ऋजन मायालुका मायालु कविता - sahityapost.com
“घुम्ती बिक्रीमा छ” कवि ऋजन मायालुको नवीन कृति हो । जुन मैले हालसालै पढिसकेँ । ऋजन मायालु इलाममा बसेर निरन्तर कविता कर्म गरिरहेका कवि हुन् । यस अघि उनको “चुचुरो अनि स्वास्नी मान्छेहरू” भन्ने कविता सङ्ग्रह पनि प्रकाशित भएको छ । “घुम्ती बिक्रीमा छ” सङ्ग्रह मैले हालसालै दोस्रो पटक पढिसकेँ र केही लेखौँ लागेको छ । करिब ६० वटा भन्दा बढी कविताहरू सङ्ग्रहित यस सङ्ग्रहमा अधिकांश कविताहरू आयातनले छोटा छन् । कविता छोटा भए पनि तिख्खर छन् । व्यक्तिको भावनात्मक पक्ष उनको कविताको केन्द्रमा छ । यस मानेमा उनका अधिकांश कविता कोमल छन् । रगत तताउने भन्दा पनि हृदय छुने प्रकारका छन् । उसो त कवितामा कविको व्यक्तित्वले प्रभाव राख्ने भएकाले पनि हुन सक्छ, उनको शान्त र कोमल स्वभाव गज्जबले कवितामा आएको छ । थोरै कवितामा मात्र आक्रोश र विद्रोही भाव छन् । उनका अधिकांश कवितामा यादहरूको पुनरावृत्ति छ । थुप्रै प्रसङ्ग अनुभुतिका सम्झनामाथि लेखिएका छन् । यसो हुँदैमा उनका कविताहरू के चरम निराशावादी छन् त ? वैराज्ञ मात्रै छ त ? मलाई त्यसो पनि लागेन । उनका कवितामा आफूले अनुभूत गरेका कुरामाथि इमान्दार कन्फेसन छ । अलि समय अघि हामी भेटेका थियौँ । भेट हुँदा हामी खुलेर गफिन्छौँ । गफकै दौरान मैले उनलाई, “तँपाईंका सङ्ग्रहका कवितामा त यादहरूको पुनरावृत्ति खुब रहेछ नि ?” भनेर प्रश्न गरेको थिएँ । उनले मेरो प्रश्नको उत्तर दिँदै भनेका थिए “मलाई यादहरू माथि लेख्न मनपर्छ । मान्छेको जीवन भन्नु सम्झना त हो नि हौ । कुनै दिन सम्झेरै दिनहरू कटाउनु पर्नेछ । यसैले कवि जी, म यादहरू माथि लेख्न रुचाउँछु ।” तीता–मीठा सम्झनाका पाइतालाका डोबहरू मात्र बाँकी रह्यो (भेट, पृष्ठ ११) हो नाफा ज्यादै प्रिय हुँदो रहेछ मैले नाफामा तिम्रो याद कमाएछु । (नाफा, पृष्ठ २२) रित्तो भएर पनि तिम्रै यादहरूको थुप्रोले भरिन पुगेँ । (मानो, पृष्ठ ३०) एक दिन, त्यही मान्छे बिलाउँछ शून्यमा जसरी बिलाउँछन् बिस्तारै उसका यादहरू तब, माटोको हुन्छ– मान्छे । (मान्छे–२, पृष्ठ ३६) धेरै कविताहरू प्रेमका छन् । प्रेममाथि लेखिएका कविताहरू बढो कोमल र सुन्दर छन् । विषयवस्तु एउटै भएका कवितामा कविका फरक फरक अनुभूति, दृष्टिकोण र शैली हुनु सुन्दर कुरो हो भन्ने मलाई लाग्दछ । कवितामा भावनात्मक पक्ष र प्रेम हाबी छ भनिरहँदा तपाईं तथा अन्य पाठकलाई, “कविले आफू बाँचेको समयलाई कवितामा लेखेका रहेनछन्” भन्ने सोच आयो होला है ? यदि यस्तो सोचिरहनु भएको छ भने नसोच्नु होला । उनले कवितामा आफूले बाँचेको समय छुटाएका छैनन् । कवितामा पाठकको रगत उमाल्ने आक्रोश छैन तर वर्तमान समयको गहिरो चिन्तन पक्कै छ । वर्तमान समयको कुरुप अनुहारहरूको स्केच कवितामा मज्जाले पाउन सकिन्छ । खोल्दै नखोल्नू खोलिए तिमी आत्तिन सक्छौ हर्ट–अट्याक आउन सक्छ तिमीलाई त्यो बन्द खामभित्र लुकिबसेको पनि हुनसक्छ– वर्तमान देशको नक्सा । (बन्द खाम, पृष्ठ १२) म प्रतिमा हुँ म शानसँग उभिएको छु हो….. मसानसँग उभिएको छु । (शहीद–१, पृष्ठ ३७) श्रम र श्रमिक माथि लेखिएका कविताहरू पनि निक्कै अब्बल छन् । श्रम र श्रमिक माथिको अन्याय, विभेद विरुद्दमा पनि कविताहरू आएका छन् । भोक, तिर्खा र डर मिसाएर बनाइसकेपछि बारुद शासक कुटिल मुस्कान मुस्कुरायो म त नाथे मजदुर न हुँ तैपनि, मतिरै नाल तेर्साएर राखिएको थियो एक थान बन्दुक । (मजदुर) हामी सबै चिया पिउँछौ । चिया नपिउने बिरलै छौँ होला । जाडोमा होस् या गर्मीमा, चिया सदावहार उपभोग्य