ग्रीनल्याण्ड विवादले नाटो संकटतर्फ - ehimalayatimes.com
कोपनहेगन । डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले ग्रीनल्याण्डलाई संयुक्त राज्य अमेरिकाले अधिग्रहण गरेमा उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)को अन्त्य हुने गम्भीर चेतावनी दिनु भएको छ । उहाँको यो अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खनिज-धनी र रणनीतिक आर्कटिक टापु ग्रिनल्यान्डलाई अमेरिकी नियन्त्रणमा ल्याउन आह्वान गरेपछि आएको हो । शनिबार बिहान भेनेजुएलाको काराकसमा राष्ट्रपति निकोलस मदुरो र उहाँकी श्रीमतीलाई पक्राउ गर्न अमेरिकी सेनाले गरेको गोप्य सैन्य अपरेसनपछि विश्वव्यापीस्तरमा हलचल मच्चिएको छ । यही घटनाले डेनमार्क र ग्रीनल्याण्डमा थप चिन्ता बढाएको छ । ग्रीनल्याण्ड डेनमार्क राज्यअन्तर्गतको अर्ध-स्वायत्त क्षेत्र हो र यसरी नाटोको हिस्सा पनि हो । प्रधानमन्त्री फ्रेडरिक्सन र ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनले अमेरिकी राष्ट्रपति ट्रम्पका अभिव्यक्तिको कडा निन्दा गर्दै यसको परिणाम विनाशकारी हुनसक्ने चेतावनी दिनु भएको छ । उहाँहरूप्रति धेरै युरोपेली नेताले ऐक्यबद्धता जनाएका छन् । डेनमार्कको प्रसारण कर्ता टिभी-२ सँग कुरा गर्दै प्रधानमन्त्री फ्रेडरिक्सनले भन्नुभयो, ‘यदि संयुक्त राज्य अमेरिकाले अर्को नाटो सदस्य राष्ट्रमाथि सैन्य आक्रमण गर्ने निर्णय गर्यो भने सबै कुरा रोकिन्छ । दोस्रो विश्वयुद्धपछि स्थापित सुरक्षा व्यवस्था त्यही समाप्त हुन्छ ।’ उहाँले राष्ट्रपति ट्रम्पले ग्रीनल्याण्ड चाहेको भनाइलाई गम्भीर रूपमा लिनुपर्ने उल्लेख गर्दै डेनमार्क र ग्रीनल्याण्ड यस्तो खतरनाक अवस्थालाई स्वीकार गर्न नसक्ने स्पष्ट पार्नुभयो । आइतबार राष्ट्रपति ट्रम्पले ‘२० दिनपछि ग्रीनल्याण्डबारे कुरा गरौं’ भन्ने अभिव्यक्तिले नजिकै भविष्यमा अमेरिकी हस्तक्षेप हुनसक्ने आशंका झनै गहिरिएको छ । ट्रम्पले यसअघि पनि आफ्नो दोस्रो कार्यकालको सुरुवाती चरणमै ग्रीनल्याण्डलाई अमेरिकी क्षेत्राधिकारमा ल्याउनुपर्ने बताउँदै सैन्य विकल्प अस्वीकार नगरेको संकेत दिनुभएको थियो । ग्रीनल्याण्डका प्रधानमन्त्री निल्सनले पत्रकार सम्मेलनमा ग्रीनल्याण्डलाई भेनेजुएलासँग तुलना गर्न नमिल्ने बताउँदै जनतालाई शान्त र एकताबद्ध रहन आग्रह गर्नु भयो । ‘संयुक्त राज्य अमेरिकाले सजिलै ग्रीनल्याण्ड जित्नसक्ने अवस्था छैन’, उहाँले भन्नुभयो । यसैबीच राष्ट्रपति ट्रम्पले ग्रीनल्याण्डको सुरक्षा सुदृढ गर्न डेनमार्कले गरेको प्रयासको आलोचना गर्दै आर्कटिक क्षेत्रमा ‘अर्को कुकुर स्लेज’ थपिएको भन्दै व्यंग्य गर्नुभयो । उहाँले रुसी र चिनियाँ जहाजको उपस्थितिलाई कारण देखाउँदै ग्रीनल्याण्ड अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि आवश्यक भएको दाबी गर्नु भयो । तर, डेनिस इन्स्टिच्युट फर इन्टरनेसनल स्टडिजका विज्ञ उलरिक प्राम गडले आर्कटिकमा त्यस्ता जहाज भए पनि ग्रीनल्याण्डबाट निकै टाढा रहेको बताउनुभएको छ । ग्रीनल्याण्डको उत्तरपश्चिममा अवस्थित पिटुफिक स्पेस बेस अमेरिकी रक्षा मन्त्रालयद्वारा सञ्चालन हुँदै आएको छ । सन् १९५१ मा डेनमार्क-अमेरिका रक्षा सम्झौतापछि स्थापना भएको यस बेसले मिसाइल चेतावनी, रक्षा र अन्तरिक्ष निगरानीमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । डेनमार्कको मुख्य भूमिमा पनि अमेरिका-डेनमार्क सैन्य सहकार्य लामो समयदेखि चल्दै आएको छ । डेनमार्कले अमेरिकी एफ-३५ लडाकू विमान खरिद गरेको छ र गतवर्ष संसद्ले आफ्नै भूमिमा अमेरिकी सैन्य आधारलाई अनुमति दिने विधेयक पारित गरेको थियो । यद्यपि आलोचकले यसले डेनमार्कको सार्वभौमिकतामाथि प्रश्न उठाएको बताएका छन् । सन् २०२३ मा बाइडेन प्रशासनसँग भएको सम्झौतालाई विस्तार गर्दै अमेरिकी सेनालाई डेनमार्कका हवाई अड्डामा व्यापक पहुँच दिएको भन्दै विवाद चुलिँदै गएको छ । रासस/एपी