Redirecting...

पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु - ehimalayatimes.com

पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले आफू कुनैपनि खालको दबाब लिने पक्षमा नरहेको बताउनुभएको छ । आईतवार सिंहदरबारमा पदभार ग्रहण गर्ने क्रममा उहाँले सञ्चारकर्मीहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै सो प्रतिक्रिया दिनुभएको हो । मन्त्री सिन्हाले आफू मातहतको संस्थाहरुको नेतृत्व चयन प्रक्रिया सोही संस्थाको हितमा केन्द्रित हुनेगरी गर्ने समेत बताउनु भयो । कसैको दबाब र प्रभावमा परेर आफूले संस्थाहरुको नेतृत्व नियुक्ति नगर्ने उहाँको भनाई थियो । मन्त्री सिन्हाले सञ्चार माध्यामहरुले दिने सूचनाहरु आफ्नो कार्य सम्पादनमा प्राथमिकतामा पर्ने समेत स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,‘मलाई नियुक्ति गरिदेउ भन्ने दबाब पनि छैन । दबाब लिनेवाला पनि छैन । तर जे गर्छु, तत्तत संस्थाहरुको हितमा हुनेगरी काम गर्छु । हिमाली क्षेत्रहरुमा भएका जुन फोहोरहरु हुन्छ । ती फोहोरहरु यति जम्मा भएर बसेका थिए । त्यसबारे अदालतले पनि एक पटक आदेश जारी गरेको छ । त्यो आदेशको पालना गर्नका निमित्त जुन कार्यनीति उहाँहरुले बनाउनुभएको छ । त्यसैलाई अहिले स्वीकृति गरेको हुँ ।’ त्यस अवसरमा मन्त्री सिन्हाले हिमाली क्षेत्रमा रहेका फोहोरहरु व्यवस्थापन गर्ने सम्बन्धि पहिलो निर्णय पनि गर्नुभयो । अदालतले समेत सो विषयमा आदेश दिइसकेकाले त्यसलाई कार्यान्वयनमा लैजाने कार्यनीति स्वीकृत गर्ने निर्णय आफूले गरेको उहाँले बताउनु भयो ।