संस्मरण : जीवन भनेको यस्तै रहेछ कान्छा ! - sahityapost.com
जीवन र मृत्युबारे धेरै कुरा पढ्न र सुन्न पाइन्छन् तर जति अध्ययन गरे पनि र जति बुझे पनि अपूरै हुँदो रहेछ । कुनै विषय अपूर्ण नै हुन्छ भने त्यसमा धेरै घोत्लिनु पनि आवश्यक छैन । जीवनबारे मानिसका फरक फरक धारणा देखिन्छन् । पढेकाले धेरै जान्ने र नपढेकाले नजान्ने भन्ने कुरो पनि हुँदो रहेनछ । मेरी दिदी विल्कुल निरक्षर तर भित्रै देखि अक्षर बुझ्ने र जान्न सक्ने । उहाँ धेरै कुरा गहन रुपमा बुझ्नु हुन्थ्यो रअरूलाई सिकाउनु पनि हुन्थ्यो । एक पटक मलाई भन्नु भयो – ‘जीवन भनेको केही रहेनछ कान्छा’ । यी शब्दले जहिले पनि म खट्किरहन्छु । मनमा केही कुरा खेलाउँदा साँच्चीकै दिदीले भनेका कुरा ठीक लाग्दछन् । जब मानिसलाई आफ्नो आयु घट्दै गएको लाग्दो रहेछ तब जीवनबारे धेरै कुरो बुझेको जस्तो हुँदो रहेछ । धन सम्पत्ति, नातागोता, अंशवंश, रगत आदि कुरा एकातिर पन्छाउने हो भने जीवन भनेको केही पनि होइन । मानिस रित्तै आउने रित्तै जाने भएपछि जीवन पनि त रित्तो भाँडो जस्तो होइन र ? आफ्नो जन्मथलो जति प्रिय भए पनि छोड्नुपर्दो रहेछ । आफूलाई जन्म दिने बा आमालाई पनि छोड्नैपर्दो रहेछ । यस्ता कुरा धेरै आउँछन् जान्छन् र स्वाभाविक पनि हुन्छन् तर, कतिपय कुराहरू मनबाट हटाउन सकिँदो रहेनछ । जीवनमा कति धेरै कुराहरू हुन्छन् ती सबै व्यक्त गर्न पनि सकिँदो रहेनछ र आफूसँगै घाटमा लिएर जानुपर्दो रहेछ । कतिपय कुरा कसैले सुनिदिए मात्र पनि मरुभूमिमा ऊँटले पानी खान पाए सरह हुँदो रहेछ । मैले लेखेको ‘यथार्थ’ पुस्तक दिदीले पढ्न लगाउनु भएछ र आफूले राम्रोसँग सुन्नुभएछ । सुन्दा सुन्दा दिदी धुरुधुरु रुनुभएछ । पछि सुमित्रा भान्जिले मामा तपाइँले लेख्नु भएको पुस्तक मैले पढेर सुनाउँदा आमा त क्वाँ क्वाँ गरेर रुनुभयो भनिन् । मलाई लाग्यो मेरी दिदी निरक्षर भए पनि कति सारोअरूको संवेदनशीलता बुझ्न सक्ने जस्तो लाग्यो । पछि यो विषयमा न दिदीले कोट्याउनु भयो न मैले । मैले कोट्याएको भए दिदी झनै रुनु हुन्थ्यो । धन्न मैले त्यो किताबको बारेमा कुरो गरिनँ । जीवन भनेको केही रहेनछ कान्छा भनेका दिदीका कुराले मलाई धेरै ज्ञान दियो र अहिले पनि तिनै शब्दहरू आधार बनिरहेका छन् । अहिले त्यसो भन्ने ती टीका दिदी पनि यस धर्तीबाट बिदा लिइसक्नुभयो । अब कसले सिकाउला मलाई त्यस्ता कुरा ? । केही समयका लागि मैले आफ्नो देश छोड्दै गर्दा दिदीसँग भेट भएको थियो । छोटो समयमा धेरै गन्थन भए । सायद पछि कुरा गर्न पाउँदिन भनेर होला धेरै कुरा बेलीबिस्तार गर्नुभयो । शरीर हृष्टपुष्ट देखिन्थ्यो तर, कुरा गर्दै जाँदा आफ्नो आयु छोटिएको जस्तो गर्नुहुन्थ्यो । त्यसैले जीवनका सुख दुःखका कुरा धेरै गर्नुभयो । जीवनबारे मैले पनि केही जान्ने मौका