विपन्न सुत्केरी र गर्भवतीलाई लहानको ‘पोषण उपहार’ - nagariknews.nagariknetwork.com
सिराहाको लहान नगरपालिकाले सञ्चालन गरेको सुत्केरी तथा गर्भवती पोषण कार्यक्रमबाट तीन वर्षको अवधिमा करिब तीन हजार विपन्न महिला लाभान्वित भएका छन्।नगरपालिकाले २४ वटै वडाका वपन्न गर्भवती तथा सुत्केरीलाई लक्षित गरी सञ्चालन गरेको यस अभियानले निम्न वर्गीय महिलाको स्वास्थ्य सुधारमा टेवा पुर्याएको हो।नगरपालिकाले हरेक महिनाको २२ गते एकमुष्ठ रूपमा वडा-वडामा पुगी पोषण सामग्री वितरण गर्दै आएको छ।स्थानीय तहको निर्वाचनका बेला जनतासँग गरिएको प्रतिबद्धता अनुसार भविष्यमा जन्मिने बच्चा र आमा स्वस्थ हुन् भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको नगर प्रमुख महेश प्रसाद चौधरीले बताए।नगरपालिकाले पोषण प्याकेज पाउनका लागि स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गराउनुपर्ने बाध्यात्मक र प्रोत्साहनमूलक नीति लिएको छ। जसका कारण विगतमा स्वास्थ्य संस्था नजाने गर्भवतीहरू पनि अहिले नियमित चेकजाँचमा आउन थालेका छन्।नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीले भने, ‘विगतमा गर्भवतीले स्वास्थ्य संस्थामा पुगेर गर्भ जाँच गराउने चलन कम थियो। तर, पोषण कार्यक्रमसँगै चेतना र उत्सुकता बढेपछि पछिल्ला तीन वर्षमा नियमित जाँच गराउने दलित तथा विपन्न समुदायका महिलाको संख्यामा उल्लेख्य वृद्धि भएको छ।’महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई तालिम दिएर गाउँबस्तीमा परिचालन गरिएकाले पनि स्वास्थ्य संस्थामा पहुँच बढेको शाखा प्रमुख चौधरीको भनाइ छ।लहान–२३ गाढाकी महिला स्वयंसेविका पशुपतिदेवी शर्माले आर्थिक रूपमा विपन्न महिलाहरूका लागि नगरपालिकाको यो प्याकेज ‘वरदान’ साबित भएको बताइन्।‘गर्भमा बच्चा भएपछि सामान्य खानपानले मात्र पुग्दैन, तर आर्थिक अभावका कारण पोषिलो खानेकुरा जोहो गर्न नसक्नेहरूलाई नगरपालिकाको प्याकेजले ठूलो राहत दिएको छ,’ उनले भनिन्, ‘यसले विपन्न परिवारको चिन्ता दूर गरेको छ।’अभियानलाई निरन्तरता दिने क्रममा मंगलबार लहान–२३, गाढाका १०५ जना गर्भवती तथा सुत्केरीलाई पोषण प्याकेज वितरण गरिएको छ।प्याकेजमा चामल, दाल, नुन, तेल, चना, मटर, सोयाबिन लगायतका पौष्टिक आहार समावेश छन्।सामग्री वितरण गर्दै नगर प्रमुख चौधरीले भने, ‘मापदण्डअनुसार गर्भ जाँच गरेमा आमा र नवजात शिशुको स्वास्थ्य राम्रो हुन्छ। मातृ तथा बाल मृत्युदर घटाउन र पोषणको सुनिश्चितता गर्न यो अभियान कोसेढुंगा साबित भइरहेको छ।’आगामी दिनमा यो कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी बनाइने नगर प्रमुख चौधरीले प्रतिबद्धता जनाएका छन्।सुत्केरी अवस्थामा पोषिलो खानेकुरा नपाउँदा हुने जोखिम न्यूनीकरण गर्न थोरै भए पनि सहयोग पुगोस् भनेर कार्यक्रम चलाइएको नगरपालिकाले जनाएको छ।