प्रधानमन्त्री ओली आज जनकपुरधाम आउँदै - nagariknews.nagariknetwork.com
प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) मधेस प्रदेशको राजधानी जनकपुरधाम आउँदै छन्। साढे २३ करोडभन्दा बढीको लागतमा नवनिर्मित मधेस प्रदेश प्रहरी कार्यालयको नयाँ प्रशासनिक भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुरधाम आउन लागेका हुन्।मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार प्रधानमन्त्री ओली शुक्रबार बिहान साढे ११ बजे हेलिकप्टरमार्फत जनकपुरधाम आइपुग्ने कार्यतालिका रहेको छ। प्रहरीको नयाँ भवन उद्घाटनपछि उनी जनकपुरधाम र महोत्तरीमा सडक उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मा चार बिघा १९ कट्ठा क्षेत्रफलमा बनेको प्रदेश प्रहरीको नयाँ प्रशासनिक भवन प्रदेश सरकारको सहयोगमा निर्माण भएको हो। प्रधानमन्त्रीको आगमनलाई मध्यनजर गर्दै जनकपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाका लागि व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जनकपुर प्रहरीले जानकारी दिएको छ।उद्घाटन कार्यक्रममा सहभागी हुनका लागि प्रदेशका ८ वटै जिल्लाका प्रहरी कमान्डरहरूलाई जनकपुरधाम आइपुग्न प्रदेश प्रहरीले निर्देशन दिइएको छ। प्रधानमन्त्री ओलीको साउन महिनामा मात्रै यो दोस्रो पटक मधेस प्रदेश भ्रमण हो। यसअघि उनी मधेस प्रदेशसभा सम्बोधन गर्न जनकपुरधामा गएका थिए।