‘आइ एम जित बहादुर’ घोषणा - ehimalayatimes.com
काठमाडौं । अभिनेता जितु नेपालले नयाँ चलचित्र निर्माण गर्ने घोषणा गर्नुभएको छ । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत चलचित्रको फर्स्ट लुक्स पोष्टर सार्वजनिक गर्दै उहाँले ‘आइ एम जित बहादुर’ शीर्षकको चलचित्र निर्माण गर्न लागेको जानकारी दिनुभएको हो । सुभेन्दु घोषको कथा तथा निर्देशनमा तयार हुने यस चलचित्रमा जितु नेपाल स्वयं निर्माता रहनुहुनेछ । चलचित्रका कार्यकारी निर्माताका रूपमा निश्चल कुँवर र नीरज नेपाल रहने बताइएको छ । चलचित्रको छायांकन चाँडै सुरु हुने जनाइएको छ भने सन् २०२६ मै प्रदर्शन गर्ने लक्ष्य राखिएको छ । प्रदर्शन मिति चलचित्र तयार भएपछि सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । सामाजिक सञ्जालमा पोष्ट गर्दै जितु नेपालले लेख्नुभएको छ, ‘छायांकन चाँडै नै प्रदर्शन मिति चलचित्र तयार भएपछि । हाललाई यत्ति । बाँकी जानकारी बिस्तारै… इमानदार थिएँ, छु र रहनेछु । सकभर झुटो बोल्दिनँ, आफ्नो गल्ती आफैं स्वीकार गर्नेछु ।’ उहाँले आफ्नो ३२ वर्ष लामो कलाकारिता यात्रापछि सानो निर्माताको रूपमा नयाँ यात्रामा उदाउन लागेको उल्लेख गर्दै चलचित्रप्रति प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।