्लेखनीय महिलालाई सम्मान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको हो । अन्तर्राष्ट्रिय नारी दिवस (मार्च ८) का दिन प्रदान गरिने यो पुरस्कारले दाङका महिलाको क्षमता, नेतृत्व, सामाजिक योगदान र व्यक्तित्व विकासमा दीर्घकालीन सहयोग पुग्ने विश्वास आयोजकहरूको छ । त्रिभुवननगर जेसीज २०२५ का अध्यक्ष टंक रावत (अनन्त) का अनुसार, जेसी माया लोहनीद्वारा स्थापना गरिएको यो कोष दाङ जिल्लामा महिलाको नेतृत्व विकास तथा सामाजिक सहभागितालाई सशक्त बनाउने महत्वपूर्ण पहल बनेको छ । जेसीज दाङले आगामी वर्षदेखि पुरस्कार वितरण प्रक्रिया औपचारिक रूपमा सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ । The post ‘शारदा–खगराज लोहनी उत्कृष्ट महिला पुरस्कार’का लागि पाँच लाख अक्षयकोष स्थापना appeared first on साहित्यपोस्ट.