Redirecting...

विश्वका विशिष्ट कथा: फाटेको जुत्ता - sahityapost.com

विश्वका विशिष्ट कथा: फाटेको जुत्ता - sahityapost.com
Source: shpt

मूल: ग्राजिया देलेद्दा अनुवाद: गोविन्द गिरी प्रेरणा एलिया अदालतमा बेकार बसिरहन्थ्यो । ती दिनमा मानिसहरू अदालतबाट टाढै बस्न रुचाउँथे । ठूलाठूला वकिल पनि सानातिना मुद्दा लिन बाध्य थिए । एलियाले त कुनै मुद्दा नै पाउँदैनथ्यो । तैपनि अदालत जान्थ्यो र त्यहाँ एकान्तमा बसेर आफ्नी श्रीमतीलाई सम्बोधन गरेर कविता लेख्थ्यो । एकदिन एउटा परिचित सवारी चालकले एलियालाई बाटैमा रोकेर भन्यो – “म अहिले भखरै तेर्सनोवाबाट आएको हुँ। त्यहाँ तपाईंको काकालाई भेटेथें । उहाँ सिकिस्त बिरामी हुनुहुन्छ ।…” एलिया घर फर्कंदा उसकी श्रीमती घाममा उभिएर उसलाई पर्खिरहेकी थिई । एलियाले आफ्नो काकाको बिरामीको खबर सुनाउँदा उसको शान्त गम्भीर अनुहारमा बेचैनीको साटो रहस्यपूर्ण मुस्कराहट पो आयो । उसलाई देखेर एलियाको ओठमा पनि मुस्कुराहट पैदा भयो । “लौ त म जान्छु ।” एलियाले भन्यो । त्यसपछि उसले केही पनि भनेन । श्रीमतीले उसको मनको कुरो चाल पाई । काकाले मृत्युपश्चात् सबै सम्पत्ति उसैलाई दिने निश्चित थियो । त्यति बेला उसकी श्रीमतीले उसको फाटेको जुत्तातिर आँखा लगाउँदै भनी, “बाटो खर्चको बन्दोबस्त कस्तो छ नि !” “फिक्री गर्नु पर्दैन । मसँग अलिकति पैसा छ ।” एलियाले आफ्नो काकाको शहरको लागि प्रस्थान गर्‍यो । बाटोमा लम्कँदै ऊ आफ्नो फाटेको जुत्ता सोच्दै थियो – कसैगरी यो जुत्तालाई काकाको घरसम्म पुर्‍याउन पाए बेस हुन्थ्यो । रात परेपछि जाडो बढ्यो । एलियालाई लाग्यो – उसको खुट्टालाई डन्डीले भेट्यो । उसले आफ्नो जुत्तातिर दृष्टि पुर्‍यायो । त्यो अब मर्मत गर्ने समेत स्थितिको थिएन । उसलाई त्यो जुत्ता लगाएर हिंड्नै सकस भैरहेको थियो । फेरि उसलाई यस कुराले पनि दुःख दिइरहेथ्यो कि यस्तो जुत्ता लाएर काकाको घर जाँदा इज्जत जान्छ । तर यसको अन्य कुनै विकल्प थिएन । त्यसपछि उसले आफ्नो ध्यान जुत्ताबाट हटाएर काकाको सम्पत्ति लुँड्याउने र भविष्यमा ऐश आरामको जीवन बिताउने कल्पनामा डुब्न थाल्यो । एउटा गाउँमा पुगेपछि ऊ रात कटाउन एउटा धर्मशालामा बास बस्यो । थोरै भाडामा एउटा गन्हाउने, फोहर, साँघुरो कोठा पायो । त्यहाँ पहिले नै दुई जना यात्रु बसिसकेका थिए र तिनीहरू सुतिसकेका थिए । एलिया लुगा सुँघ्दै त्यतिकै सुत्यो तर निद्रा के आउँथ्यो ? उसको विचारमा संसारका सडकहरूमा र घरहरूमा अनगिन्ती जुत्ता छन् । अनि त उसले जताततै जुत्तै जुत्ता देख्न थाल्यो । अन्त्यमा उसलाई लाग्यो – त्यस कोठामा पनि जुत्ताहरू मिल्किएका छन् । अनि ऊ अचानक उठ्यो र जाडोले काम्दै नाङ्‌गै खुट्टा हिँडेर सँगैको यात्रीको खाटछेउ पुग्यो । उसले आफ्नो एउटा जुत्ता लाएकै थियो – उसको खुट्टामा कुनै बस्तुले नराम्रोसँग घोच्यो । उसले जुत्ता खोल्यो । त्यति नै बेला कोठा बाहिरबाट अस्पष्ट आवाज आयो । ऊ डरले कुत्तुर भएर त्यहीं नै त्यत्तिकै उभिइरह्यो । त्यति बेला उसको आत्माले धिक्कार्‍यो – ऊ पतनको बाटोमा अग्रसर हुँदैछ । बाहिरको आवाज बन्द भएपछि कोठाबाट बाहिर निस्क्यो । त्यहाँ कोही थिएन । एकातिर झुन्डिरहेको लालटेन मधुरो उज्यालो ओकलिरहेथ्यो । एलियाले यताउति हेर्‍यो । सँगै एक जोर जुत्ता राखेको देख्यो । त्यति नै वेला कुनै सोच विचारै नगरी उसले जुत्ता आफ्नो कोटमा लुकाइहाल्यो । अनि एक दृष्टि त्यहाँको निदाइरहेको चौकिदारतिर तेर्स्याएर चुपचाप त्यहाँको गेट खोलेर बाहिर निस्क्यो । लगभग आधा घण्टा हिँडिसकेपछि उसलाई जुत्ता लगाउने विचार आयो । एउटा ढुङ्गामा बसेर उसले जुत्तालाई केही क्षण हेरिरह्यो । अन्त्यमा जब ऊ जुत्ता लगाएर उभियो । उसको आत्माबाट आवाज आयो- “पतन ! घोर पतन !” तर त्यो आवाजको कुनै वास्तै नगरी हिंड्यो । तर अब ऊ पहिले जत्तिको छिटो हिंड्न सकिरहेको थिएन । उसको खुट्टा लरबराउँदै थियो र ऊ पछाडि फर्केर हेर्दै थियो, कोही कसैले त पिछा गरिरहेको छैन ? बिहानको उज्यालो फैलिन थालेपछि एलियाको डर झन् बढ्‌न थाल्यो । उसको दिमागमा अनेक विचारले हलचल मच्चाइदियो । उसलाई लागिरहेको थियो – उसले चोरी गरेको मानिसले थाहा पाउनेछन् र चोरी भएको खबर फेरि चारैतिर फैलिनेछ । अन्त्यमा पक्राउ खाने डरले उसले आफ्नो पुरानो पुत्ता लगायो र चोरेको जुत्ता सडकको एक छेउमा फालिदियो । तैपनि उसको मन शान्त भएन । रातीको घटना वेला वेलामा उसको सामुन्ने आउन थाल्यो । उसलाई लागिरहेको थियो ती दुई यात्रीहरू उसको पछि पछि आउँदै छन् । यस सोचाइले उसको मन काँपिरह्यो, यदि उसले चोरेको खबर उसकी स्वास्नीले पत्तो पाई भने त झन् अनर्थ हुनेछ । सम्पत्ति पाउनुअघि नै कस्तो अधपतन‌को बाटोमा लाग्यो भनेर । ऊ हिंड्दा हिँड्दै रोकियो र फर्कियो । उसले त्यसलाई माटोमुनि गाडे पनि कतै लुकाए पनि उसको आत्माले त माफ गर्ने छैन । त्यो चोरीले जीवनभर कलङ्‌कित तुल्याउनेछ । अचानक उसले जुत्ता उठायो र धर्मशालातिर लाग्यो । विस्तार विस्तार हिंडिरह्यो ताकि साँझ परेपछि मात्र धर्मशालामा पुगियोस् । दिनभरि उसले केही खाएको थिएन र निकै थकाइ अनुभव गरिरहेको थियो । उसका खुट्टा लडखडाइरहेका थिए । धर्मशाला सुनसान थियो । उसले रात बिताउन ठाउँ लियो । अनि मौका पाउने बित्तिकै त्यो जुत्ता जहाँबाट उसले उठाएको थियो त्यहीं नै राखिदियो र आफ्नो खाटमा गएर पल्टियो । सुत्ने बित्तिकै निद्राले ढुस भयो । बिहान उठेपछि बाँकी रहेका खुद्राखाद्री पैसाले पाउरोटी किन्यो र त्यहाँबाट हिंड्यो । मौसम खूब रमाइलो थियो । एलिया आफ्नो फाटेको जुत्ता लगाएर स्वस्थ मनले हिंडिरहेको थियो । ऊ आफ्नो काकाको घर पुगेपछि थाहा भयो कि केही घण्टा अघि मात्रै उनको देहान्त भएको थियो । नोकर्नीले उसलाई भनी, “मालिकले तपाईंको निकै बाटो हेर्नुभयो । तीन दिन पहिले तपाईंलाई आकाशवाणी पनि गर्नुभएको थियो । उहाँ भन्नुहुन्थ्यो –तपाई मात्रै उहाँको वारिस हुनुहुन्छ । तर तपाईंले उहाँलाई बिर्सनुभयो अनि आज बिहानसम्म पनि तपाईं नआएपछि उहाँले आफ्नो सारा सम्पत्ति माझीका अनाथ बच्चाह‌रूको नाउँ गरिदिनुभयो ।“ एलिया फर्केर आयो । उसकी स्वास्नीले सारा कुरा सुनिसकेपछि भनी, “राम्रै भयो, त्यो सम्पत्ति हामीलाई प्राप्त भएन । जुन सम्पत्ति पाउनुअघि नै मानिस आफ्नो इमानदारी गुमाउँछ, उसले नपाउनु नै राम्रो !” The post विश्वका विशिष्ट कथा: फाटेको जुत्ता appeared first on साहित्यपोस्ट.