वस्तुका रूपमा हाम्रो किचन किचनमा हुन्छ नै । तर हामी कतिलाई चियाको अन्तरकथा थाहा छ ? हामी कतिले चिया उमार्ने हातबारे सोचेका छौँ ? चियाका बुट्यानका सुन्दरता बारे त गीत र कविताहरू थुप्रै लेखिएकै छन् तर चियाको जरामा सिञ्चित आँसु र पसिना बारे कतिले कविता लेखेका छौँ ? कतिले चिन्तन गरेका छौँ ? कतिले गम्भीरता व्यक्त गरेका छौँ ? यी तमाम प्रश्नहरूको उत्तर हामीसँग शायद बिरलै होला । चियाका बुट्यानका सुन्दरताले छोपिदिएका आँसुका कथाहरू हामीलाई शायदै थाहा होला । चिया उत्पादन संवेदनशील विषय जस्तो नलागे पनि यो संवेदनशील विषय पक्कै हो । यति संवेदनशील विषय कविले छुटाएका छैनन् । कविले चियाका दु:ख माथि गहन र शक्तिशाली कविता लेखेका छन् । मेरा लागि चियादु:खमाथि लेखिएको “पोक्ची दिदीको कथा” मास्टरपिस कविता हो । चियाको बुट्यान काँटछाँट गरे जस्तो उनले आफ्नो दुःखलाई काँटछाँट गर्न सकिनन् छासेर सुन्दर बनाएजस्तो चियाको बोट पिरलाई छासेर जिन्दगी सहज बनाउन सकिनन् चियाका बोट कहिल्यै नदेखेका मालिक मोटाए पोक्ची दिदी पीडाको जन्जालबाट कहिल्यै बाहिर निस्कन सकिनन् (पोक्ची दिदीको कथा, पृष्ठ ४४) यो सुन्दर कविता पुस्तकमा आउनु अघिनै कुनै कार्यक्रममा कविले वाचन गरेका थिए । कविता त्यतिबेलै शक्तिशाली लागेको थियो । त्यतिबेलै सोच्न बाध्य बनाएको थियो । चियाका बुट्यानले छोपेका दुःखको महाआख्यान पटक पटक इलाम पुग्ने सर्जकहरूले किन देखेनन् ? हामीले देख्नैपर्ने तर बुट्यानहरूले छेलिदिएका दुःख, अन्याय र पीडाका कथा कति होलान् ? म त्यतिबेलै सोचमग्न भएको थिएँ । यो शक्तिशाली कविताका लागि कविलाई बधाई । “पुछारघरे आमा” श्रमिक र श्रमजीवीहरूमाथि लेखिएको अर्को सुन्दर र शक्तिशाली कविता हो । कुरुप चट्टानको गालामा फक्रेपछि चमेली बनेको थिएछ– पुछारघरे आमाको अनुहार । (पुछारघरे आमा, पृष्ठ ६४) देशमा गणतन्त्र आएकै निक्कै भैसक्यो तर देश अझै महेन्द्रीय ह्याङ्ओभरमा छ । सत्ताको असमान र साम्राज्यवादी व्यवहार अझै उस्तै छ । यही कुरा माथि लेखिएको “चिम्सेहरूको देश” कविता पनि सशक्त छ । चिम्सेहरूको देश आफ्नै जराले उभिएको छ । (चिम्सेहरूको देश, पृष्ठ १०९) “चमेली”, “भेदभाव”, “जिन्दगी एक झिल्को–इन्द्रेणी”, लगायतका कविता बढो कलात्मक लाग्यो । यसको भाव जति अब्बल छ उति नै अब्बल यसको कला पक्ष लाग्यो । अधिकांश कविताहरू सशक्त हुँदा हुँदै पनि केही कविताहरू कमजोर छन् । यस कुरामा कवि स्वयम् र अन्य पाठकहरू मसँग असमर्थ हुन सक्नुहुन्छ । ढुङ्गालाई कसैले गिटी देखिरहेको हुन्छ, कसैले ईश्वर देखिरहेको हुनसक्छ । कसैले घरको पर्खाल पनि देखिरहेको हुनसक्छ । यसैले मैले औँल्याएका कमजोरीहरू पक्कै पनि अन्तिम सत्य हुने छैनन् । मेरो दृष्टिकोणमा, “पागल” र “परिवर्तन” कवितामा बिम्बको असान्दर्भिक प्रयोग भयो । “भेट”, “छुट्टियौँ”, “पीर” कविता भावको दृष्टिकोणमा अत्यन्तै सरल-हलुका भए । “सम्बन्ध” कवितामा “कालो रङ” जुन अर्थमा प्रयोग गरिएको छ, मेरो विचारमा अहिलेको समयमा यो समस्याजनक छ । कुनै समय कोलम्बसलाई महान् व्यक्ति-ईश्वरको बिम्बका रूपमा प्रयोग गरिन्थ्यो तर अहिलेको समय उनी एउटा साम्राज्यवादी शासक भन्दा कति पनि फरक होइनन् भन्ने अर्थमा प्रयोग गरिन थालिएको छ । यसमानेमा “सम्बन्ध” कविता समस्याजनक छ । दृष्टिकोण आ–आफ्नै हुन्छ । मलाई लागेका कुरा इमान्दारिताका साथ लेखेको हुँ । समग्रमा कवि ऋजन मायालुका कविताहरू मायालु स्वभावका नै छन् । शान्त तर सुन्दर र गम्भीर । अन्त्यमा, सुन्दर कविता सङ्ग्रहका लागि कविजीलाई बधाई ।