बैंकलाई गैरबैंकिङ सम्पत्तिको बोझ घट्यो, शतप्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था पनि हट्यो - www.nepalclicks.com
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकहरूले गैरबैंकिङ सम्पत्ति (एनबीए) बुक गरेपछि शतप्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था हटाएको छ। केन्द्रीय बैंकले सोमबार बैंक तथा वित्तीय संस्थालाई सर्कुलर जारी गर्दै यस्तो व्यवस्था गरेको हो। त्यस्तै, राष्ट्र बैंकले ऋणीको धितो बैंक स्वयंले सकार्ने व्यवस्थामा कडाइ गरेको छ। केन्द्रीय बैंकले तीन पटकसम्म धितो लिलाम गर्दा पनि बिक्री नभएमा मात्र बैंक आफैंले धितो सकार गर्नुपर्ने व्यवस्था गरेको छ। यसअघि दुई पटक लिलामपछि नै बैंकले उक्त धितो गैरबैंकिङ सम्पत्तिका रूपमा आफैंले सकार्नुपर्ने व्यवस्था थियो। अब भने कम्तीमा तीन पटकसम्म धितो लिलाम प्रक्रिया पूरा गर्दा समेत बिक्री नभएको खण्डमा मात्र बैंकले आफैंले सकार गर्न पाउने भएका छन्। केन्द्रीय बैंकले गैरबैकिङ सम्पत्ति व्यवस्थापन गर्न एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गर्दैछ । बैंकहरुले दुई खर्ब ७० अर्ब रुपैयाँ बढी प्रोभिजन गरेका छन्। जसले गर्दा बैंकहरुको नाफामा असर परेको छ।