महाधिवेशन र निर्वाचनको चटारोमा दुई ठूला दल - ehimalayatimes.com
अहिले देशमा दुई प्रमुख कुराहरूको सडक पेटीदेखि व्यापारिक स्थानमहल तथा घरहरूमा समेत चर्चा हुनेगरेको छ । मंसिरको पारिलो घाममा बागमती खोलाको डिल होस् वा अन्त जहाँसुकै किन नहोस् हरेकका मुखमा गत भदौमा देशमा भएको राजनीतिक घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थिति बारे विचार विश्लेषण हुनेगरेको छ । जेन-जी आन्दोलनले ल्याएको सत्ता परिवर्तनले देशमा केही हलचल भएको छ त्यही हलचलका बीच प्रधानमन्त्रीको रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आगमन भएको थियो । निर्वाचनलाई मुख्य मुद्दाको रूपमा अगाडि सारेर प्रथम महिला प्रधानमन्त्रीको रूपमा नेतृत्व लिएकी प्रधानमन्त्री कार्कीलाई निर्वाचन भनेको समयमा गराउन सकिन्छ कि सकिँदैन भन्ने पिरलो हुनथालेको छ । फागुनमा निर्वाचन हुने संकेत टाढिँदै छ । उता जेनजी आन्दोलनले शिथिल भएका राजनीतिक दलहरू बिस्तारै बौरिँदै छन् । आफूलाई फेरि देशको प्रमुख राजनीतिक दलको रूपमा उभ्याउने कसरतमा लागेका नेपालका प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमालेमा अहिले महाधिवेशन र निर्वाचनको चटारोले छोएको छ । त्यसै पनि फागुनमा निर्वाचन हुने संकेत टाढिँदै छ । उता जेन-जी आन्दोलनले शिथिल भएका राजनीतिक दलहरू बिस्तारै बौरिँदै छन् । आफूलाई फेरि देशको प्रमुख राजनीतिक दलको रूपमा उभ्याउने कसरतमा लागेका नेपालका प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमालेमा अहिले महाधिवेशन र निर्वाचनको चटारोले छोएको छ । मंसिरको चिसो मौसमलाई तातोपना दिँदै नेकपा एमालेले आफ्नो महाधिवेशनलाई समापनतर्फ लगेको छ । त्यस्तै देशको पुरानो र भीमकाय दल नेपाली कांग्रेसभित्र पनि अहिले महाधिवेशन र निर्वाचनको माहोल बनेको छ । केन्द्रीय नेतृत्वदेखि ग्रासरुटसम्म के गर्ने भन्ने चिन्ता बढ्न थालेको छ । यसरी महाधिवेशन र निर्वाचनलाई एकै साथ लिएर हिँडेको कांग्रेसमा क्रियाशील नवीकरणदेखि नयाँ क्रियाशील पार्टीको कार्य जारी छ । अर्कोतर्फ प्रतिनिधिसभा र राष्ट्रिय सभा छनोटको कार्य पनि जारी छ । हुन त देशको ठूलो दलमा अलि-अलि विवाद हुनु स्वाभाविक पनि हो तर कांग्रेसमा देखिएको सतहको विवादको टुंगो लाग्ने अवस्थाको समाधान कहिल्यै पनि नहुने निश्चित जस्तै छ । जे होस् कांग्रेसको कर्मकाण्डी भेला अर्थात् महाधिवेशनमा सहभागिता जनाउन कांग्रेसजनमा उत्साहको वातावरण भने सिर्जना हुनथालेको छ । हरेक चार चार वर्षमा आउने कांग्रेसको महाकुम्भ मेलाले सोही समयका लागि कार्यकर्ताहरूमा उत्साहको वातावरण सिर्जना गरे पनि त्यस्तै महाकुम्भ मेलाको समाप्तिसँगै फेरि त्यस्तै उत्साह जगाउन अर्को महाकुम्भ मेला कुर्नुपर्ने अवस्था कांग्रेसमा बल्जिएको रोगभन्दा फरक नपर्ला तर बदलिँदो देशको राजनीतिक वातावरण र जनतामा राजनीतिक दलहरूप्रति देखिएको बेमेलका कारण यसका बाबजुद पनि राजनीतिक वातावरण सहज हुनेतर्फ लागेको देखिन्छ । जसलाई राजनीतिक दलहरूले क्यास गर्न सकेनन् भने अवस्था फेरि जटिल हुन बेर लाग्ने छैन । त्यसैले विवादरहित महाधिवेशन र स्वच्छ रूपमा निर्वाचनमा जानु नै दुई राजनीतिक दलको शुभ लक्षण हुनेछ ।