‘कुपोषण अन्त्यका लागि स्तरउन्नति गरिएको खाद्यान्न अनिवार्य’ - nagariknews.nagariknetwork.com
खाद्यान्नमा देखिने सूक्ष्म पोषक तत्वको कमीले नेपाललगायत विश्वभर कुपोषणको समस्या विकराल बन्दै गएको सन्दर्भमा विज्ञहरूले यसको समाधानका लागि ‘स्तरउन्नति गरिएको खाद्यान्न’ को उत्पादन तथा आपूर्ति नै सबैभन्दा प्रभावकारी उपाय भएको औँल्याएका छन्।राजधानीमा नेपाल सरकार र विश्व खाद्य कार्यक्रमको संयुक्त आयोजनामा सम्पन्न ‘स्तरउन्नति गरिएको खाद्यान्न संवाद’ कार्यक्रममा सहभागी सरकारी अधिकारी, विज्ञ तथा सरोकारवालाहरूले कुपोषण न्यूनीकरणका लागि यो विधि तत्काल र व्यापक रूपमा लागू गर्नुपर्ने सुझाव दिएका हुन्।पाँच जिल्लामा पौष्टिक चामल वितरण, ‘ब्रान्डिङ’ को तयारीकार्यक्रममा बोल्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख रमेश आचार्यले नेपालमा अझै पनि विभिन्न प्रकारका कुपोषणको समस्या विद्यमान रहेको बताउँदै अबको खाद्यान्न आपूर्तिमा सूक्ष्म पोषक तत्वको समावेश अनिवार्य भइसकेको बताए।उनले नेपाल सरकारले यसअघि नै केही खाद्यान्नमा यस्ता पोषक तत्व मिश्रण गरी स्तरउन्नति गरिएको खाद्यान्न आपूर्ति सुरु गरिसकेको जानकारी दिए।प्रमुख आचार्यका अनुसार नेपालीहरूको प्रमुख खानाका रूपमा रहेको चामलमा पौष्टिक तत्व मिश्रण गरी हालसम्म पाँचवटा जिल्लामा वितरण गरिसकिएको छ।‘हालसम्म ११ हजार मेट्रिक टन स्तरउन्नति गरिएको चामल उत्पादन गरी केही सहरहरूमा पहुँच पुर्याइएको छ,’ उनले भने, ‘छिट्टै खाद्य व्यवस्था तथा व्यापार कम्पनीकै आफ्नै ‘ब्रान्ड’ मा यस्तो चामल उत्पादन गरी आम सर्वसाधारणको पहुँचमा पुर्याउने तयारी भइरहेको छ।’नेपालजस्तो भौगोलिक विकटता भएको मुलुकमा चामललाई केवल पेट भर्ने माध्यम मात्र नभई पोषण आपूर्तिको स्रोतका रूपमा उपयोग गर्नुपर्ने आवश्यकता रहेको आचार्यले औँल्याए।यसका लागि निजी क्षेत्र तथा अन्य साझेदार निकायहरूसँग मिलेर काम भइरहेको बताउँदै उनले पौष्टिक तत्व समावेश गरिएको खाद्यान्न आम जनताको पहुँचमा पुर्याउन वार्षिक ६ बिलियन डलर आवश्यक पर्ने तथ्यांक प्रस्तुत गरे।कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका खाद्य अनुसन्धान अधिकृत प्रमोद कोइरालाले विश्वका ९० भन्दा बढी देशहरूले स्तरउन्नति गरिएको खाद्यान्नको माध्यमबाट सूक्ष्म पोषक तत्वको कमी पूरा गर्न सफलता हासिल गरिसकेको बताए।विश्वव्यापी अनुभव र वैज्ञानिक तथ्यहरूले यस्तो खाद्यान्न सुरक्षित र प्रभावकारी रहेको पुष्टि गरिसकेको भन्दै उनले नेपालका लागि पनि खाद्य स्तरउन्नति अनिवार्य भइसकेको जिकिर गरे।अधिकृत कोइरालाले भने, ‘फोलिक एसिड समावेश गरिएको खाद्यान्नको प्रयोगले नवजात शिशुमा हुने न्युरल ट्युब बन्द हुनेजस्ता जन्मजात समस्या घटेको पाइएको छ। त्यसैगरी, रक्ताल्पता न्यूनीकरण हुनुका साथै जिंक र भिटामिन बी–१२ को मिश्रणले अन्य कुपोषणजन्य समस्याहरू हटेको अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ।’उनका अनुसार हाल नेपालले आयोडिनयुक्त नुन, चामल र पिठोमा सूक्ष्म पोषक तत्व समावेश गरी आपूर्ति गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ।नेपालमा स्तरउन्नति गरिएको चामलमा मुख्य गरी आइरन, जिंक, भिटामिन ए, फोलिक एसिड, भिटामिन बी–१२, थायमिन, नियासिन र पाइरिडक्सिनजस्ता आठ प्रकारका महत्त्वपूर्ण सूक्ष्म पोषक तत्वहरू समावेश हुने गरेको जानकारी उनले दिए।विश्व खाद्य कार्यक्रमका नेपाल प्रतिनिधि रियाज लोदीले नेपालले स्तरउन्नति गरिएको खाद्यान्न कार्यक्रममार्फत पोषण सुधारको क्षेत्रमा प्रगति हासिल गर्न सुरु गरेको भन्दै खुसी व्यक्त गरे।यद्यपि, यसमा थप सफलता प्राप्त गर्न निजी क्षेत्र र सरोकारवाला सबै निकायको सक्रिय भूमिका आवश्यक रहेको उनले औँल्याए।उनले नेपालको खाद्य सुरक्षा कार्यक्रममा विश्व खाद्य कार्यक्रमले विगतदेखि नै सहकार्य गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिन्हाले दिगो विकास लक्ष्य २०३० हासिल गर्नका लागि कुपोषणको अन्त्य अपरिहार्य रहेको बताए।उनले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा कुपोषण घटाउने प्रतिबद्धता जनाइसकेको र विभिन्न राष्ट्रिय नीतिहरू पनि बनिसकेकाले अब कार्यान्वयनको गति बढाउनुपर्नेमा जोड दिए।मन्त्री सिन्हाले मित्रराष्ट्रहरू भारत र कोरियाले खाद्य व्यवस्थापनमा अपनाएका मोडलहरूबाट नेपालले पाठ सिक्नुपर्ने बताए।‘स्थानीय रूपमै उपलब्ध खाद्यान्नलाई उपयोग गर्ने र त्यसैको स्तरउन्नति गर्ने नीति लिनु उचित हुन्छ,’ मन्त्री सिन्हाले भने, ‘नेपालीले नियमित रूपमा प्रयोग गर्ने चामलमा सूक्ष्म पोषक तत्व मिश्रण गरी आपूर्ति भइरहेको छ, यसको दायरालाई थप विस्तार गर्न आवश्यक छ।’कार्यक्रममा सहभागीहरूले स्तरउन्नति गरिएको खाद्यान्नका विषयमा आ–आफ्ना अनुभव र सुझावहरू आदान–प्रदान गरेका थिए।