Redirecting...

हृदयेन्द्र शाहले फेसबुकमा राखे जुम्ला भ्रमणको अनुभव समेटिएको ‘न्यारेटिभ भिडियो’ - technologykhabar.com

हृदयेन्द्र शाहले फेसबुकमा राखे जुम्ला भ्रमणको अनुभव समेटिएको ‘न्यारेटिभ भिडियो’ - technologykhabar.com
Source: tckb

पूर्व राजा ज्ञानेन्द्र शाहका नाति तथा पारस शाह तथा हिमानी शाहका छोरा हृदयेन्द्र शाहले हालै आफ्नो फेसबुक पेजमा ह्याशट्याग जुम्ला राखेर १५ मिनेट २३ सेकेण्डको एउटा ‘भ्लग’ अपलोड गरेका छन्। गत जुलाई ३० अर्थात् साउन १४ गते बिहीबार बेलुका ८ बजेर २७ मिनेट जाँदा Hri B B Shah नाम रहेको उनको आफ्नै फेसबुक एकाउन्टमा अपलोड गरिएको भिडियोसँगै निम्न स्टाटस लेखिएको छ। ‘अ जर्नी टू द हार्टस्टेप इन्टु द अनटच्ड ब्युटी अफ जुम्ला एण्ड मीट द अमेजिङ पिपल हु कल इट होम। फील द स्पिरिट अफ नेपाल बियोण्ड द युजुअल पाथ्स-र:, रियल एण्ड अनफर्गेटेबल। थ्याङ्क यु जुम्ला फर योर वार्म्थ #jumla’ भिडियो निर्माण र उत्पादनको दक्ष टोलीले बनाएको जस्तो देखिने उक्त भिडियोमा जुम्ला फल्छ धान… भन्ने संगीतबिनाको जुम्ली भाकामा गाइएको गीत राखिएको छ जुन भिडियोका हिसाबले निकै सान्दर्भिक प्रतीत हुन्छ। जुम्ला फल्छ धान..को आवाजसँगै शुरु भएको भिडियोको पहिलो लङ शट दृश्यमा पूर्वयुवराज हृदयेन्द्र तिला नदिमा रहेको एउटा ठूलो ढुङ्गामा खुट्टा खसालेर बसिरहेको देखिन्छ भने बिस्तारै जुम आउट हुँदै गएपछि सामान्य शर्ट पाइन्ट लगाएका हृदयेन्द्रको क्लोजअप देखिन्छ जसमा उनको ‘अङ्रेजी न्यारेशन’ पनि शुरु हुन्छ। उनले आफू आज जुम्लामा रहेको र नेपालका थुप्रै ठाउँ अन्वेषणात्मक रहेकोमा जुम्ला पनि रहेको बताउँछन्। उनले बसेरै तिला नदिको बारेमा बताउँछन्। जुम इन, जूम आउट, लङ मिड, क्लोज अप शट, हाइ एङ्गल, लो एङ्गल लगायतका आधारभूत भिडियोग्राफीका तरिकाहरुका साथमा आवश्यक परेको ठाउँमा ड्रोनको पनि राम्रै प्रयोग गरेर भिडियोलाई प्राकृतिक र सिर्जनात्मक बनाइएको छ। न्वाइज क्यान्सलेशनमा ध्यान दिइएको छ भने ध्वनि तथा दृश्यको तालमेल र उत्कृष्ट नतिजाका लागि सम्पादनलगायतका पोस्ट प्रडक्शनमा राम्रै ध्यान दिइएको देखिन्छ। उनले शुरुमा एक युवकसँग कुरा गर्छन् जसले नेपाली भाषाको उद्गमस्थल सिंजा नै रहेको बताउँछन्। यस बाहेक उनले कर्णालीका रारा, शे फोक्सुण्डो लगायतका प्राकृतिक सम्पदा र विशेषगरी स्याउको उत्पादन हुनेबारे चर्चा गर्छन् जसमा शाह निकै उत्सुक भएर सुनिरहेको देखिन्छ। सडकको विकास भएमा कर्णालीले पर्यटनमा पनि फड्को मार्ने ती युवकले बताउँछन्। उनले त्यसो भन्दै गर्दा दृश्यमा भने पहरामा बनेको कच्ची धुलाम्मे बाटोको ड्रोन शट देखिन्छ। बिस्तारै ड्रोन शट एउटा विशाल स्याउ फार्मतिरको देखिन्छ र पृष्ठभूमिमा अर्का एक व्यक्ति उक्त फार्मको