यी प्रदेशमा भारी वर्षाको सम्भावना - mahendranagarpost.com
काठमाडौं । देशका अधिकांश स्थानमा शुक्रबार (साउन १६) बेलुकायता पानी परिरहेको छ । शनिबार (साउन १७) केही स्थानमा ‘भारी’ वर्षा समेत भएको छ । अझै दुई यस्तै स्थिति रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “आज र भोलिसम्म मौसम यस्तै हुने देखिन्छ,” महाशाखाका मौसमविद् शान्ति कँडेलले भनिन् । आइतबार (साउन १८) कोसी र मधेस प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । वाग्मती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन् । ‘हल्का’देखि ‘मध्यम’ वर्षाको सम्भावना भने आइतबार र सोमबार (साउन १९) देशैभरि रहेको उनले बताइन् । “पर्सि (मंगलबार) वर्षाको सम्भावना केही कम देखिन्छ,” उनले भनिन् । आइतबार काठमाडौंमा पनि वर्षाको सम्भावना छ । काठमाडौंमा मध्यमसम्म वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन् । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अर्थात् नेपालनजिक रहेको मौसमविद् कँडेलले जानकारी दिइन् । कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने महाशाखाले जनाएको छ । कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ । The post यी प्रदेशमा भारी वर्षाको सम्भावना appeared first on MahendranagarPost.