सिलगढ़ीमा साहित्य अकादेमी र बुक–एण्ट पब्लिकेसन हाउसद्वारा साहित्यिक समारोह सम्पन्न - sahityapost.com
सिलगढ़ी । साहित्य अकादेमी, नयाँ दिल्लीको आयोजनामा र बुक–एण्ट पब्लिकेसन हाउस, सिलगढ़ीको सहकार्यमा सम्पन्न नेपाली साहित्यिक समारोह शुक्रबार भानुभक्त समिति, गुरुङ नगरस्थित बुक–एण्ट प्रेक्षागृहमा सम्पन्न भएकाे छ । समारोहले साहित्यकार, कवि, विद्वान् र साहित्यप्रेमीहरूको उत्साहपूर्ण सहभागितासहित नेपाली भाषा–साहित्यको उज्यालो पर्व मनाएकाे थियाे । कार्यक्रमको उद्घाटन परम्परागत दीप प्रज्वलन र साहित्य अकादेमी नेपाली भाषा परामर्श समितिकी सदस्य आशा मुखिया लामाको स्वागतसम्बोधनबाट भएको थियो। कार्यक्रममा तीन विशेष सत्र—कवि सम्मेलन, लेखकसित भेटघाट, र ‘व्यक्ति र कृति’—सञ्चालित भएकाे थियाे । कवि सम्मेलनमा मुस्कान लकान्द्री, अजीत विश्व, रेजिना सुब्बा, मेरी लेप्चा र प्रज्ज्वल थापाले आफ्ना नवीन र मौलिक कविताहरू वाचन गर्नुभएकाे थियाे । युवा सिर्जनशक्तिले भरिएका यी कविता प्रस्तुतीकरणले उपस्थित दर्शकहरूको प्रशंसा र उत्साह पायो। लेखकसित भेटघाट सत्रमा साहित्यकार युवराज काफ्ले विशेष रूपले आमन्त्रित हुनुहुन्थ्याे । काफ्लेको जीवन–यात्रा र साहित्यिक योगदान समेटिएको पुस्तक समारोहकै बीचमा लोकार्पण गरिएकाे थियाे । काफ्लेले सिर्जनाको अनुभव, साहित्यिक यात्रा र जीवनबोधबारे मन छुने अभिव्यक्ति राख्नुभएकाे थियाे । ‘व्यक्ति र कृति’ सत्रमा प्रख्यात न्युरोलोजिस्ट डा. सिद्धिराज शर्माले चिकित्सा र साहित्यको संगमबारे आफ्ना अनुभवहरू साझा गर्दै मानव समाजमा पुस्तकको भुमिकामाथि गहिरो विचार प्रस्तुत गर्नुभयाे । समारोहको सभापतित्व साहित्य अकादेमी नेपाली भाषा परामर्श समितिका संयोजक शंकरदेव ढकालले गर्नुभएकाे थियाे । प्रमुख अतिथिको रूपमा उपस्थित पद्मश्री सम्मानित वैज्ञानिक डा. एकलव्य शर्माले तीनवटै सत्रलाई समेट्ने प्रेरणादायी मन्तव्य राख्दै साहित्य, समाज र चेतनाको सम्बन्धबारे दृष्टिपूर्ण विचार प्रस्तुत गर्नुभएकाे थियाे । विशिष्ट अतिथिहरूमा डा. सिद्धिराज शर्मा, आशा मुखिया लामा र बुक–एण्ट पब्लिकेसन हाउसका निर्देशक राजा पुनियानीको उपस्थिति उल्लेखनीय थियो। कार्यक्रमको संयोजन मनिषा भण्डारीले गर्नुभएकाे थियाे । आयोजक संस्थाहरू साहित्य अकादेमी, नयाँ दिल्ली र बुक–एण्ट पब्लिकेसन हाउस, सिलगढ़ीले सबै सहभागी, अतिथि, कवि–लेखक तथा दर्शकप्रति कृतज्ञता व्यक्त गर्दै समारोह सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्नुभएकाे छ। The post सिलगढ़ीमा साहित्य अकादेमी र बुक–एण्ट पब्लिकेसन हाउसद्वारा साहित्यिक समारोह सम्पन्न appeared first on साहित्यपोस्ट.