पूर्वराष्ट्रपतिबारे एमालेले जे निर्णय गर्यो, कांग्रेसले पनि त्यहीँ गर्नुपर्छ : सहमहामन्त्री परियार - nagariknews.nagariknetwork.com
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्ने बताएका छन्। कांग्रेस सूर्यविनायक नगरसमितिले आज यहाँ आयोजना गरेको तेस्रो नगरपालिका सम्मेलनमा उनले संविधान संशोधन गरेर भए पनि पूर्वराष्ट्रपति पुन: सक्रिय राजनीतिमा आउन नपाउने व्यवस्था गर्नुपर्ने बताएका हुन्। सहमहामन्त्री परियारले संविधान निर्माण गर्दा राष्ट्रपति भइसकेको व्यक्ति पुन: राजनीतिमा सक्रिय हुन पाउने व्यवस्था गर्न चुकेकाले अब संविधान संशोधन गर्ने क्रममा यो व्यवस्थालाई समावेश गरिनुपर्नेमा जोड दिए।नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा फर्किन नसक्ने गरी गरेको निर्णय स्वागत योग्य रहेको उनको भनाइ थियो। ‘पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कने कुरा ठिक होइन। उनबारे एमालेले जे निर्णय गर्यो, त्यो सही निर्णय हो। कांग्रेसले पनि त्यस्तै निर्णय गर्नुपर्छ,’ सहमहामन्त्री परियारले भने। उनले नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी २०८३ मङ्सिरभित्र गर्नु उपयुक्त हुने बताए।