किन चुनावबाट भाग्न खोज्दैछन् कांग्रेस–एमाले ? - www.sutranews.com
काठमााडैं । जेनजी आन्दोलनपछि निर्माण भएको चुनावी सरकारले चुनाव घोषणा त गर्यो तर नेपालको दुई प्रमुख पार्टीले चुनाव पूर्णतया स्वीकार गर्न सकेका छैनन्। गलत बाटोबाट बनेको सरकारले घोषणा गरेको चुनाव उनीहरू बहिष्कार गर्दैछन् अथवा छल्न खोज्दैछन्। नेपाली कांग्रेस आसन्न चुनावलाई लिएर स्पष्ट छैन। अरू पार्टीहरू चुनावका लागि करिब सहमतिमा छन्। उनीहरू पूर्वतयारीमा जुटेका छन्। तर, नेपाली कांग्रेस र एमाले आफ्नै पार्टीको महाधिवेशनमा भिड्दै गरेको कारण पनि उनीहरू चुनावका लागि अलमलिएको जस्तो देखिन्छ। दुवै पार्टीको अध्यक्ष / सभापतिका लागि दरिलो भिडन्त चलिरहेको छ। उनीहरूको आसन्न महाधिवेशनले निर्वाचनको मिति र भविष्य तय गर्ने सम्भावना छ। एमाले र नेपाली कांग्रेस दुवै संसद पुनर्स्थापनाको मुद्दा लिएर सर्वोच्च अदालतमा पुगेका छन्। एमालेले चुनाव हुन नसक्ने विविध कारण बताइरहेको छ र पनि चुनावका लागि आवश्यक प्रक्रिया पूरा गर्न निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराएको छ र एकैसाथ संसद पुनर्स्थापनाका लागि कानुनी लडाइँ पनि गरिरहेको छ। समस्याको चुरो जेनजी आन्दोलनले पुराना पार्टीहरूलाई नराम्रो धक्का पुगेको अवश्य हो। परम्परागत पुराना राजनीतिक संस्थालाई आन्दोलनले गतिलै झट्का दिएर पार्टीप्रति नकारात्मक जनधारणा जन्मिएको छ। यस कारण चुनाव हाम्रो पक्षमा नहोला भन्ने शंकामा छन् दुवै पार्टी। जेनजीहरू पार्टीविरोधी भन्दा पनि भ्रष्टाचारविरोधीका रूपमा देखापरेका थिए। र त्यसैको परिणामस्वरूप आन्दोलनले केही नयाँ पार्टी जन्मायो र पुरानाहरूको भोट अब मज्जाले काट्ने नै छ किनकि हरेक कुराको विकल्प हुन्छ भन्ने कुराको हेक्का उनीहरूले राख्न सकेनन्। पुराना पार्टीभित्र गम्भीर आन्तरिक विवाद र नेतृत्वगत प्रतिस्पर्धाका कारण ती पार्टीहरू आफैँमा कमजोर सिद्ध हुने यात्रातर्फ छन्। एमाले केन्द्रीय नेतृत्वको आन्तरिक प्रतिस्पर्धाको नतिजा अब छिटो टुंगो लाग्दैछ। पुराना नेताले नेतृत्व गरेको पुरानो पार्टीमा जनमतमा व्यापक गिरावट र असन्तुष्टि बढिरहेको कारण पनि चुनावलाई अलिक पर पन्छाउने रणनीति लिइदै छ। भ्रष्टाचार, बेरोजगारी र अव्यवस्थाका कारण जनताको पुराना राजनीतिक दलहरू प्रति विश्वासको ग्राफ निकै तल झरेको छ। यो कारणले पनि उनीहरू चुनावलाई पर पन्छ्याउने मानसिक अवस्थामा पुगेका हुन्। चुनावी रणनीतिक अनिश्चितताको कारणसँगै संसद पुनर्स्थापनाको माग राख्दै सर्वोच्च अदालत पुगेका दुवै पार्टीको अवधारणा तत्काल चुनाव पछाडि सार्ने मानसिकतामा पुगेको देखिन्छ। एमाले र कांग्रेसको चुनावी दृष्टिकोण तुलनात्मक रूपमा उस्तै देखिएको छ। दुवै संसद पुनःस्थापनाको पक्षमा उभिएका छन्। एमाले र कांग्रेसका साझा चुनौतिहरू जेनजी आन्दोलनको राजनीतिक प्रभावका कारण पुराना दलभित्र आबद्ध कतिपय नेताहरूले पार्टी परिवर्तन गरिसकेका छन्। पुराना पार्टीभित्र रहेका गम्भीर आन्तरिक विवादका कारण पनि तिनका कार्यकर्ता भड्किएको अवस्था छ। दुवै पार्टीभित्र नेतृत्व, नीति र पदका लागि गहिरो प्रतिस्पर्धा र कलह चलिरहेको छ। कांग्रेसको महाधिवेशन कहिले र कसरी गर्ने भन्ने विवादले आसन्न चुनावी तयारीलाई नै असर पारेको महसुस गरिएको छ। नयाँ पार्टीको जन्मले मत विभाजन हुने कुरा त छदैछ, त्यसले गर्दा मतदाताको विश्वासमा समेत कमी आउने कुराले दुई दल चुनावबाट भाग्दैछन् भन्ने भास्य सिर्जना भएको छ। सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको मुद्दामा एमाले र कांग्रेसको पक्ष लियो भने, देश संसद फर्काउने र त्यहीबाट अर्को सरकार बनाउने प्रक्रियातर्फ लाग्न सक्छ तर यसले जेनजी आन्दोलनको मागलाई भने पूरा गर्दैन। राजनीतिक दलहरूबीच कुनै सहमति बन्न सकेन वा चुनाव ठीकसँग सम्पन्न गर्न सकिएन भने, देशमा राजनीतिक अनिश्चितता र अस्थिरता बढ्ने सम्भावना पनि त्यतिकै रहनेछ। चुनावी सरकार बन्नु अघि जुन संकल्पमा थिए दुई पार्टी, त्यसको धरातल र चुनौती साझा नै छन्। चुनावी सरकारका लागि देउवालाई सत्ता हस्तान्तरण गर्ने वाचा गरेर प्रधानमन्त्री बनेका केपी ओली आफ्नै हठका कारण अलोकप्रिय बने।