पाएँ । जीवनमा धेरै दुःख गरेका विषय कोट्याउनुभयो । जति दुःख गरेपनि दुःख भए जस्तो कहिल्यै लागेन भन्नु भएको थियो । किन लागेन त दिदी भनेर मैले प्रश्न गर्दा तँलाई थाहा छैन –दुःख गर्नु भनेको सुखका लागि हो । अहिले मलाई कति सुख छ । कुनै चिजको अभाव छैन । सबैको राम्रो छ तर, कहिलेकाहीँ कसैले केही भन्दा र गर्दा भने अझै पनि सम्झिएर चित्त दुख्दो रहेछ । जीवन दुःख हो भनेको सुनेको थिएँ । दु:खै हो भने किन दुःख नगर्ने त भनेर अहोरात परिश्रम गरेँ । दुःख गरेँ । परिश्रमको कमाई खोज्न मन लागेन । यसैमा अहिलेसम्म सन्तुष्ट भएर बाँचिरहेकी छु । दुःख गरेर पनि सधैँ आफ्नो हात माथि पार्ने काम गरेँ । तल कहिल्यै पारिन । कहिले कहिले त आफ्नो हात तल पार्न पनि मन लाग्दो रहेछ । त्यसबेला कसैले रिसाएको टेडो आँखाले हेर्दा सारै मन दुख्दो रहेछ तर किन्चित मलाई अन्यथा लागेन । अनि लाग्थ्यो जीवन भनेको त यस्तै पो रहेछ । कान्छा ! अब तिमीहरू पनि छोडेर जाने भइहाल्यौ । तिमीहरू थियौ र छन् भन्ने लाग्दथ्यो । तिमीहरू नभए पछि त ……भन्दै धेरै कुरा नभनेर बाँकि नै राख्नु भयो दिदीले । त्यसो भन्दै गर्दा दिदीका आँखा दुई ठुला पोखरीमा पानी टिलपिल गरेका जस्ता देखिन्थे । आँसु झर्न सकेनन्, त्यसै दबिए । यो दृश्यले मलाई भावुक बनायो । म पनि रुन नसकेर दिदीले नदेख्ने गरी आँखाभरी आँसु लिएर आफ्नो कोठातिर लागेँ । भोलीपल्ट प्लेनको लामो यात्रा थियो मेरो । प्लेनभित्र पनि दिदीले भनेका कुरा मैले बिर्सन सकिनँ र आँसुले भरिएका आँखा मनभित्र देखी नै रहेँ । हटाउन सकिनँ । गन्तव्यमा पुगेपछि पनि झट्ट झट्ट सम्झिँदा के गरूँ के गरूँ हुन्थेँ । जे भए पनि दिदीसँग भेट हुँदा यसरी नै कुरा गर्नेछु भन्ने लागेको थियो । अब त्यो पनि रहेन । केही समयको मुलुकबाहिरको बसाइ पछि पुनः म आफ्नै देश फर्किएँ । दिदीसँग दुःख सुखका कुरा भई नै रहन्थे । दिदीले मलाई विशेष ख्याल पनि गर्नुहुन्थ्यो, किनभने म सबभन्दा सानो त्यसमा पनि गर्भे भाइ थिएँ । कान्छा ! तैँले बा देख्न पाइनस् । बा भन्ने शब्द तैँले कहिल्यै पनि बोल्न पाइनस् । हामी दिदीहरू बिहे गरेरअरूकै घरमा गइहाल्यौँ । एउटी विधवा आमाले तेरो हेरविचार गर्ने कि चारोको व्यवस्था गर्ने ? लाग्छ आमाको काख पनि तेरो लागि बिरानो भयो । कहिले कहिले लाग्छ तैँले पनि राम्रो भाग्य लिएर आएको रहिनछस् । बेला बेलामा दिदीसँग भेट हुँदा यस्ता यस्तै दुःखका कुरा हुन्थे । अनायास सखारै जेठो भान्जाको फोन आउँछ । “मामा ! अब आमा हामीबीच रहनुभएन ।” मलाई विश्वास भएन तर यो सत्य नै थियो । किनभने संसारमा सत्य भनेको नै मृत्यु हो । त्यो फोन मेरो जीवन निर्माण गर्ने एउटा बलियो तार थियो । त्यो नै चुँडिएर गएपछि मेरो हृदयको एउटा बलियो तार चुँडियो । मुटु चलाउने बाँकि एउटा तार