नयाँ चार्टर्ड एकाउन्टेन्टका लागि क्याम्पस प्लेसमेन्ट - ehimalayatimes.com
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले नयाँ चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूलाई उनीहरूको करियर सुरुवातमा सहयोग पुर्याउने उद्देश्यले पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम आगामी २० मार्चमा आयोजना गर्ने भएको छ । कार्यक्रमले देशमा दक्ष लेखा जनशक्तिको बढ्दो माग सम्बोधन गर्ने संस्थाले विश्वास लिएको छ । उक्त क्याम्पस प्लेसमेन्ट कार्यक्रममार्फत् आइक्यानले दक्ष, इमान्दार र पेशागतरूपमा सक्षम चार्टर्ड एकाउन्टेन्टलाई अग्रणी रोजगारदाता संस्थाहरूसँग जोड्ने उद्देश्य राखेको छ । कार्यक्रममा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरू, उद्योग तथा उत्पादनमूलक संस्था, लेखापरीक्षण तथा परामर्श फर्महरू, विकास क्षेत्रका संस्थाहरू, स्टार्टअप तथा फिन टेक कम्पनीहरू तथा अन्य रोजगारदाताहरूको सहभागिता रहनेछ । संस्थाले आयोजना गर्न लागेको पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रमबारेमा संस्थाका अध्यक्ष सिए निलबहादुर सारु मगरले भन्नुभयो, ‘नयाँ चार्टर्ड एकाउन्टेन्टहरूको करियर सुरुवातमा सहयोग गर्ने आइक्यानको दृढ विश्वास रहेको छ । कार्यक्रम प्रतिभाशाली चार्टर्ड एकाउन्टेन्टहरूलाई उपयुक्त अवसरसँग जोड्ने तथा नेपालमा दक्ष, इमान्दार र नैतिक लेखाविज्ञहरूको बढ्दो आवश्यकता पूरा गर्ने उद्देश्यले अघि बढाइएको हो ।’ आइक्यानका अनुसार क्याम्पस प्लेसमेन्ट प्रोग्राममा नयाँ चार्टर्ड एकाउन्टेन्ट सदस्यहरू सहभागी हुनेछन् र रोजगारदाता संस्थाहरूसँग अन्तर्वार्ता तथा अन्तरक्रियाको अवसर प्राप्त गर्नेछन् । आइक्यानको उक्त पहलले चार्टर्ड एकाउन्टेन्टहरूको करियर विकास सशक्त बनाउनुका साथै संस्थाहरूलाई गुणस्तरीय लेखा तथा वित्तीय जनशक्ति उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।