शुरुवातबारे बताउँदै गरेको सुनिन्छ। उनका अनुसार जुम्लामा मात्र नभई कर्णालीमा नै स्याउ खेती फैलाउने उद्देश्यले उक्त फार्म २०२४ सालमा स्थापना गरिएको हो। नेपालको सम्पूर्ण स्याउमध्ये ८० प्रतिशतभन्दा बढी यही फार्मबाट उत्पादन हुने उनले सुनाउँदै गर्दा शाहको अगाडि थालभरी स्थानीय ओखर राखेको देखिन्छ र कुराकानीका क्रममा शाहले ओखर खाएर सांकेतिक प्रतिक्रिया दिएको समेत देखिन्छ। यसपछि भने बजारतिरको क्याण्डिड शट फास्ट फर्वार्ड गरिएको देख्न सकिन्छ। उक्त शटको अन्तिमतिर शाह बाटोमा हिँड्दै एउटा कफी पसलमा छिर्छन् र कफी मगाउँछन्। काठमाडौंबाट यहाँ आएर कफी शप र बेकरी चलाइरहेका ती युवा साहुजीसँग दोहोरो कुराकानी गर्दै उनले साहुजीको आग्रहमा उनले बनाएको स्थानीय चिजयुक्त चिज केक पनि चाख्छन् र सकारात्मक प्रतिक्रियासमेत दिन्छन्। उनी बोलीचाली र व्यवहारमा नम्र देखिन्छन् तर कुराकानीका क्रममा हाँस्दा भने प्राकृतिक देखाउने धुनमा हो वा अपरिपक्वताको कारण हो त्यो हाँसो सकारात्मक भन्दा पनि अलिक व्यङ्ग्यात्मक जस्तो देखिन्छ। ती साहुजीले शाहलाई घुम्न जाने ठाउँहरुबारे बताउँदै कर्णाली प्राविधिक शिक्षालयबारे बताउँछन् र आफू पनि काठमाडौंबाट फर्केपछि सोही विद्यालयमा पढेको सुनाउने क्रममा दृश्यमा भने उक्त शिक्षालय क्षेत्रको ड्रोन शट देख्न सकिन्छ। त्यसपछि उनी कर्णाली प्राविधिक शिक्षालयमा पुग्छन् जहाँ उनलाई उक्त शिक्षालयमा सिभिल इञ्जिनीयरिङ गरिरहेका युवाले उक्त शिक्षालय घुमाउँदै त्यहाँको संकाय तथा पढाई हुने विविध विषयमा जानकारी दिन्छन्। उनका अनुसार प्राविधिक क्षेत्रमा सरकारी जागिर खाने नेपालकै सबैभन्दा बढी कर्मचारीहरु कर्णाली प्राविधिक शिक्षालयकै उत्पादन हुन्। त्यसपछि स्थानीय पञ्चेबाजा र स्थानीय बाजाको टोली देखिन्छ र पर गुम्बा देखिन्छ जहाँ शाहले घुमेर आएको र उक्त ठाउँबाट जुम्लाको धेरै भाग देखिने उनले बताउँछन्। यसबाहेक परको टेलिफोन टावरको जिकीर गर्छन् जुन जुम्लामा टेलिफोन सञ्चालनका लागि राखिएको हो। उनले सबैलाई जुम्ला घुम्न आउन पनि आग्रह गर्छन्। गुम्बाको माने घुमाउँदै गर्दा एउटी युवतीले उनलाई नमस्कार र स्वागत गर्छिन्। ती युवती हुन् पञ्चकली बुढा जसले गाएको जुम्ला फल्छ धान भन्ने गीत भिडियोकै पार्श्व गीतका रुपमा रहेको छ। उनले विमानमा आउँदा हल्लाएको बारे सोध्दै जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान देखाउँछिन्। उनका अनुसार कर्णालीका धेरै जिल्लाबाट मानिसहरु उक्त प्रतिष्ठानमा उपचार गराउन आउँछन्। त्यसपछि परको डाँडामा रहेको टावर देखाउँदै जुम्लाभरी इन्टरनेट बाँड्न राखिएको उनी बताउँछिन्। त्यसपछि काञ्जिरोवा हिमाल हिमाल देखाउँदै त्यहाँबाट एउटा हिमाल मात्र देखिने भए पनि त्यही ठाउँबाट रारा ताल, डाँफे