Redirecting...

हर्क र रविबीच चुनावी भिड्न्ता हुँदा पुराना दललाई हुनसक्छ फाइदा - bishwokhabar.com

हर्क र रविबीच चुनावी भिड्न्ता हुँदा पुराना दललाई हुनसक्छ फाइदा - bishwokhabar.com
Source: bsbk

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा बालेन शाहदेखि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसमेत प्रवेश गरिसकेका छन् । उनीहरूको मिलनले केन्द्रीय राजनीतिमा तहल्का मच्चाउँदा कोशी प्रदेशमा भने हर्क साम्पाङको क्रेज छुट्टै छ । कुलमानसँगै विगतमा प्रदेश १ पुनः नामकरण संघर्ष समितिका नेताहरू पनि रास्वपामा गएका छन् । समितिका संयोजक डकेन्द्रसिंह थेगिमदेखि डाक्टर महेन्द्र लावतीसम्म रास्वपामा सामेल भएका छन् । सङ्घीयता र पहिचानको विषयलाई स्वीकार गरेर अघि बढ्ने प्रतिवद्धता रास्वपाले जनाएपछि आफूहरू एकमत भएर अघि बढ्ने सहमति जुटेको बताइएको छ । तर, रास्वपाका लागि उनीहरूको मिलनमात्रै कोशी प्रदेशमा पर्याप्त छैन भन्ने स्पष्ट देखिँदै आएको छ । एकल ढङ्गले श्रम संस्कृति पार्टी निर्माण गरेर देश दौडाहामा रहेका धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले उनीहरूलाई नै चुनौती दिइरहेका छन् । साम्पाङले रास्वपाका नेताहरू रवि, बालेन र कुलमानलाई लक्षित गर्दै सहकारी ठग, सिंहदरबार जलाउने र एमसीसीको मतियार भन्दै चुनौती दिइरहेका छन् । नेपालका परम्परागत राजनीतिक शक्तिहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको चुनौती धान्नुपर्ने दबाबका बिच रास्वपाका लागि कोशी प्रदेशमा हर्क साम्पाङ अर्को चुनौती बनेको धेरैले बताउँछन् । राजनीतिक विश्लेषक भवानी बराल रास्वपा र हर्क साम्पाङको श्रम संस्कृति पार्टीबिच नै आरोप प्रत्यारोप हुँदा पुरानालाई नै स्वाभाविक नाफा हुने राजनीतिक विश्लेषकहरु बताउँछन् । राजनीतिक विश्लेषकका अनुसार रास्वपामा पहिचानवादी नेताहरूको प्रवेश गम्भीर गल्ती हुनसक्छ । कम्पासविनाको पहिचानको जहाज लिएर हिँड्दा बर्मुडा खाडीमा जाकिन बेर छैन । राजनीतिक विश्लेषकका अनुसार नयाँ र पुराना भन्ने भाष्य नै गलत हो । अहिले नयाँ भनिएकाहरू र पुरानामा कुनै अन्तर रहेन । नेपालको राजनीतिमा अहिले विचारधारा र एजेन्डा सिद्धिएको छ । ०६४ सालतिर मान्छेहरू होरे होमा लागेर माओवादीतिर कुदे, ७० को दशकमा ओलीलाई राष्ट्रवादी भनेर ठुलो बनाइदिए । अहिले रास्वपाको लहर चलेको छ । यो लहरको केन्द्र रास्वपा नभएर बालेन वा कुलमानहरूले आँट गरेको भए अर्को केन्द्र पनि बन्न सक्थ्यो । कुलमान घिसिङ टिकेनन्, उनको आत्मविश्वास नै कम देखियो । एक–दुई दिनमै उनले लत्तो छाडिदिए । नयाँ पनि कुनै गतिला देखिँदैनन्, पुराना पनि कुनै गतिला छैनन् । सहकारी ठगलाई नेता मानेर हिँड्नेहरू, नो नट अगेन भनेर पुरानैसँग सरकार बनाउनेहरू, जेल ब्रेक गर्नेहरूलाई आदर्श मान्नेहरूबाट के आशा गर्ने ? सबैको चरित्र एउटै देखिएको र जसलाई जताबाट हुन्छ छिटो सत्तामा पुग्न पाए, चुनाव जित्न पाए हुन्थ्यो भन्नेमात्र स्वार्थ रहेको राजनीतिक विश्लेषकहरु बताउँछन् । साम्पाङको श्रम संस्कृति पार्टीले कोशी प्रदेशका १४ वटै जिल्लामा सार्वजनिक सभाहरू गरिरहेको छ । त्यसको तुलनामा रास्वपाको गतिविधि देखिँदैन । बरु पुराना पार्टीहरूकै गतिविधि बढिरहेको छ । हर्क साम्पाङ सहभागी पहाडी भूगोलका कार्यक्रममा ठुलो जनसहभागिता जुट्नुले पुराना दलहरूको संगठनलाई साँच्चै चुनौती दिएको पुष्टि गर्छ । साम्पाङको प्रभाव केवल धरान वा तराईमा मात्र सीमित नभएर पूर्वी पहाडी जिल्लाहरू धनकुटा, तेह्रथुम, सङ्खुवासभा, इलाम, पाँचथर, ताप्लेजुङको कुना–कन्दरासम्म विस्तार भइसकेको देखिन्छ । साम्पाङको यो अभियानले पूर्वका ठुला दलहरू एमाले, कांग्रेस र माओवादीलाई मात्रै होइन, नयाँ भनिएकाहरूलाई पनि चुनौती बन्ने निश्चित भएको छ । हर्क साम्पाङको उदय र अभियानले आगामी निर्वाचनमा परम्परागत नतिजा उल्ट्याउन सक्ने संकेत गरेको राजनीतिक विश्लेषकहरुको भनाई छ । । विश्लेषकका अनुसार कोशी प्रदेशको विभिन्न ठाउँमा साम्पाङको अभियान राम्रै देखिएको छ । यसपटक मतदाता कुनै पार्टीप्रति पनि प्रतिबद्ध भएर, यो यसको गढ हो भनेर बस्ने अवस्था छैन । मतदाता कतै पनि जान सक्ने अवस्था छ अहिलेको समयमा ।