केपी शर्मा ओली झापामा, स्थानीयसँग भेटघाट र घरदैलो कार्यक्रममा सहभागि हुने - janatatimes.com
झापा, फागुन ३ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज झापा पुग्नु भएको छ। उहाँ काठमाडौंबाट भद्रपुर विमानस्थलमा अवतरण गर्नुभएको थियो। एमाले अध्यक्ष ओली यसअघि माघ २३ गतेदेखि झापामा बस्दै करिब ८० वटा गाउँमा पुगेर स्थानीयसँग भेटघाट गर्नुभएको थियो। आजको कार्यतालिकाअनुसार उहाँ शिक्षक भेला, धिमाल जातिको भेला तथा मुस्लिम समुदायका नागरिकसँगको भेलामा सहभागी हुनुहुनेछ। त्यसपछि दमक–२ स्थित अस्थायी निवासमा भौगोलिक क्षेत्रका कार्यकर्ता तथा आम नागरिकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ। एमाले झापा क्षेत्र नम्बर ५ का चुनावी कमाण्डर तथा केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार अध्यक्ष ओली फागुन ६ गतेसम्म झापामै बस्ने कार्यक्रम छ। यस अवधिमा दमक क्षेत्रका विभिन्न गाउँ र टोलमा पुगेर घरदैलो कार्यक्रम सञ्चालन गरिनेछ। प्रत्येक दिन कम्तीमा ६–७ स्थानमा भेटघाट गर्ने कार्यतालिका मिलाइएको उहाँले जानकारी दिनुभएको छ। सोमबारको कार्यक्रमअनुसार बिहान ११ बजे दमक–५ को यलम्बर चोक, ११ः५० बजे दमक–६ को शंखधर चोक, दिउँसो १ बजे दमक–७ को तबिन चोक, २ बजे दमक–१ को हल्दार चोक, ३ बजे दमक–३ को गजकाली मन्दिर र अपराह्न ४ बजे दमक–३ कै आमचोकमा कार्यक्रम आयोजना गरिनेछ। आयोजकहरूले ती सबै स्थानमा अध्यक्ष ओलीले स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्ने वातावरण तयार गरिएको बताएका छन्।