निर्वाचन नजिकिँदै गर्दा गैरजिम्मेवार रिपोर्टिङ बढ्यो :सञ्चारमन्त्री खरेल - ehimalayatimes.com
भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचन नजिकिँदै गर्दा अपुष्ट, अनुमानमा आधारित र एकपक्षीय समाचार प्रवाह बढ्दै गएको भन्दै त्यसले मतदाता भ्रमित हुनुका साथै लोकतान्त्रिक प्रक्रियामै गम्भीर असर पार्ने चेतावनी दिनुभएको छ। उहाँले सत्यतथ्य पुष्टि नगरी समाचार सम्प्रेषण गर्ने प्रवृत्ति पत्रकारिताको आधारभूत मूल्यविरुद्ध रहेको बताउनुभएको छ। नेपाल पत्रकार महासङ्घ भक्तपुर जिल्ला शाखाको २९औँ स्थापना दिवस तथा पत्रकार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी आमसञ्चारमाध्यमले मतदाता शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। निर्वाचनजस्तो संवेदनशील समयमा सञ्चारमाध्यमको भूमिकाले चुनावको निष्पक्षता र विश्वसनीयतासमेत निर्धारण गर्ने उहाँको भनाइ थियो। मन्त्री खरेलले सञ्चारमाध्यम लोकतन्त्रका चौथो स्तम्भ भए पनि जिम्मेवारीविहीन रिपोर्टिङले त्यो भूमिका कमजोर बनाउँदै लगेको टिप्पणी गर्नुभयो। तथ्य र स्रोत पुष्टि नगरी व्यक्तिका विषयमा समाचार सम्प्रेषण हुँदा पत्रकारिताप्रति आमनागरिकको विश्वास खस्कँदै गएको उहाँले बताउनुभयो। निर्वाचनको सन्दर्भमा मन्त्री खरेलले मतदाता अधिकार, मतदान प्रक्रिया, मत बदर नहुने तरिका, उम्मेदवार छनोट र निर्वाचन आचारसंहिता जस्ता विषयमा सञ्चारमाध्यमले गहिरो र निरन्तर जानकारी दिनुपर्ने उल्लेख गर्नुभयो। “निर्वाचन केवल मतदानको दिनमा सीमित विषय होइन। यससँग जोडिएका सबै प्रक्रिया र जिम्मेवारीबारे नागरिकलाई सचेत गराउनु मिडियाको दायित्व हो,” उहाँले भन्नुभयो। उहाँले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गर्न राज्य संयन्त्र मात्र नभई सञ्चारमाध्यम पनि उत्तिकै उत्तरदायी हुनुपर्ने स्पष्ट पार्नुभयो। निर्वाचनको समयमा गलत सूचना, अफवाह र सनसनीपूर्ण समाचारले सामाजिक तनावसमेत बढाउन सक्ने भएकाले संयमित र जिम्मेवार रिपोर्टिङ आवश्यक रहेको उहाँको धारणा थियो। मन्त्री खरेलले नेपालमा सञ्चारमाध्यमको संख्या अस्वाभाविक रूपमा बढ्दै गएको उल्लेख गर्दै त्यसले पत्रकारितालाई व्यवसायिक रूपमा टिक्न कठिन बनाएको बताउनुभयो। करिब १३ हजार पत्रकार र त्यसभन्दा बढी सञ्चारमाध्यम रहेको बताउँदै उहाँले यति ठूलो संख्यालाई व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउने विषय गम्भीर चुनौतीका रूपमा उभिएको बताउनुभयो। सञ्चारमन्त्री खरेलले निर्वाचनमा उम्मेदवारी दिने भन्ने चर्चाप्रति स्पष्ट पार्दै आफूले हालसम्म कुनै निर्णय नगरेको बताउनुभयो। उहाँले कुनै पनि राजनीतिक दलमा प्रवेश नगरेको, पार्टीसँग वार्ता वा छलफल नगरेको तथा निर्वाचनमा उठ्ने वा नउठ्ने विषयमा केही पनि नसोचेको स्पष्ट गर्नुभयो। विभिन्न पार्टी र क्षेत्रबाट उम्मेदवार बन्न लागेको भन्दै आएका समाचार तथ्यहीन रहेको बताउनु भयो । मिस–इन्फरमेशन, डिस–इन्फरमेशन र फेक न्यूजका कारण नागरिक सचेतभन्दा बढी भ्रमित हुँदै गएको उल्लेख गर्दै मन्त्री खरेलले यसको प्रत्यक्ष असर सामाजिक सद्भाव, राजनीतिक स्थिरता र लोकतान्त्रिक अभ्यासमा परेको बताउनुभयो। उहाँले पत्रकार स्वयंले आफ्नो पेशागत मर्यादा र आचारसंहिताप्रति इमानदार हुनुपर्नेमा जोड दिनुभयो। मन्त्री खरेलले मुलुकमा पटक–पटक शासन प्रणाली परिवर्तन भए पनि आमनागरिकको जीवनस्तर अपेक्षाअनुसार सुधार हुन नसकेको सन्दर्भ उठाउनुभयो। “पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा धेरै सरकार बने, धेरै प्रधानमन्त्री र मन्त्री आए। तर देश किन बनेन भन्ने प्रश्न आज पनि उस्तै छ,” उहाँले भन्नुभयो। उहाँले परिवर्तनका नाममा फेरि बलिदान दिनुपर्ने अवस्था सिर्जना हुन नदिन सबै पक्ष सचेत हुनुपर्ने बताउनुभयो। युवापुस्तामा बढ्दो असन्तुष्टि, निराशा र आक्रोशलाई समयमै सम्बोधन नगरे त्यसले गम्भीर परिणाम निम्त्याउन सक्ने उहाँको चेतावनी थियो। यस्तो अवस्थामा सञ्चारमाध्यमले उत्तेजना होइन, समाधानमुखी बहस अघि बढाउनुपर्ने उहाँको भनाइ थियो। कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष उम्मिद वागचन, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पनि जिम्मेवार पत्रकारिताको आवश्यकता औँल्याउनु भएको थियो। उहाँहरूले निर्वाचनको समयमा प्रेस स्वतन्त्रता र पेशागत मर्यादाबीच सन्तुलन कायम गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो। सो अवसरमा स्व. भगवान महर्जन तथा राजकुमार महर्जन स्मृति पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार पेशल आचार्यलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो। त्यस्तै स्व. मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी लिला श्रेष्ठ र विनोद कोजूलाई जनही दुई हजार पाँच सय रुपैयाँसहित सम्मान प्रदान गरिएको थियो। नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारको सभापतित्वमा स्थानीय शंखधर बैंक्वेटमा सम्पन्न कार्यक्रममा पत्रकार आचारसंहिता पालना, समाचारको सत्यता र स्रोत खुलाएर समाचार सम्प्रेषण गर्नुपर्ने विषयलाई विशेष जोड दिइएको थियो ।