नेपालमा उपलब्ध दुई मात्र ११० सीसीका स्कुटर, कुन उत्कृष्ट ? - www.meroauto.com
काठमाडौं । नेपाली बजारमा स्कुटरको माग बढ्दो क्रममा छ । पहिला महिलाको रोजाइमा मात्रै पर्ने स्कुटर अहिलेको युवापुस्ता, व्यापारी, दैनिक कामकाजी व्यक्तिहरूको रोजाइमा पर्न थालेको हो । मोटरसाइकलको तुलनामा चलाउन सहज, छरितो भएकाले स्कुटरको लोकप्रियता बढ्दै गएको हो । हाल नेपाली बजारमा पेट्रोल र विद्युतीय दुवै स्कुटर उपलब्ध छन् । तर, वर्चश्व पेट्रोल स्कुटरकै छ । स्कुटर बजारमा ईभीको हिस्सा ५ प्रतिशतभन्दा पनि कम छ । नेपालमा हाल आधा दर्जन बढी ब्राण्डका पेट्रोल स्कुटर बिक्री हुँदै आएका छन् । जसमा यामाहा, टीभीएस, सुजुकी, होण्डा, हिरो, भेष्पा/अप्रिलिया, प्युजो लगायत ब्राण्ड छन् । यी ब्राण्डले ११० सीसीदेखि १५५ सीसीसम्मका स्कुटर बेच्दै आएका छन् । पावर फर्ममेन्सका आधारमा १२५ सीसीभन्दा माथिका स्कुटरको धेरै चर्चा सुनिन्छ । तुलनात्मक रूपमा ११० सीसीका स्कुटरको चर्चा र माग कम हुन्छ । माग कम हुने भएकाले नै सबै ब्राण्डले ११० सीसीका स्कुटर उपलब्ध गराएका छैनन् । हाल नेपालमा हिरो र होण्डा दुई ब्राण्डका मात्रै ११० सीसीका स्कुटर किन्न पाइन्छ । ११० सीसी सेग्मेन्टमा हिराको जुम र होण्डाको डिओ मात्रै उपलब्ध छन् । यहाँ हामीले यिनै दुई स्कुटरको तुलनात्मक भिन्नता केलाएका छौं, जसले तपाईंको स्कुटर छनोटमा सहयोग पुग्ने छ । ब्राण्ड सन् १९८४ मा हिरो ग्रुप भारत र जापानी ब्राण्ड होण्डाको लगानीमा हिरोहोण्डा ब्राण्ड स्थापना भएको थियो । यस ब्राण्डमा मुख्यगरी मोटरसाइकल उत्पादन हुँदै आएका थिए । तर, २६ वर्षको सहकार्यपछि सन् २०१० मा यी दुई ब्राण्ड अलग भए । सन् २०११ मा हिरो नयाँ कम्पनीको रूपमा आयो भने होण्डा पुरानैमा कायम रह्यो । अहिले यी दुवै ब्राण्ड एक अर्काका प्रतिस्पर्धी बनेका छन् । दुवैले एकअर्काका प्रतिस्पर्धी मोडलका स्कुटर बजारमा ल्याएका छन् । डिजाइन दुवै स्कुटर टिपिकल स्पोर्टी डिजाइनमा बनेका छन् । दुवैमा एलईडी हेडल्याम्प डीआरएल दिइएको छ । डिओ फ्यामिली बेस्ड डिजाइनमा छ भने जुम सार्प एरोडाइनामिक डिजाइनमा छ । इन्जिन र पर्फमेन्स जुम स्कुटरमा ११०.९ सीसी, सिंगल सिलिण्डर, एयर कुल्ड, फोर स्ट्रोक एफआइ इन्जिन छ । उक्त इन्जिनले अधिकतम ८.०५ बीएच पावर तथा ८.७५ एनएमको टर्क जेनेरेट गर्छ । यसको टप स्पीड ८७ किलोमिटर प्रतिघण्टा रहेको छ । डिओमा १०९ सीसी, सिंगल सिलिण्डर, फोर स्ट्रोक, फ्यान कुल्ड इन्जिन दिइएको छ । यो इन्जिनले अधिकतम ८ पीएस पावर र ९.