प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्छ : प्रदीप पौडेल - www.pardafas.com
नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्ने बताएका छन् । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपालको प्रशासनिक संरचनालाई पूर्ण रुपमा डिजिटलाईज गर्नुपर्नेमा जोड दिए । संघीयतालाई कम खर्चिलो बनाउन डिजिटलाईजेशन गर्नुपर्ने उनको भनाई छ । उनले प्रदेशमा मुख्यमन्त्री, वित्तियमन्त्री र प्रशासनमन्त्री भए हुने बताए । संघियता हटाउनु समाधान नभई छरितो बनाउनु आजको आवश्यकता उनले औँल्याए । संघीयता छरितो बनाउनको लागी चालु खर्च घटाउनुपर्नेमा उनले जोड दिए । चालु खर्च कम गर्नको लागि सरकारी संरचनालाई डिजिटलाईजेशन गर्नुको विकल्प नभएको उहाँले बताए । प्रशासनिक संरचनालाई पूर्णरुपमा डिजिटलाईज गर्नसके नेपालको चालु खर्च दुई तिहाई कटौती हुने उनको दाबी छ । उनले प्रविधि विकास र नागरिकको स्वतन्त्रता पनि जोडिएको बताए । प्रविधिको प्रयोगलाई सिर्जनात्मक रुपमा प्रयोग गर्न कानूनी स्पष्टता जरुरी रहेको उनको भनाई छ । कानून निर्माण गर्दा नागरिकको स्वतन्त्रता हनन हुनेगरी गर्न नहुनेमा पनि उनले स्पष्ट पारे । उनले सामाजिक सञ्जाललाई नेपालमा दर्ता गर्ने कुरामा समस्या नरहेपनि दर्ताको नाममा बन्द गरिने कार्य भने सह्य नहुने बताए । नागरिकको स्वतन्त्रता हनन हुनेगरी कुनै कानून बनाउन नहुने उनको भनाई छ ।