विश्व घटना : पाराग्वे आगलागीमा ३९६ मारिए - www.nepaliheadline.com
काठमाडौं- आज १ अगस्ट। विश्व इतिहासका असंख्य घटनाले संसारभर आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप। – सन् १९८०- पहिलो निर्वाचित महिला राष्ट्रपति सन् १९८० मा आजकै दिन आइसल्यान्डमा विश्वकै पहिलो निर्वाचित राष्ट्रपतिले पदभार सम्हालेकी थिइन्। भिगदिस फिनबोगादोतिर त्यहाँकी चौथो राष्ट्रपति थिइन्। र, लोकतान्त्रिक विधिबाट चुनिएकी विश्वकी पहिलो महिला राष्ट्रपति पनि। उनी १६ वर्षसम्म आइसल्यान्डकी राष्ट्रपति रहिन्। र, लोकतान्त्रिक विधिबाट चुनिएर सबैभन्दा लामो समय राष्ट्रपति बन्ने विश्वकै प्रथम महिलाको रेकर्ड पनि राखिन्। – सन् १८३४- ब्रिटिस साम्राज्यबाट दास प्रथा उन्मुलनको घोषणा सन् १८३४ मा आजकै दिन तत्कालीन ब्रिटिस साम्राज्यबाट दास प्रथा उन्मुलनको घोषणा गरिएको थियो। दास प्रथा उन्मुलनसम्बन्धी ऐन १८३३ मा आधारित रहेर उक्त घोषणा गरिएको थियो। तत्कालीन ब्रिटिस संसदले पारित गरेको उक्त कानून सन् १९९८ मा आएर निष्कृय बनाइएको थियो। कारण- संसारभरबाट दास प्रथा उन्मुलन भएको विश्लेषण गरिएको थियो। – सन् २०१२- २ देशमा टाइफुन, ८२ को मृत्यु सन् २०१२ मा आजकै दिन दुईवटा मुलुकमा आएको समुद्री चक्रवातमा परी ८२ जनाले ज्यान गुमाएका थिए। फिलिपिन्स र चीनमा आएको चक्रवातमा परी डेढ लाख जनसंख्या घरबारविहीन भएको थियो। चक्रवातको प्रभाव ताइवानमा पनि देखिएको थियो। – सन् २००४- पाराग्वेमा आगलागी, ३९६ मारिए सन् २००४ मा आजकै दिन दक्षिण अमेरिकी मुलुक पाराग्वेको एक सुपरमार्केटमा भएको आगलागीमा परी ३९६ जनाले ज्यान गुमाएका थिए। पाराग्वेको असन्सियन नामक स्थानमा उक्त घटना भएको थियो। – सन् १९९९- मलेसियामा विश्वकै अग्लो टावर सन् १९९९ मा आजकै दिन मलेसियामा विश्वकै अग्लो टावर उदघाटन गरिएको थियो। ‘पेट्रोनास’ नाम दिइएको टावरको उचाइ ४५१.९ मिटर छ। मलेसियाका तत्कालीन प्रधानमन्त्री महाथिर मोहम्मदले त्यसको उदघाटन गरेका थिए।