०३ एनएमको टर्क जेनेरेट गर्छ । यसको टप स्पीड ८३ किलोमिटर प्रतिघण्टा रहेको छ । माइलेज डिओ र जुम दुवै स्कुटरले एक लिटर पेट्रोलबाट ५० देखि ५५ किलोमिटरसम्मको माइलेज दिने कम्पनीहरूको दाबी छ । डिओमा ५.३ र जुममा ५.२ लिटर पेट्रोल अट्ने इन्धन ट्याकं दिइएको छ । टायर र सस्पेन्सन दुवै स्कुटरमा अलोय ह्वील सहितको ट्युबलेस टायर छ । डिओको फ्रन्टमा टेलिस्कोपिक फोर्क, रियरमा स्प्रिङ लोडेड हाइड्रोलिक सक र जुमको फ्रन्टमा टेलिस्कोपिक हाइड्रोलिक सक अब्जर्बार, रियरमा स्प्रिङ लोडेड हाइड्रोलिक ड्याम्पर सस्पेन्सन सेटअप रहेको छ । ब्रेकिङ सिस्टम यी दुवै कम्पनीले राइडरको सुरक्षालाई मध्यनजर गरी सीबीएस ब्रेकिङ सिस्टम दिएको छ । भेरियन्ट अनुसार दुवैमा डिस्कब्रेक र ड्रमब्रेक अप्सन पाइन्छ । अन्य फिचरहरू हिरो जुममा कम्पनीले पूरा डिजिटल क्लस्टर र स्मार्ट कनेक्ट फिचर पनि दिएको छ । यसमा लाइभ ट्रयाकिङ, स्पीड अर्लट, जिओफेस अलर्ट, टोपल अर्लट, ट्रीप एनालाइसेस जस्ता धेरै फिचर प्रयोग गर्न सकिन्छ । साथै, आई थ्री एस टेक्नोलोजी, एसआई इन्जिन सिस्टम, चार्जिङ पोर्ट, स्पोर्टी मफलर र अन्डर सिट स्टोरेज पनि छ । होण्डा डिओमा डिजिटल इन्टेलिजेन्ट मिटर छ । यसमा एसीजी सिस्टम, साइड स्ट्यान्ड कटअफ, पीजीएम एफआई सिस्टम, एसआई इन्जिन, स्प्लीट ग्रयाब रेल, मफलर प्रोटेक्टर, एक्सटर्नल फ्युल लिड र अन्डर सिट स्टोरेज जस्ता फिचरहरू छन् । मूल्य होण्डा डिओ ११० एसटीडी र डीएलएक्स गरी दुई भेरियन्टमा उपलब्ध छ । नेपालमा स्याकार ट्रेडिङ कम्पनीले बिक्री गर्दै आइरहेको यो स्कुटरको एसटीडी भेरियन्टको मूल्य २ लाख ५९ हजार ९०० रुपैयाँ र डीएलएक्स भेरियन्टको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ रहेको छ । नेपालमा हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले जुम ११० स्कुटरको कम्ब्याट बीएस ६ ओबीडी टू, कम्ब्याक्ट एडिसन, जेड एक्स डिस्क र भीएक्स ड्रम गरी चार भेरियन्ट बिक्री गरिरहेको छ । जसमा कम्ब्याट बीएस ६ ओबीडी टू भेरियन्टको मूल्य २ लाख ७४ हजार ९०० रुपैयाँ, कम्ब्याट एडिसनको २ लाख ७१ हजार ९०० रुपैयाँ, जेडएक्स डिस्कको २ लाख ६४ हजार ९०० रुपैयाँ र भीएक्स ड्रम भेरियन्टको मूल्य २ लाख ५४ हजार ९०० रुपैयाँ रहेको छ । हाल बजारमा किन्न पाइने ११० सीसीका दुई स्कुटर मध्ये पावरको तुलनामा डिओ स्टार्टिङ लन्चिङका रूपमा र जुम इनिसियलका रूपमा पावरफुल देखिन्छ । मूल्य भने लगभग उस्तै छ । हिरो जुम फिचर र टेक्नोलोजीका हिसाबले बढी अपग्रेटेड छ । स्कुटर बजारमा हिरो जुम नयाँ हो भने होण्डा डिओ स्थापित र पुरानो ब्राण्ड हो । The post नेपालमा उपलब्ध दुई मात्र ११० सीसीका स्कुटर, कुन उत्कृष्ट ? appeared first on Meroauto.