कम्युनिष्ट पार्टीमा अस्थिरता असाध्यै धेरै भयाे, खेलोफड्को भइराखेको छ : प्रधानमन्त्री ओली - janatatimes.com
ललितपुर, १७ साउन । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीमा अस्थिरता असाध्यै धेरै भएको र खेलोफड्को भइरहेको बताउनुभएको छ । शनिबार नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २८ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले २००८ सालमा पुष्पलाललाई पार्टीको नेतृत्व गर्न नदिइएको बताउनुभयो । उहाँलाई ००८ सालमै हराइएको ओलीले टिप्पणी गर्नुभयो । उहाँले पुष्पलाल महासचिव बन्न नसक्दा ठीक ढङ्गले पार्टी सञ्चालन हुन नसकेको बताउनुभयो । ‘२०१० सालको पहिलो महाधिवेशनमा होइन कि भित्री रुपमा महासचिवमा पुष्पलाललाई २००८ सालमै हराइयो र, मनमोहनजी महासचिव हुनुभो, त्यो प्रकारको उतारचढावले कम्युनिष्ट आन्दोलन राम्ररी ठीक ढङ्गले अगाडि बढ्न सकिरहेको थिएन,’ ओलीले भन्नुभयो , ‘तर पनि आन्दोलन फेरि पनि आफ्नो अस्तित्वमा सशक्त रुपमा छँदै थियो ।’ एमाले पार्टी निर्माण गर्न विभिन्न नेताले पुर्याएको योगदानको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभयो । ‘यसमा विभिन्न नेताहरुले योगदान गर्नुभएको छ, जसमा तुलसीलाल टाढैबाट देखिने खाल्को व्यक्तित्व, स्पष्ट देखिने खाल्को आफ्नै प्रकारको योगदान भएको व्यक्तिको रुपमा उहाँको योगदान थियो, त्यसैले उहाँलाई आज हामीले स्मरण गरिरहेका छौँ, सम्मान गरिरहेका छौँ’, उहाँले भन्नुभयाे । कार्यकर्ता माझ ओलीले अग्रज र उनीहरुको आदर्शबाट प्रेरणा लिनुपर्ने बताउनुभयो । नेताहरुले एक प्रसङ्गमा भनेका कुरा अर्को प्रसङ्गमा गएर लागू भएको उल्लेख गर्दै ओलीले पुष्पलालले संयुक्त जनान्दोलनको नीति राखेको बताउनुभयो । ‘त्यो नीति २०४६ सालमा आइपुग्दाखेरि मदन भण्डारीको अगुवाइमा हाम्रो पार्टीले कार्यान्वयन गर्यो, त्यही विघटित संसदको पुनर्स्थापनाको कुरा पुष्पलाल, तुलसीलालहरुले राख्नु भएको थियो, या संविधान सभाको कुरा ०१४ सालमा राख्नु भएको थियो, यो कुरा ०७२ सालमा आएर कम्प्लिट भयो’,ओलीले भन्नुभयो । उहाँले थप्नुभयो, ‘उहिले तुलसीलालले राजाले जनतालाई अधिकार सुम्पिनु पर्दछ भनेको कुरा २०६२/०६३ मा हुन गयो, संविधान सभाबाट गणतन्त्र ल्याउनुपर्छ भन्ने तुलसीलालका भनाइहरु त्यतिबेला सम्भव थिएन् तर एउटा समयमा आएर त्यही कुरा लिएर आयौँ, उहाँहरुको केही भिजन नभएको होइन असाधारण भिजन थियो, देशको राजनीतिक परिवर्तन, आर्थिक परिवर्तन कसरी अगाडि बढ्छ भन्ने सम्बन्धि असाधारण भिजन उहाँहरुमा थियो ।’ पुष्पलाल र तुलसीलालका कतिपय भिजनहरु जीवनकालपछि पूरा भएको बताउँदै अध्यक्ष ओलीले अरु कतिपय अग्रजहरुका सपना आफ्ना जीवनकालपछि पूरा भएको बताउनुभयो । ओलीले भन्नुभयाे, ‘जुन सपना पूरा हुन बाँकी छन् ती सपना पूरा गर्ने अभिभारा हाम्रो काँधमा छ ।’