एमाले ११औँ महाधिवेशन: ओली र पोखरेलले दिए अध्यक्षमा उम्मेदवारी - www.nepalclicks.com
काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तेस्रो कार्यकालका लागि मनोनयन दर्ता गराएका छन्। उनको विपक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौँको भृकुटीमण्डपस्थित महाधिवेशनस्थिल पुगेर सोमबार अपरान्ह पोखरेलले उम्मेदवारी दर्ता गराएका थिए। त्यसको केही समयपछि ओलीले उम्मेदवारी दिएर महाधिवेशनस्थलबाट फर्किएका छन्। उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज बेलुका ६ बजे हुने निर्वाचन कार्यतालिका रहेको छ। त्यसअघि मतदाता नामावलीउपर दाबी विरोध, मतदाता नामावलीउपर परेको दाबी विरोधको सूचना प्रकाशन, दाबी विरोधउपर छानबिन र निर्णय, अन्तिम मतदाता नामावली प्रकाशन, उम्मेदवारको दरखास्त फाराम वितरण, उम्मेदवारको दरखास्त फाराम दर्ता, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, उम्मेदवारको विरोधमा उजुरी दिने, उजुरीउपर छानबिन र निर्णय, उम्मेदवारको नाम फिर्ता गर्ने कार्यतालिका रहेको छ। एमालेको निर्वाचन आयोगले सार्वजनिक गरेको महाधिवेशनसम्बन्धी कार्यतालिकाअनुसार मंगलबार मतदान गर्ने कार्यक्रम रहेको छ।