लेक तथा डोल्पा जान सकिने उनी बताउँछिन्। यसो भन्दै उनले एउटा गीत गाउने अनुमति माग्छिन् र हुन्छ भनेपछि आफ्नै शब्द रचनामा स्थानीय भाकामा जुम्ला फल्छ धान…भन्ने गीत गाउँछिन्। सोही गीत अन्त्यमा पूरै भिडियोको शीर्ष गीत बन्न जान्छ। तर भिडियोमा भने भेटघाटका क्रममा गाएको स्वर नराखी रेकर्ड गरेर स्टुडियो इफेक्ट दिइएको गीत राखिएको छ। गीत बज्दै गर्दा जुम्लाका हरिया धान फाँट देखाइन्छ। पारीपट्टीको कच्चीबाटोमा एउटा मोटरसाइकल गडेको देखिन्छ। पहरामा खनिएको बाटो, स्थानीयहरुऽ दैनिकी, डोको बोकेर हिँडिरहेका महिला आदि सबै गीतसँगै आइरहन्छन्। अन्त्यमा बुढाले गीतबारे प्रतिक्रिया माग्दै जुम्लाका सबै ठाउँ घुमेर जान आग्रह गर्छिन्। शाह गोजीबाट मोबाइल निकालेर फोटो खिच्न थाल्छन्। उनी देश कहिले समृद्ध होला? भनेर सोध्छिन्। शाह भन्छन्, ‘सबैले मिलेर सही काम गरे एक दिन अवश्य होला। हामीले पनि आ आफ्नो ठाउँबाट गर्नुपर्यो। आँट गर्नुपर्यो।’ उनको अर्को प्रश्न पनि सटिक थियो। उनले शाहला२ नेपालमा फर्कने कि अमेरिकामै बस्ने भन्ने उनको सोधाईमा शाहले आफू स्नातक पढ्न गएको र सकिएपछि नेपाल नै फर्कने बताउँछन्। उनले चन्दननाथ मन्दिर देखाउँदै पर्यटकहरुको गन्तव्य रहेको बताउँछिन्। उनीहरु बसेर कुरा गरेको चैत्यलाई डुडुल चैत्य भनिने र अझै केही रङ्गरोगन र निर्माण बाँकी रहेको उनी सुनाउँछिन्। त्यसपछि उनी नमस्ते गरेर औपचारिक रुपमा छुट्टिन्छन् र बुढासहित स्थानीय युवाहरुसँग फोटो खिचाउँछन्। त्यसलगत्तै एक हुल स्थानीय महिलाहरे स्थानीय भाकामा गीत गाउँदै हातमा फूल दिएर स्वागत गर्छन् र शाहले त्यसलाई आदर्पूर्वक लिएर नम्रताका साथ नमस्कार गर्दै धन्यवाद दिन्छन्। गीतका क्रममा महिलाहरुको हाउभाउ र सदाशयता देख्दा उनी पुलकित देखिन्छन्। त्यसपछि हरिया फाँट बस्ती नदिसहितको समग्र ड्रोन शट अघि बढ्छ। त्यसैक्रममा शाहको न्यारेशन पनि आउँछ जसमा उनले आफ्नो जुम्ला भ्रमण पहिलो भएको बताउँदै फेरि फेरि आउन अपेक्षा व्यक्त गर्छन्। पार्श्व गीतसँगै जुम्लाको मनमोहक दृश्य समेटिएको ड्रोन शटसँगै भिडियो अन्त्य हुन्छ। यो समाचार बनाउन्जेल उनको आधिकारिक फेसबुक एकाउन्टमा उक्त भिडियोले १७ हजार लाइक, १ हजार ३ सय कमेन्ट तथा ३ हजार २ सय शेयर पाएको देखिन्छ। उक्त भिडियो युट्युबमा भने आधिकारिक रुपमा अपलवड भएको भेटिएन तर शाहको फेसबुकबाट तानेर आफ्ना युट्युब च्यानलमा राख्नेहरु भने थुप्रै भेटिएका छन्। सो भ्लगले हाल निकै चर्चा पाएको छ। उक्त भ्लग सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा त्यसको विरोध र समर्थन गर्नेहरुसमेत देखिएका छन्। The post हृदयेन्द्र शाहले फेसबुकमा राखे जुम्ला भ्रमणको अनुभव समेटिएको ‘न्यारेटिभ भिडियो’ appeared first on Technology Khabar.