पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या चार पुग्यो, मृतक सबैको सनाखत - ehimalayatimes.com
पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४, चिउरीवासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । पूरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा थप एक जनाको मृत्यु भएसँगै शनिबार मृतकको सङ्ख्या चार पुगेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीका अनुसार तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । नवलपुर मध्यविन्दु नगरपालिका–१३ का ३४ वर्षीय सुन्दर विकको उपचारका क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । मृतक चारै जनाको सनाखत भएको छ । घटनास्थलमै मृत्यु हुनेहरुमा निस्दी गाउँपालिका–४, हुवासकी ३६ वर्षीया हेम कुमारी सारु, निसदी –४ ठोक्सिङबासकी ४५ वर्षीया ओम कुमारी खाम्चा र मध्यविन्दु नगरपालिका–१३ पूर्वी नवलपरासीकी ३१ वर्षीय बुद्धिमाया विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुन्दर र बुद्धीमाया श्रीमान् श्रीमती हुनुहुन्छ । दुर्घटनामा सात जना घाइते भएका छन् । निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप शुक्रबार विहान दुर्घटनामा परेको हो । चिउरीबासमा उकालोमा यात्रु ओराल्दै गर्दा रोकिराखेको फोर्स जिप आफैँ व्याक भएर दुर्घटना भएको जनाइएको छ । जिप सडकबाट १२ सय मिटर तर खसेको थियो । सामान्य घाईते अवस्थामा रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ ।