एमाले महाधिवेशन : भृकुटीमण्डपको टेन्टमुनि बन्दसत्र, प्रदर्शनी हलमा खानपान - bishwokhabar.com
काठमाडौं– नेकपा एमालेको बन्दसत्रका लागि भृकुटीमण्डपको खुला चौरमा टेन्ट राखेर हल बनाइएको छ। प्रदर्शनी कक्षको हलमा भने खानपानको व्यवस्था मिलाइएको छ। उदघाटन समारोहको मञ्च र बन्द सत्रको हल व्यवस्थापनको जिम्मा लिएका विनोद श्रेष्ठले हलमा २ हजार २६२ प्रतिनिधिहरु अट्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए । टेन्ट मुनि बनाएको हलमा शीर्ष नेताहरु बस्नका लागि मञ्च बनाएर सोफा राखिएको छ। प्रतिनिधिहरू बस्नका लागि तल कार्पेट ओछ्याएर प्लास्टिकका कुर्सीहरू राखिएको छ । साउन्ड सिस्टम, बिजुली बत्ती जडान लगायतका काम शनिबार राति अबेरसम्म जारी थियो। श्रेष्ठले भृकुटीमण्डपको मुख्य प्रदर्शनी कक्षमा भने प्रतिनिधिहरूका लागि खाने व्यवस्था मिलाइएको जानकारी दिए। त्यहाँ राउण्ड टेबल र कुर्सीहरू राखिएको छ। महाधिवेशन लम्बिए पनि त्यसका लागि समेत आवश्यक प्रबन्ध मिलाइएको छ। हिजो भक्तपुरको सल्लाघारीमा महाधिवेशन औपचारिक उदघाटन गरेको एमालेले नेतृत्व चयनका लागि बन्दसत्र सुरु गर्न लागेको हो। बन्दसत्र बिहान आठ बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु गर्ने तयारी छ। त्यहाँ प्रतिनिधिहिरु पुग्ने क्रम जारी छ। विधान महाधिवेशन गत भदौमै सम्पन्न गरिसकेकाले आजबाट एमाले नेतृत्व चयन प्रक्रियामा प्रवेश गर्नेछ । नेतृत्वमा हालका अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल दाबेदार छन्। सकेसम्म सहमतिमा, सहमति नभए मतदान प्रक्रियामार्फत् भए पनि नेतृत्व चयन गर्ने एमालेको तयारी छ । मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेले जनाएको छ। बन्दसत्रमा २ हजार २६२ जना प्रतिनिधिहरू सहभागी हुँदैछन्। उनीहरुले एक अध्यक्ष, एक महासचिव, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् ।