सरकारलाई उद्योग संगठनका नौबुँदे सुझाव - ehimalayatimes.com
काठमाडौं । उद्योग संगठन मोरङको प्रतिनिधिमण्डलले आर्थिक क्षेत्रसँग सम्बन्धित विभिन्न नौबुँदे सुझाव दिएको छ । उक्त संगठनले अर्थमन्त्री रामेश्वर खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीसँग भेट गरी उद्योग-व्यवसाय क्षेत्रसँग सम्बन्धित समसामयिक समस्या र सुझाव प्रस्तुत गर्दै कार्यान्वयनका लागि आग्रह गरेको हो । अध्यक्ष नन्दकिशोर राठी नेतृत्वको प्रतिनिधिमण्डलमा निवर्तमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्षहरू सुरेन्द्र गोल्छा र विपिन कावरा, कार्यसमिति सदस्यहरू सन्तोष भगत, उकेश अग्रवाल र जयेन्द्र शर्मा तथा महानिर्देशक चुडामणि भट्टराई हुनुहुन्थ्यो । मन्त्रीहरूसँगको छलफलका क्रममा अध्यक्ष राठीले निजी क्षेत्रले मुलुकको आर्थिक, औद्योगिक तथा सामाजिक विकासमा पुर्याउँदै आएको योगदान मध्यनजर गर्दै सरकारले स्पष्ट, सकारात्मक र भरोसायुक्त सन्देशमार्फत् निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको उद्योग-व्यवसाय क्षेत्रको निर्वाध सञ्चालनका लागि प्रक्रियागत जटिलता सरलीकरण, शान्ति-सुरक्षाको प्रत्याभूति तथा लगानीमैत्री वातावरण निर्माण अत्यावश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रले ती विषयको प्रत्यक्ष अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्न आग्रह गर्नुभयो । मन्त्रीहरूले संगठनका सुझावलाई सकारात्मकरूपमा लिँदै तत्काल कार्यान्वयन गर्न सकिने विषयहरू यथाशीघ्र अघि बढाउने र नीतिगत प्रकृतिका विषयहरू आगामी सरकारका लागि नोटका रूपमा राखिने स्पष्ट पारेको जानकारी अध्यक्ष राठीले दिनुभयो । प्रतिनिधिमण्डलले निजी क्षेत्रको खस्कँदो मनोबल उकास्नुपर्ने, सुक्खा मौसममा विद्युत् आपूर्तिको सुनिश्चितता गरिनुपर्ने, विराटनगर आइसिपीसम्म रेल्वे कार्गो सेवा सञ्चालन गरिनुपर्ने, मोरङ-कटहरी खण्डको हुलाकी सडक छिटो सम्पन्न गर्नुपर्ने, सार्वजनिक निकायमा स्वदेशी उत्पादनको प्रयोग गरिनुपर्ने, निर्यातमा नगद अनुदानलाई निरन्तरता दिनुपर्ने, पुँजीगत खर्च वृद्धि गरिनुपर्ने, भन्सार ऐन २०८२ का व्यवस्थाहरू संशोधन गरिनुपर्ने र सरकारी निकायमा प्रक्रियागत जटिलता सरलीकरण गरिनुपर्ने सुझाव दिएको हो ।