Redirecting...

जेनजी अगुवा : केही चुनाव लड्दै, केही सडक संघर्षमा - bishwokhabar.com

जेनजी अगुवा : केही चुनाव लड्दै, केही सडक संघर्षमा - bishwokhabar.com
Source: bsbk

काठमाडौं– जेनजी आन्दोलनबाट उदाएका युवा हुन्- सुदन गुरुङ । २३ भदौमा उनी स्वयंसेवी ढंगले आन्दोलनमा जोडिएका थिए । आफू संस्थापक रहेको हामी नेपालबाट पानी वितरणमा खटिएका सुदनलाई अन्ततः आन्दोलनले नेता बनायो । तत्कालीन सरकार अपदस्त भएपछिको संक्रमणकालीन अवस्थामा उनी निर्णायक नै बने । प्रधानमन्त्री छान्नेदेखि मन्त्री खोज्ने काममा खटिएका गुरुङ अन्ततः रास्वपा, काठमाडौंका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई एकठाउँ ल्याउनसम्म सक्रिय देखिए । अहिले उनी रास्वपाबाट गोरखा-१ बाट प्रतिनिधि सभा निर्वाचन लड्दै छन् । अर्का जेनजी अगुवा बब्लु गुप्ता मन्त्री छाडेर सिराह-१ बाट चुनावमा होमिएका छन् । उनी अन्तरिम सरकारमा युवा तथा खेलकुदमन्त्री थिए । तर बालेन र रास्वपाबीचको एकता सहमतिदेखि नै उनी चुनाव लड्ने तयारीमा थिए । ५ माघमा बालेनसँगै जनकपुरबाट उनले रास्वपाको राजनीति अघि बढाए, जुन सभामा आन्दोलनका अर्का अगुवा पुरुषोत्तम यादव उद्घोषक थिए । उनी पनि रास्वपाको समानुपातिक सूचीमा छन् । आन्दोलनको अग्रमोर्चामा रहेर गोली लागेका घाइतेहरूलाई मोटरसाइकलबाट अस्पताल ओसार्ने किशोरी कार्कीले ओखलढुंगाबाट मनोनयन दर्ता गरेकी छन् । उनी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा छिन् । आन्दोलनका अगुवा शिव यादव र सहयोगी केपी खनाल पनि प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार बनेका छन् । त्यस्तै, पुरुषोत्तम यादव, अप्सना दानी, प्रकाश बोहरा, आकृति अवस्थी, मनीष खनालसहितका युवा समानुपातिक बन्द सूचीमा परेका छन् । कार्कीबाहेक अधिकांश जेनजी अगुवा रास्वपाबाट उम्मेदवारी दिएका छन् । जेनजी आन्दोलनले तत्कालीन कांग्रेस-एमालेको सत्ता मात्र ढालेन, राजनीतिमा नयाँ पुस्तालाई डो¥यायो पनि । सुरुका दिनमा आफ्नै दल खोलेर चुनावमा जाने तयारी पनि नभएको होइन । त्यसरी बनाइएका मोर्चा चुनावसम्म आइपुग्दा दलको आकार ग्रहण गर्न सकेनन् । पछिल्लो समय रास्वपा–बालेन र घिसिङ एकठाउँ उभिँदा जेनजी अगुवाहरूले त्यसको स्वागत गरे । रास्वपा वरिष्ठ नेता बालेनले उनीहरूसँग छुट्टाछुट्टै भेटघाट पनि गरे । तैपनि, आन्दोलनबाट उठेका केही अगुवा भने न समानुपातिक बन्दसूचीमा परे, न त प्रत्यक्ष निर्वाचनका लागि अघि सरे । आन्दोलनको रापताप रातारात चर्चामा आएका केही अनुहार चुनावमा देखिएन् । रक्षा बम, युजन राजभण्डारी, प्रदीप ज्ञवाली, माजिद अन्सारी, उपार्जुन चाम्लिङ, प्रवेश दाहाललगायत युवाहरूले २१ फागुनको निर्वाचनमा उम्मेदवारका रूपमा भाग लिएका छैनन् । एमालेनिकट अनेरास्ववियु छाडेर जेनजी आन्दोलनमा आएकी जस्मिन ओझा, भावना राउतलगायतका अगुवा पनि उम्मेदवार छैनन् । उनीहरूले आन्दोलनको मर्म र भावना समेटेर दलहरूले नवयुवालाई स्थापित गर्न खोजेकैमा चित्त बुझाएका छन् । जेनजी अगुवा रक्षा बमले राजनीतिमा जाने कि नजाने भन्ने व्यक्तिगत इच्छा भएको बताइन् । आफूलाई रास्वपा र कांग्रेसबाट प्रस्ताव आए पनि नगएको उनको दाबी छ । ‘केही राजनीतिक दलबाट चुनावमा लड्ने प्रस्ताव आए पनि स्वीकार गरिनँ,’ उनले भनिन्, ‘राजनीतिमा आउँदै गर्दा धेरै कुरा सम्झौता गर्नुपर्नेरहेछ । मैले त्यस्तो सम्झौता गर्न सकिनँ । अहिलेलाई म सडकमै बस्छु । आन्दोलनले उठाएका प्रश्नहरू जोगाइरहन्छु ।’ बमले दलविशेषमा सामेल भएर चुनाव लड्दा सडकको आवाज मर्ने र आन्दोलनको प्रश्न जीवित नहोला कि भन्ने प्रश्न बाँकी नै रहेको बताइन् । आन्दोलन सफल बनाउन अग्रभागमा रहेका जेनजीहरू निर्वाचनबाट बाहिर रहन नहुने अर्का अगुवा खेमराज साउद बताउँछन् । देश निर्माणको अभियानमा सँगै आउन आग्रह गर्दै उनले भने, ‘यो निर्वाचन देश निर्माणको अभियान हो । अभियानबाट आगामी पाँच वर्षको सरकार निर्माण गर्ने र आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सबै एकाकार हुुनै पर्छ ।’ आन्दोलनमै होमिएका कतिपय केही युवाहरू निर्वाचन हुनुहुँदैन भन्नेदेखि राजा चाहिन्छ भन्नेसम्मका माग राखेर सडकमै छन् । -पत्रपत्रिकाबाट