थियो त्यो नै चुँडिएर गएपछि अब मेरो लागि के पो रह्यो भन्ने कुरा मेरो अन्तरमनले औँल्यायो । जन्म दिने बालाई देख्न पाइनँ । आमाले पनि छोडेर जानुभयो । बाँकि रहेकी एउटी दिदीले पनि सधैँका लागि छोडेर जानुभयो । त्यसैले अब त बेला बेलामा यस्तै हो जीवन कान्छा भन्ने पनि कोही भएनन् । बेलुकी घाटबाट फर्किन्छु । अनि कल्पना गर्छु । पशुपतिको त्यो ठूलो कालो आगोको मुस्लोले मेरी दिदीलाई कहाँ लग्यो होला । चिताको तातो ढुंगामा पानी खन्याउँदा निस्किएको तातो बाफले मेरी दिदीलाई कहाँ पुर्यायो होला ? चिताको वरिपरि बाँकी रहेका केही अंश पनि नदीमा बगाइदिएर अब त उनको यस धर्तीमा केही पनि बाँकी रहेन । लाग्छ मेरी दिदीको पहिचानको रुपमा रहेको एउटा सानो कागजको चिर्पटो जन्म कुण्डली पनि त्यही आगोले खायो होला । अब त उहाँको नाममा कुनै पनि प्रमाण हुँदैनन् । यसरी आज मेरी दिदीको यो धर्तीबाट पहिचान हराएको छ । लाग्छ मडारिएको आगोको मुस्लोले उहाँको आत्मालाई माथि आकाशमा देखिने बादलमा मिसाइदियो होला । कुनै दिन त्यो वायुले आँतै रसाएर आउने छ । कुनै दिन त्यो बादलले पानी बर्साएर सबैलाई खुसी बनाइदिनेछ । कुनै प्रचण्ड गर्मीको दिन त्यही बादलले सरर्र शीतलता दिनेछ । यसरी कहिले बादल, कहिले पानी र कहिले हावा आउँदा लाग्छ मेरी दिदीले यो धर्तीलाई सम्झेर यो सन्देश पठाएकि होलिन् । दिदीको नब्बे वर्षको जीवनले के के देख्यो होला ? के के अनुभव गर्यो होला ? कति दुःख गर्यो होला ? बालक मै जन्मथलो छोड्नुपर्दा कति पीडा भयो होला ? त्यसको के लेखाजोखा गर्नु । दिदी भन्नु हुन्थ्यो– ‘बालबच्चा हुर्काउन पढाउन पनि कति दुःख हुँदो रहेछ कान्छा । जीवन भनेको त दु:खै दुःख पो रहेछ , अरू केही रहेनछ । दु:खै दुःखले बनेको जीवन त एउटा ठूलो पहाड पो रहेछ । जीवनले कहिल्यै सुख देख्दो रहेनछ । त्यसकारण सुखको अनुभव कहिल्यै भएन । दुःखलाई नै सुख सम्झिएर सन्तुष्ट हुनुपर्दो रहेछ कान्छा’ । हो्, निश्चय नै हो अब मलाई कान्छा भनेर मायालु शब्दले बोलाउने यो धर्तीमा कोही रहेनन् । एउटी दिदी थिइन् । उनले पनि सदाको लागि छोडेर गइन् । जन्मथलो र कर्मथलो छोड्दा पनि उहाँलाई मृत्युले छोडेन । कति निष्ठुर रहेछ यो मृत्यु पनि । कुनै नयाँ ठाउँमा बस्दा पनि खोजी खोजी लग्यो मेरी दिदीलाई । अब त मलाई ए कान्छा भनेर बोलाउने पनि कोही छैनन् । एउटी तिमी थियौ तिमी पनि गयौ । तिहारमा मलाई टीका लगाइदिने तिमी टीकाको हातले मेरो खाली निधार खोजिरहेको हुन्छ । अब मेरो निधार सधैँको लागि खाली नै हुने भयो । मृत्युको अघि कसको पो के लाग्दो रहेछ र ? दिदीले पछिल्लो समयमा भनेको वाक्य अहिले पनि आइरहन्छन् – “जीवन भनेको त यस्तै पो रहेछ कान्छा !” The post संस्मरण : जीवन भनेको यस्तै रहेछ कान्छा ! appeared first on साहित्यपोस्ट.