स्याफ्रुबेँसी-रसुवागढी सडक दुई लेनको बन्दै, स्याफ्रुबाट २० मिनेटमै बोर्डर पुगिने - www.meroauto.com
काठमाडौं । काठमाडौंबाट चीन जोड्ने सबैभन्दा छोटो दुरीको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक अन्तर्गत स्याफ्रुबेँसी-रसुवागढी खण्ड विस्तार चाँडै अघि बढ्ने भएको छ । धादिङको गल्छीदेखि चीनको सीमा नाका रसुवागढीसम्म ८२ किलोमिटर सडकलाई ३ खण्डमा विभाजन गरी स्तरोन्नतिको काम भइरहेको छ । सोमध्ये स्याफ्रुबेँसी-रसुवागढी १७ किमी सडक चीन सरकारले अनुदानमा बनाइदिन लागेको हो । २०७६ असोजमा नेपाल र चीन सरकार बीच उक्त सडक निर्माण सम्बन्धी सम्झौता भएको थियो । चिनियाँ टोलि उक्त सडक विस्तारका लागि १ वर्ष अघि नै नेपाल आइसके पनि निकुन्जको जमिन प्रयोग गर्न र गिट्टी, बालुवा, ढुंगा निकाल्ने अनुमति नपाउँदा सडक विस्तारको काम सुरू गरेका थिएनन् । गत मंसिर १५ गतेको मन्त्रिपरिषद् बैठकले अस्थायी प्रयोजनका लागि लाङटाङ राष्ट्रिय निकुन्ज क्षेत्रको २० हजार वर्गमिटर जमिन प्रयोग गर्न दिने र सडकको एलिजमेन्ट तथा नदी किनाराबाट उत्खनन गरिने ढुङ्गा, गिट्टी, बालुवामा लाग्ने दस्तुर छुट दिने निर्णय गरेसँगै चिनियाँ पक्षले सडक विस्तारको काम सुरू गर्न लागेको हो । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी आयोजना प्रमुख कृष्णनाथ ओझाले चिनियाँ पक्षले सडक विस्तार थाल्ने तयारी गरेको जानकारी दिए । उनका अनुसार अहिले चिनियाँ पक्षले पूर्वतयारीका काम गरिरहेको छ । नेपाल चीन जोड्ने रसुवागढी पुल संचालनमा आउने बित्तिकै आवश्यक उपकरण ल्याएर काम थाल्ने तयारी गरेको उनले बताए । ‘स्याफ्रुबेँसी-रसुवागढी विस्तार गर्न चिनियाँ टोलि १ वर्ष नै नेपाल आएका थिए । तर, निकुन्जको जग्गा र ढुंगा, गिट्टी, वालुवा प्रयोगको अनुमति नपाउँदा काम थालेका थिएनन् । साथै रसुवागढी पुल बगाएपछि झन् प्रभावित भए,’ उनले मेरोअटोसँग भने, ‘हालै मन्त्रिपरिषद्ले वनक्षेत्रको जग्गा र ढुंगा, गिट्टी, बालुवा प्रयोग गर्न स्वीकृति दिएसँगै चिनियाँले चाँडै काम थाल्ने बताएका छन् । पुल बनेपछि उपकरण ल्याएर काम थाल्ने भनेका छन् ।’ यस खण्डमा साइट क्लियरेन्स भइसकेकाले काम सुरू गर्न कुनै अवरोध नरहेको उनले बताए । उनका अनुसार यो सडक दुई लेन (८.५ मिटर फराकिलो) कालोपत्र गरिने छ । उक्त खण्डमा पर्ने पुलहरू यसअघि नै चीन सरकारले निर्माण सम्पन्न गरिसकेको उनले बताए । नेपाल-चीन बीच भएको सम्झौता अनुसार उक्त सडक निर्माण थालिएको ३९ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो सडक निर्माण सम्पन्न भएपछि रसुवागढी-स्याफ्रुबेँसी सडकको यात्राअवधि करिब २० मिनेटमा छोटिने छ । अहिले १ घण्टा बढी लाग्दै आएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाउँदा अहिले दुई देश बीचको व्यापार ठप्प छ । अहिले उक्त स्थानमा बेलिब्रिज निर्माण लगभग सम्पन्न भइसकेकाले चाँडै संचालनमा ल्याउने तयारी छ । क्षतिग्रस्त सडक भने मर्मत गरी संचालनमा ल्याइसकिएको छ । २०७२ मङ्सिर १७ गते मन्त्रिपरिषद्को बैठकले गल्छी-मैलुङ-रसुवागढी सडकलाई सहायक मार्ग तोकी राष्ट्रिय गौरवको मान्यता दिएको थियो । सरकारले यसलाई उत्तर-दक्षिण राजमार्गका रुपमा सूचीकृत नगरे भारत-नेपाल-चीन तीन देशने सबैभन्दा छाेटाे सडक हाे । भारतीय सीमा चितवनबाट चिनियाँ सीमा रसुवागढीसम्म पुग्नेछ । अहिले गल्छीदेखि रसुवागढीसम्म विस्तारको काम भइरहेको हो । पहिलो खण्ड गल्छी-त्रिशूली-मैलुङ सडक निर्माण करिब अन्तिम चरणमा पुगेको छ । यसखण्डको भौतिक प्रगति ८२ प्रतिशत पुगेको छ । त्यस्तै, दोस्रो मैलुङ स्याफ्रुबेँसीखण्डको काम अहिले ठप्प छ । एकपटक लगाएको ठेक्का सम्झौता तोडी नयाँ ठेक्का लगाउने तयारी भइरहेको छ । The post स्याफ्रुबेँसी-रसुवागढी सडक दुई लेनको बन्दै, स्याफ्रुबाट २० मिनेटमै बोर्डर पुगिने appeared first on Meroauto.