Redirecting...

२५० जनालाई अमेरिका पठाउने दुई जनाविरुद्ध १ अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा - www.pardafas.com

२५० जनालाई अमेरिका पठाउने दुई जनाविरुद्ध १ अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा - www.pardafas.com
Source: pfds

करिब २५० जनालाई गैरकानुनी माध्यमबाट अमेरिका पुर्‍याएको आरोप लागेका दुई व्यक्तिविरुद्ध झन्डै एक अर्ब रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको छ। अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा अभियोग दर्ता गरेको हो। मुद्दाका प्रतिवादीहरूमा कलबहादुर बस्नेत (रुकुम पश्चिम, बाँफिकोट गाउँपालिका-२) र अमित बस्नेत (रुकुम पूर्व, सिस्ने गाउँपालिका-५) रहेका छन्। प्रकरणको अनुसन्धान मानव बेचबिखन अनुसन्धान ब्युरोले गरेको थियो। ब्युरोका अनुसार कलबहादुर हाल डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा छन्। उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को समन्वयमा गत भदौमा दुबईबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। उनी मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा थुनामा रहेका हुन्। अर्का प्रतिवादी अमित भने फरार अवस्थामा रहेको र फरार अभियुक्तका रूपमा मुद्दा अघि बढाइएको जनाइएको छ। प्रहरी उपरीक्षक एवं प्रवक्ता राजन लिम्बुका अनुसार दुवैले ठुलो संख्यामा व्यक्तिलाई अमेरिका पठाउने भन्दै रकम असुली गरेको, कतिपयलाई भने गन्तव्यमा नपुर्‍याई अलपत्र पारेको देखिएको छ। बैंक खाताको विवरण परीक्षण गर्दा कलबहादुरको खाताबाट ७० करोड ६० लाख ५३ हजार ७२२ रुपैयाँ र अमितको खाताबाट २७ करोड ४५ लाख २९ हजार २८ रुपैयाँ बराबरको शंकास्पद कारोबार फेला परेको प्रहरीले जनाएको छ। दुवैको संयुक्त रूपमा ९८ करोड ५ लाख ८२ हजार ७५१ रुपैयाँ बराबरको अवैध कारोबार पुष्टि भएको दाबी गर्दै सोही रकम बिगो कायम गरी सम्पत्ति शुद्धीकरणअन्तर्गत मुद्दा दायर गरिएको जनाइएको छ।