एमाले महाधिवेशन : बहुविवाह काण्ड खुलासा भएपछि पासाङको उम्मेदवारी खारेज - www.sutranews.com
काठमाडौं । जारी नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार पासाङ शेर्पा बहुविवाह मुद्दामा दोषी ठहर भएको तथ्य बाहिरिएसँगै प्रतिस्पर्धाबाटै बाहिरिएका छन्। एमालेको निर्वाचन आयोगले अदालतबाट सजाय पाएको व्यक्ति पार्टीको मापदण्डविपरीत रहेको ठहर गर्दै शेर्पाको उम्मेदवारी खारेज गरेको हो। प्राप्त विवरणअनुसार शेर्पालाई बहुविवाह मुद्दामा अदालतले १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उनले कैद नबस्ने विकल्प रोज्दै दिनको ३०० रुपैयाँका दरले कुल १ लाख ९ हजार ५ सय रुपैयाँ बुझाएर छुटेका थिए। शेर्पालाई यसै वर्ष गत कात्तिक १८ गते प्रहरीले पक्राउसमेत गरेको तथ्य सार्वजनिक भएपछि महाधिवेशन स्थलमै हलचल मच्चिएको थियो। पार्टीको आन्तरिक छानबिनपछि निर्वाचन आयोगले ‘नैतिक र कानुनी मापदण्डविपरीत’ ठहर गर्दै उम्मेदवारी खारेज गर्ने निर्णय लिएको हो।