कांग्रेस बैठक वाकयुद्धमै सीमित - pahichan.com
काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक वाकयुद्धमै सीमित बन्दै गएको छ। मङ्गलवारको बैठकमा सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियारसहित १३ जना केन्द्रीय सदस्यहरूले धारणा राखेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। केन्द्रीय समिति बैठक सुरु भएको करिब एक महिना बित्न लाग्दा पनि छलफल निष्कर्षमुखी बन्न सकेको छैन। महाधिवेशनको तिथि तोक्ने विषयमा नेताहरूबीच तीव्र मतभेद देखिँदा बैठक वाकयुद्धमै केन्द्रित बनेको हो। अन्य राजनीतिक दलहरूले महाधिवेशनको मिति तय गरी तयारीमा लागिसक्दा पनि कांग्रेसले अहिलेसम्म टुङ्गो लगाउने कुनै सङ्केत देखाएको छैन। पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले जारी केन्द्रीय समिति बैठकमा महाधिवेशन छिटोभन्दा छिटो गर्नुपर्ने कुरामा सबै नेता सहमत देखिए पनि मिति तोक्ने विषयमा एकमत हुन नसकेको बताए। बैठकको अन्त्यसम्ममा महाधिवेशनबारे पार्टीको आधिकारिक निर्णय आउने उनको भनाइ छ। https://pahichan.com/wp-content/uploads/2025/11/prakash-sharan-mahat.mp3 महतले पार्टीभित्र सामाजिक सञ्जालमार्फत एक–अर्कामाथि लाञ्छना लगाउने, सहकर्मीलाई होच्याउने प्रवृत्ति देखिनु आत्मघाती भएको उल्लेख गरे। उनका अनुसार, यस्तो प्रवृत्तिले सङ्गठन कमजोर बनाउने र पार्टीभित्रको एकता खलबल्याउने जोखिम छ। केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महाधिवेशनको माध्यमबाट आगामी निर्वाचनको तयारी सुरु गर्नुपर्ने भएकाले अलमल गरेर समय बरबाद गर्न नहुने बताए। उनका अनुसार, महाधिवेशन ढिलो गर्दा सङ्गठनको गति र कार्यकर्ताको मनोबल दुवै प्रभावित हुँदै गएको छ। नेता डा. शेखर कोइरालाले महाधिवेशनको विषयमा उत्पन्न विवादले पार्टीलाई विभाजनसम्मको अवस्थामा पुर्याउन सक्ने चेतावनी दिए। उनले भने, “यदि नियमित वा विशेष महाधिवेशनबारे केन्द्रीय समिति बैठकले निर्णय गर्न सकेन भने पार्टी विभाजनको अवस्था आउन सक्छ।” कोइरालाले पार्टी विभाजनतिर नजाओस् भनेर केन्द्रीय समितिबाटै ठोस निर्णय लिनुपर्नेमा जोड दिए। https://pahichan.com/wp-content/uploads/2025/11/shekhar-koirala.mp3 पन्ध्रौँ महाधिवेशन तालिका विवादमै अल्झिएको कांग्रेसभित्र संसद् पुनःस्थापनाको अर्को विवाद थपिएको छ। महाधिवेशनको मिति तोक्ने विषयमा मतभेद बढिरहेका बेला विघटित प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा सुरु भएको हस्ताक्षर अभियानले पार्टीभित्र नयाँ तनाव सिर्जना गरेको हो। विघटित प्रतिनिधिसभाका कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेको नेतृत्वमा सुरु भएको हस्ताक्षर अभियान संसद् विघटनविरुद्ध संस्थागत निर्णय गराउन दबाब स्वरूप चलाइएको हो। घिमिरेले यो अभियानको हस्ताक्षर सूची केन्द्रीय समितिमा बुझाइने बताएका छन्। कार्यवाहक सभापति सुम्पिएर उपचारका लागि सिंगापुर गएका सभापति शेरबहादुर देउवाले त्यहाँबाटै निरन्तर टेलिफोन सम्पर्क गरी पार्टी निर्णयमा प्रभाव पार्न थालेको आरोप लागेको छ। उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनअनुसार सर्कुलर गर्ने र संसद् पुनःस्थापनाको अभियानमा समर्थन जनाउने निर्देशन दिएका स्रोतहरूले जनाएका छन्। देउवाकै निर्देशनमा संसद् पुनःस्थापनाको लागि हस्ताक्षर अभियान चलाइरहेका नेता श्याम घिमिरेले अहिले चुनाव गर्नु भनेको खर्च बढाउनु मात्र हुने तर्क गरेका छन्। https://pahichan.com/wp-content/uploads/2025/11/Shyam-Ghimire-1.mp3 नेकपा एमालेका युवा नेता महेश बर्तौलाले पनि वर्तमान सरकारले चुनावको वातावरण बनाउन नसकेको आरोप लगाए। उनका अनुसार, प्रधानमन्त्री सुशीला कार्कीले “पुराना दलका नेताहरूको अनुहार हेर्न मन छैन” भन्ने अभिव्यक्ति दिनु र पूर्वप्रधानमन्त्री ओलीलाई काठमाडौं उपत्यकाबाहिर जान रोक लगाउनु जस्ता निर्णयहरूले चुनावमुखी वातावरण नबनेको प्रमाणित गर्छ। https://pahichan.com/wp-content/uploads/2025/11/mahesh-bartaula-1.mp3