इलाममा बाढी पहिरोमा मृत्यु हुनेको संख्या १३ पुग्यो, एकै परिवारका ४ जना - janatatimes.com
इलाम, १९ असोज । इलाममा लगातार वर्षापछिको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या एकै परिवारका ४ जनासहित १३ पुगेको छ। पहिरोले पुरिँदा फाकफोकथुम गाउँपालिकामा मात्रै एकै परिवारका ४ सहित ६ जनाको ज्यान गएको छ। फाकफोकथुम–३ सल्लेरीमा एकै परिवारका ४ जनाको पहिरोले पुरेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। घरमाथिको ढिस्को खस्दा ८६ वर्षीय नैनसिंह कटुवाल, ८० वर्षीय रणजत्ता थापा, १५ वर्षीय निशान कटुवाल र १२ वर्षीय निश्चत कटुवालको ज्यान गएको हो। ३ जनाको शव निकालिसकिएको र नैनसिंहको शव निकाल्ने काम भइरहेको छ।२ तले घरको भुईंतलामा सुतेका उनीहरूलाई पहिरोले पुरेको थियो। माथिल्लो तलामा सुतेका समीक्षा र गोमा कुटुवाल भने बच्न सफल भएका छन्। फाकफोकथुम–१ ठिङ्गेपुरकी विना शेर्मा र १४ वर्षीय आइतबहादुर राईको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ। भान्साघर माथिबाट खसेको पहिरो खस्दा उनीहरुको पुरिएर मृत्यु भएको हो। प्रहरी चौकी आमचोक र स्थानीयको सहयोगमा अन्य २ जनाको सकुशल उद्धार गरिएको छ। त्यसैगरी सूर्योदय नगरपालिकामा ३ जना ज्यान गएको छ। नगरपालिकाको वडा नं ३ जिल गाउँका ३८ वर्षीया विष्णुमाया तामाङ र उनका छोरा १७ वर्षीय विशाल तामाङको मृत्यु भएको हो। त्यसैगरी सोही वडाकी नारायणीदेवी मोतेलाई पनि पहिरोले पुर्दा मृत्यु भएको छ। घरमाथिबाट पहिरोले झरेर बगाउँदा मोतेको परिवारका अन्य ३ जना सदस्यको सकुशल उद्धार गरिएको छ। माङ्सेबुङ गाउँपालिका–६ चिसोपानीमा पहिरोले पुरिएका ४ जनामध्ये २ जनाको शव प्रहरीले फेला पारेको छ। ५३ वर्षीय हरिप्रसाद राई र २९ वर्षीया कविता राईको शव फेला परेको छ। ८२ वर्षीया रनश्वरी राई र ५३ वर्षीया हरिमाया राई अझै फेला परेका नपरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। लुटिमाया खोलाले बगाउँदा देउमाई नगरपालिका–२ की ४५ वर्षीया सरिता राईको मृत्यु भएको छ। माई नगरपालिका–३ बस्ने वर्ष २५ की तेजमाया राई बाख्रा चराउन गएका बेला वर्षाका कारण रूखको हाँगा भाँचिई घाइते भएपछि बी एन्ड सी अस्पताल झापामा उपचारकै क्रममा मृत्यु भएको छ।