Redirecting...

मोर्गन इन्टरनेसनल स्कुलमा महानगरको अनुगमन, ३ दिनभित्र आवश्यक कागजात बुझाउन निर्देशन - www.palikalive.com

मोर्गन इन्टरनेसनल स्कुलमा महानगरको अनुगमन, ३ दिनभित्र आवश्यक कागजात बुझाउन निर्देशन - www.palikalive.com
Source: plkl

काठमाडौं– काठमाडौं महानगरपालिकाले बसुन्धरास्थित मोर्गन इन्टरनेसनल सेकेन्डरी स्कुलमा संयुक्त अनुगमन गरेको छ। शिक्षा विभागमा प्राप्त उजुरीका आधारमा बिहीबार गरिएको उक्त अनुगमनमा विद्यालय सञ्चालनमा गम्भीर अनियमितता भेटिएको महानगरकाे दाबी छ । महानगरको सहरी योजना आयोग, शिक्षा, राजस्व, कृषि तथा पशुपन्छी, सार्वजनिक निर्माण र सहरी व्यवस्थापन विभागका प्रतिनिधि सम्मिलित टोलीले विद्यालयको विद्यार्थी शुल्क, छात्रवृत्ति कार्यक्रम, भौतिक पूर्वाधार र वैधानिक प्रक्रियालगायतका विषयमा अनुगमन गरेको हो। अनुगमनपछि विद्यालयलाई तीन दिनभित्र २२ वटा क्षेत्रसँग सम्बन्धित कागजात पेश गर्न निर्देशन दिइएको छ। तोकिएको समयमा कागजात नबुझाए कानुनी प्रक्रिया अघि बढाइने सहरी योजना आयोग सदस्य शैलेन्द्र झाको भनाइ छ। उनका अनुसार विद्यालयले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सुविधा नदिएर पनि ‘इन्टरनेसनल’ को नाम प्रयोग गरिरहेको पाइएको छ। ‘इन्टरनेसनल भन्ने विद्यालयले सोही स्तरको पाठ्यक्रम, शिक्षक र पूर्वाधार आवश्यक हुन्छ, तर यहाँ त्यो अवस्था छैन,’ उनले बताए। शिक्षा विभाग निमित्त प्रमुख केशव ज्ञवालीले अनुगमनका क्रममा छात्रवृत्ति पाएका विद्यार्थीहरूबाट शुल्क लिएको, क्यान्टिनको अवस्था कमजोर रहेको र विद्यालय स्थानान्तरणको कानुनी प्रक्रिया अस्पष्ट भएको जनाए। उनका अनुसार विद्यालयले २४ देखि ३० हजार रुपैयाँसम्मको शुल्क लिएको गुनासोसमेत परेको छ। विद्यालयले तीन वर्षअघि बूढानीलकण्ठबाट बसुन्धरामा स्थानान्तरण भएको र कक्षा ११–१२ सञ्चालनका लागि अनुमति लिएको दाबी गरे पनि ती विवरण प्रमाणित नभएकाले कागजात माग गरिएको हो। महानगरले विद्यालयसँग सञ्चालन अनुमतिपत्र, शुल्क संरचना, छात्रवृत्ति विवरण, भौतिक पूर्वाधारको अवस्था, कर र राजस्वसम्बन्धी रेकर्ड, स्थानान्तरणसम्बन्धी दस्तावेजलगायतका प्रमाणित कागजात तीन दिनभित्र पेश गर्न निर्देशन दिएको छ। शिक्षा विभाग प्रमुख ज्ञवालीका अनुसार निजी विद्यालयको नियमन र पारदर्शिता सुनिश्चित गर्न विभाग सक्रिय छ। ‘हामीले मागेका कागजातका आधारमा विद्यालयको वैधानिकता र अनियमितता मूल्याङ्कन गरेर निर्णय लिन्छौं,’ उनले भने, ‘समयमै कागजात पेश नभए कानुनी कारबाही हुन्छ।’ हेर्नुहोस् काठमाडौं महानगरको पत्र :