Redirecting...

उपमहासचिवमा पराजित विष्णु रिमालको केन्द्रीय सदस्यमा पनि हार - nepalnews.com

उपमहासचिवमा पराजित विष्णु रिमालको केन्द्रीय सदस्यमा पनि हार - nepalnews.com
Source: NPNW

काठमाडौँ। नेकपा एमालेको उपमहासचिवमा पराजित भएका विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि हारेका छन्। ११औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा रिमाल उपमहासचिव र केन्द्रीय सदस्यका उम्मेदवार थिए। उनले उपमहासचिवमा एक हजार ९१ मत मात्र पाए। उनी चौथो बने। उपमहासचिव पदमा लेखराज भट्टले सबैभन्दा बढी मत पाएर विजयी भए। यस्तै रघुवीर महासेठ र योगेश भट्टराई उपमहासचिवमा विजयी भएका छन्। अध्यक्ष केपी ओलीको सारथिका रूपमा परिचित रिमालले भने चौथो स्थानमा चित्त बुझाउनुपर्‍यो। ओलीका विश्वासपात्र रिमालले लामो समय ओलीकै टिममा रहेर काम गरेका थिए। निर्वाचनको अन्तिम परिणामअनुसार उपमहासचिवमा भट्टले १‚४५२ मत पाउँदा महासेठले एक हजार ३६८ मत पाए। यस्तै भट्टराईले एक हजार ३४८ मतसहित उपमहासचिवमा विजयी बने। यस्तै उपाध्यक्षको प्रतिस्पर्धामा हार बेहोरेका गुरुप्रसाद बराल केन्द्रीय सदस्यमा पनि पराजित भए। उनले उपाध्यक्षमा एक हजार १३७ मत पाए। पाँच उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ (१‚७३७)‚ विष्णुप्रसाद पौडेल (१‚६७५)‚ रामबहादुर थापा (१‚५१६)‚ गोकर्ण विष्ट (१‚३६८) र रघुजी पन्त (१‚२५८) विजयी भए। बराल भने छैटौँ स्थानमा रहे। एमालेको ११औँ महाधिवेशनबाट केपी ओली ह्याट्रिकसहित अध्यक्षमा विजयी भएका छन्। ओलीसँगै एमाले पदाधिकारीमा १९ जना विजयी भएका छन्। ओलीले १‚६६३ मत ल्याएर अध्यक्षमा ह्याट्रिक गरे। एमाले नेतृत्वमा ओलीको यो तेस्रो कार्यकाल हो। अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेका ईश्वर पोखरेलले भने ५६३ मतमै चित्त बुझाए। एमालेको १९ पदाधिकारीमा पोखरेल पक्षका दुईजना मात्र विजयी भए भने बाँकी सबै ओली पक्षकै निर्वाचित भए। १९ पदाधिकारीमा पोखरेल पक्षबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भए।