Redirecting...

शेयर बजारमा खुम्चियो कारोबार रकम, मौद्रिक नीतिको प्रभाव सकिएको हो ? - bankingsamachar.com

शेयर बजारमा खुम्चियो कारोबार रकम, मौद्रिक नीतिको प्रभाव सकिएको हो ? - bankingsamachar.com
Source: bkns

काठमाडौं – यही वर्षको असार २७ गते मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले शेयर बजार र घरजग्गामैत्री नीति लिएका थिए । जसबाट शेयर बजारमा तत्कालै यसको प्रभाव समेत देखियो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिले यसअघिको १५ करोड रुपैयाँसम्मको शेयर धितो कर्जाको सीमा बढाएर २५ करोड पुर्‍याएको थियो । यो सूचना पाएपछि मौद्रिक नीति आउनुभन्दा दुईदिन अघिदेखि नै बजार सकारात्मक रूपले अघि बढेको थियो । मौद्रिक नीति पछिको दुई सातासम्म पनि शेयर बजार लगातार बढेको थियो । जसमा प्रत्येक दिन १० अर्ब रुपैयाँभन्दा बढी र २५ अर्ब रुपैयाँसम्मको शेयर किनबेच सुरु भएको थियो । तर, यतिबेला भने शेयर बजारमा कारोबार रकम घट्न थालेको छ । मौद्रिक नीति सार्वजनिक हुनुअघि २७ सय अंकमा घुमिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई सातासम्म बढ्दै ३ हजार अंकको बिन्दुमा पुगेको थियो । त्यसयता, फेरी शेयर बजार घट्दै २८ सय अंकभन्दा तल आएपछि कारोबार रकम १० अर्ब रुपैयाँभन्दा तल खुम्चिन थालेको छ । मौद्रिक नीति आएको एक महिना नपुग्दै शेयर कारोबार खुम्चिन थालेको छ । जसमा साउन १८ गते १२ अर्ब रुपैयाँ आसपास शेयर कारोबार भएको थियो । त्यसयता भने १० अर्ब रुपैयाँ नाघ्न सकेको छैन । घट्न थाल्यो कारोबार रकम गत साता साउन १८ गते कारोबार रकम १२ अर्ब पुगेको थियो । सो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ६३ दशमलव ७३ अंकको गिरावट आएको थियो । जुन, २०८१ भदौ १९ गते पछिको धेरै गिरावट हो। सो दिन नेप्से परिसूचक ९०.७३ अंकले घटेको थियो । त्यसैगरी, साउन १९ गते १० अर्ब रुपैयाँको कारोबार भएको थियो । यस्तै, साउन २० गते ९ अर्ब, २१ गते ७ अर्ब र २२ गते ८ अर्ब रुपैयाँको कारोबार भएको थियो । यतिले मात्रै शेयर कारोबार घट्ने क्रम अझै रोकिएन । यो साताको शेयर कारोबार सुरु भएको पहिलो दिन (सोमबार) २६ गते पनि सूचक घट्यो जसको असर कारोबारमा पनि पर्‍यो । यससँगै यो साताको पहिलो कारोबारको दिन १० अर्ब आसपासको शेयर कारोबार भयो । त्यस्तै, दाेस्रो दिन अर्थात् २७ गते ६ अर्ब आसपासको शेयर कारोबार भएको छ । के भन्छन् लगानीकर्ता ? नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे बजार पछिल्लो समय आइजिन नम्बरको विवादका कारण हतोत्साहित बनेको बताउँछन् । ‘सिंगल आइजिन र डबल आइजिन विवादले गर्दा लगानीकर्ता मनोवैज्ञानिकरुपमा हतोत्साहित बनेका छन्,’ उनले भने, ‘लगानीकर्ताहरूले लक–इन अवधि नसकिँदै दोस्रो बजारमा शेयर बेचेर बाहिरिँदा पनि यसले शेयर बजारमा केही प्रभाव परेको हो ।’ बजारमा कारोबार गर्ने माहौल बनिरहेको समयमा पनि लगानीकर्तामा आत्मविश्वास खासै नदेखिएको र शेयर होल्डिङ क्षमता कम देखिएको उनको भनाइ छ । ‘अल्ट्रा सटट्रम’ कारोबार (जसमा फाइदा भए पनि वा नभएपनि ७२ घण्टामा शेयर कारोबार गर्नु पर्ने) यो व्यवस्था शेयर बजारका लागि आत्मघाती हुने बताउँछन् । यससँगै उधारो कारोबारीले पनि बजारलाई नकारात्मक धक्का पुर्‍याएको छ । फलस्वरूप बजारमा उतारचढाव देखिएको छ । बजार ३ हजारको बिन्दुभन्दा माथि जाँदैन भन्ने आम मानिसको मानसिकता देखिन्छ । यसले पनि बजारलाई केही समस्या देखाएको पाण्डे बताउँछन् । यद्यपि, शेयर बजारले ‘करेक्सन’ भोगी सकेकाले अब बजार माथि लाग्ने उनको धारणा छ । बजार बढ्न थालेपछि फेरी दैनिक १० अर्ब रुपैयाँभन्दा माथिको कारोबार हुनेमा लगानीकर्ता विश्वस्त छन् । त्यस्तै, शेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा प्रसाद फुल्लेल समेत बजार फेरी माथि लाग्ने बताउँछन् । ‘हाम्रो बजारमा बजार बढ्दै गर्दा शेयर किन्ने र घट्न थालेपछि लगानीकर्तामा एक किसिमको त्रास उत्पन्न हुन्छ,’ उनले भने, ‘ जसले शेयर बेच्छन् त्यसकारण शेयर कारोबारमा उतारचढाव आएको हो ।’